अनुभूति
सम्बोधन, सामाजिक भय र स्वीकारोक्तिको भ्रम
हुर्कंदै गरेको बैँसमा मैले एउटा यस्तो जोडी देखेँ, जो एकअर्कालाई नि:संकोच ‘तँ’ भन्थे। उनीहरू प्रेमी-प्रेमिका थिए, तर उनीहरूको सम्बन्धमा परम्परागत मर्यादाको कृत्रिम पर्खाल थिएन। उनीहरूको आपसी संवाद सुन्दा लाग्थ्यो, ती संसारकै मिल्ने साथी हुन्। समाजले प्रेमी वा श्रीमान्लाई उच्च आसनमा राख्नुपर्छ भन्ने सिकाउने त्यस समयमा ती दिदीको अन्दाज मलाई विद्रोही र क्रान्तिकारी लाग्थ्यो।
केटाको परिवारले ‘यो केटीले के तँ भनेको होला’ भनेर नाक खुम्च्याउँदा पनि ती दिदी निर्धक्क जवाफ फर्काउँथिन्, ‘अनि यसलाई के भन्नु त, तपाईं भन्नु! यसलाइ सधैँ तँ नै भन्ने हो म।’ दाइ मजाले हाँसिदिन्थे, परिवारले ती दिदीको ‘तँ’ लाई पचाई नै सकेको थियो।
त्यस सम्बोधनमा कुनै अनादर थिएन, बरु एउटा गहिरो स्वीकारोक्ति र समानताको उत्सव थियो। दुवै पक्षले एकअर्काको अस्तित्वलाई जसरी स्विकारेका थिए, त्यो हेर्नलायक थियो।
यो करिब डेढ दशकअघिको कुरा हो। तर, समय सधैँ एउटै गतिमा नचल्दो रहेछ। समयले मान्छे बदल्छ कि मान्छेले समयअनुसार आफूलाई ढाल्छ? यो एक अनुत्तरित प्रश्न हो।
त्यो चौबाटो र बदलिएको सम्बोधन
भर्खरै, झन्डै १५-१८ वर्षपछि तिनै दिदीसँग एउटा व्यापारिक भवनअगाडि अचानक भेट भयो। उनी कसैको पर्खाइमा थिइन्। मैले खुसी हुँदै भनेँ, ‘ए दिदी! कस्तो सम्झिराथेँ तपाईंलाई, म सधैँ याद गरिराख्छु नि। अनि दाइ कता हुनुहुन्छ, कता आउनुभएको?’
उनले सहज रूपमा जवाफ दिइन्, ‘दाइ भित्र साथीहरूलाई भेट्न गइ’स्या छ, एउटा सामान दिन गा’को, म उहाँलाई कुरिरा’छु।’
उनको मुखबाट ‘गइ’स्या छ’ भन्ने आदरार्थी शब्द सुन्नेबित्तिकै मलाई कताकता अप्ठ्यारो लाग्यो। कौतूहल थाम्न नसकेर सोधिहालेँ, ‘हजुरले त दाइलाई तँ भन्नुहुन्थ्यो हैन?’
दिदी अचम्म मान्दै लजाइन् र भनिन्, ‘त्यो त धेरै वर्षअगाडिको कुरा हो नि, तिमीलाई कस्तो याद भएको!’
त्यो सार्वजनिक अभिव्यक्तिपछि समाजले मलाई सहजै स्विकारेन। ‘कस्ती उत्ताउली’, ‘श्रीमान्लाई तिमी भन्ने?’, ‘संस्कार नभएकी’ ‘यस्ती गतिछाडालाई घरमा नस्विकारेकै बेस’ जस्ता कडा टिप्पणी र प्रतिक्रिया समाजले बर्सायो।
“म तपाईंहरूलाई त्यही ‘तँ’ भनेकै कारणले विशेष रूपमा याद गर्थें नि दिदी। कस्तो खतरा लाग्थ्यो तपाईंहरूले त्यसरी कुरा गरेको देख्दा,” मैले आफ्नो भावना पोखेँ।
‘अब त बच्चाबच्ची पनि भए, घरमा त्यस्तै त हो नि। कसैले भनेर होइन, म आफैँलाई पनि मन नलागेर तँ भन्न छोडेकी हुँ। त्यही भएर बानी पारेको,’ उनले भनिन्। दिदीले आफ्ना बच्चाले आमाको मुखबाट आदरार्थी शब्द सिकून् भनेर पनि तपाईं भनेको तर्क अगाडि सारेकी थिइन्।
कुराकानी बाक्लिँदै गएपछि ती दिदीले मनको भित्री तह खोलिन्, ‘तर, सुरुसुरुमा मलाई यस्तो गाह्रो भएको थियो कि! तपाईं वा हजुर भन्दा त कस्तो आफ्नो जस्तै नलाग्ने के!’ उनको यो वाक्यले मेरो मनमा धेरै प्रश्न उब्जायो। जुन सम्बोधनले उनलाई आफ्नोपन दिन्थ्यो, त्यही छोडेर उनले ‘तपाईं र आइस्यो’ को बाटो किन रोज्नुपर्यो?
श्रीमान् त्यहाँ आइपुगेर ती दिदीलाई उही ‘तँ’ सम्बोधन गरिरहेका थिए। यदि बच्चाले सिक्छ भन्ने कारण नै हो भने, आमाले आदरार्थी सम्बोधन गर्दा बुबाले ‘तँ’ भनिरहेका थिए। समाजले सधैँ संस्कारको भारी आमाको काँधमा मात्र किन बिसाइदिन्छ?
यो लेख पढ्दै गर्दा कतिपयलाई लाग्न सक्छ, ‘के भयो त तँ भन्दा? के भयो र तपाईं वा हजुर भन्दा? यो त सामान्य कुरा हो।’
जब उनका श्रीमान् बाइक निकाल्न गए, मैले सुटुक्क सोधेँ, ‘दिदी, तपाईं आइस्यो गइस्योमा उक्लिँदा दाइ पनि कम्तीमा तिमीसम्म त उक्लिनुपर्ने होइन र?’ मेरो प्रश्नमा सामाजिक न्यायको व्यंग्य थियो।
तर, दिदीको जवाफले मलाई फेरि सोच्न बाध्य बनाइदियो। उनले भनिन्, ‘हैन, खासमा मलाई उसले तँ भनेकै मन पर्छ।’
मैले प्रतिप्रश्न गरिनँ। किनकि, सम्बन्धहरू नितान्त व्यक्तिगत हुन्छन्। तर, समाजशास्त्रीय र मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दा यो जवाफले हाम्रो अवचेतनमा कति गहिरो गरी सामाजिक तहगत संरचना बसेको छ भन्ने प्रमाण दिन्छ। आफू तल्लो सम्बोधनमा बस्न राजी हुनु तर अर्कोलाई उच्च आसनमा राख्नुमा एउटा गहिरो अवचेतन भय लुकेको हुन्छ, जसले समाजको कसीबाट आफूलाई सुरक्षित राख्न खोज्छ।
आफ्नै ऐनामा म
ती दिदीसँगको आकस्मिक भेटमा भएको संवादले मलाई आफ्नै विगत र वर्तमानको ऐना देखाए जस्तो भयो। म पनि जीवनसाथीलाई सहजै ‘तिमी’ भनेर सम्बोधन गर्थें र गर्छु। मेरा श्रीमान् असाध्यै उदार हुनुहुन्छ। उहाँ मलाई घरमा सधैँ भन्नुहुन्छ, ‘तिमीले अरूको अगाडि त्यसरी औपचारिक बन्नु पर्दैन, तिमी मलाई जे भन्छौ त्यही भन न, तिमी जस्तो छौ त्यस्तै गर न।’ उहाँको तर्फबाट मलाई पूर्ण स्वतन्त्रता छ।
तर विडम्बना के भने, जब म अन्तर्वार्ताहरूमा जान्थेँ, म जस्तो थिएँ त्यस्तै प्राकृतिक र वास्तविक रूपमा प्रस्तुत हुन्थेँ। त्यो सार्वजनिक अभिव्यक्तिपछि समाजले मलाई सहजै स्विकारेन। ‘कस्ती उत्ताउली’, ‘श्रीमान्लाई तिमी भन्ने?’, ‘संस्कार नभएकी’ ‘यस्ती गतिछाडालाई घरमा नस्विकारेकै बेस’ जस्ता कडा टिप्पणी र प्रतिक्रिया समाजले बर्सायो।
सायद, त्यतिबेला मैले ती कडा टिप्पणीहरूको मानसिक रूपमा सामना गर्न सकिनँ, या भनौँ ती कडा शब्दहरू मेरो अवचेतन मनमा यसरी बसे कि मलाई नै थाहा भएन। परिणाम, आज म सचेत रूपमा होस् या अर्धसचेत रूपमा, अरूको अगाडि वा अन्तर्वार्ताहरूमा उहाँको नाम पछाडि ‘जी’ थप्न र ‘उहाँ’ सम्बोधन गर्न बाध्य भइहाल्छु। श्रीमान्ले ‘मलाई तपाईं भन्नु पर्दैन’ भन्दाभन्दै पनि समाजको अगाडि उहाँलाई ‘तपाईं’ भनिरहेकी हुन्छु। अहिले यो लेख्दै गर्दासमेत तिमी भनेर सम्बोधन गर्न सकिरहेकी छैन, जबकि म व्यक्तिगत रूपमा तिमी नै भन्छु।
यो मेरो आफ्नो स्वतन्त्र इच्छा होइन, अवचेतनमा समाजले हालिदिएको अदृश्य नियन्त्रण हो। हामी कतिसम्म सामाजिक प्राणी रहेछौँ भने, निजी सम्बन्धको सहजता र श्रीमान्को स्वीकृतिका बाबजुद समाजको कठोर ‘जजमेन्ट’ को डर हाम्रा लागि ठूलो बन्न पुग्छ।
समाजले हामीलाई यसरी बन्दी बनाएको छ कि हामी उदार जीवनसाथी पाउँदा पनि सामाजिक डरका कारण प्राकृतिक हुन सक्दैनौँ।
यो लेख पढ्दै गर्दा कतिपयलाई लाग्न सक्छ– के भयो त तँ भन्दा? के भयो र तपाईं वा हजुर भन्दा? यो त सामान्य कुरा हो। तर, समाजशास्त्रीय र समाजवादी दृष्टिकोणबाट हेर्ने हो भने, भाषा आफैँमा एउटा राजनीतिक सत्ता हो। हाम्रा दैनिक जीवनका यस्ता ससाना क्रियाकलाप र सम्बोधनहरूले हाम्रो समाज आज पनि कति गहिरो गरी पितृसत्तात्मक छ भन्ने कुरा स्पष्ट पार्छ।
सबै महिलाका श्रीमान् उदार नहुन पनि सक्छन्। जानेर वा नजानेर, चाहेर वा नचाहेर, पुरुषहरूलाई पनि अवचेतन रूपमा कता कता आफू पूजनीय भएको वा आदरभाव पाएको नै मन पर्छ भन्ने एउटा सामाजिक बुझाइ स्थापित छ। समाजले पुरुषलाई शासक र महिलालाई सेवकको दर्जामा राखेकाले सम्बोधनको यो असमानता पनि ‘संस्कार’ को सुन्दर पगरी बनेको छ।
यदि श्रीमान्ले श्रीमतीलाई ‘तँ’ भन्छ भने त्यो सामान्य मानिन्छ, तर श्रीमतीले श्रीमान्लाई ‘तँ’ वा ‘तिमी’ भन्छिन् भने त्यो विद्रोह वा उच्छृंखलता मानिन्छ। यो विभेदकारी सामाजिक चेतना हो। समाजवादले सम्बन्धहरूमा पूर्ण समानता र आन्तरिक लोकतन्त्रको वकालत गर्छ, तर हाम्रो समाजले समानता होइन, पदानुक्रम र वर्गीकरण रुचाउँछ। मान्छेहरू एउटा जोडीको आपसी बुझाइ र प्रेमको गहिराइ हेर्दैनन्, केवल बाहिर सुनिने सम्बोधनको व्याकरण नापेर बस्छन्।
सोच परिवर्तनको बाटो
यो अवचेतनमा बसेको सामाजिक डर र सोचलाई परिवर्तन गर्न सजिलो छैन। यसका लागि समाजले पहिलो चरणमा सम्बन्धको आन्तरिक लोकतन्त्रलाई सम्मान गर्न सिक्नुपर्छ। दुई व्यक्तिबीचको सम्बोधन उनीहरूको आपसी समझदारीको कुरा हो भनेर स्विकार्नुपर्छ। कसैले ‘तँ’ भन्दैमा प्रेम कम हुने र ‘हजुर’ भन्दैमा आदर बढी हुने होइन।
दोस्रो कुरा, सार्वजनिक जीवनमा रहेका व्यक्तिहरू वा जोकोहीले पनि आफ्नो जीवनसाथीलाई गर्ने सम्बोधनलाई लिएर नैतिक पहरेदार बन्ने सामाजिक बानी र ‘ट्रोलिङ’ संस्कृतिको अन्त्य हुनुपर्छ। जबसम्म समाजले सम्बोधनकै आधारमा मानिसको चरित्रहत्या गर्न छोड्दैन, तबसम्म मानिसहरू आफ्नो अवचेतन डरका कारण कृत्रिम बन्न बाध्य भइरहनेछन्। हामी आफैँले पनि समाजको डरले प्राकृतिकता गुमाइरहेका छौँ कि भनेर आत्मसमीक्षा गर्नुपर्छ र समाजका लागि भन्दा आफ्नो सहजता र आन्तरिक सत्यका लागि बाँच्न सिक्नुपर्छ।
म यो लेख अरूभन्दा पनि आफ्नै लागि लेख्दै छु, आफैँले दिएको औषधिले यो रोगबाट मुक्त हुन पनि चाहन्छु। भन्नु र गर्नुबीचको खाडल पुर्न चाहन्छु।
ती दिदीको ‘आइस्यो’ र मेरो अन्तर्वार्ताको ‘उहाँ अथवा जी’, यी दुवै शब्दहरू वास्तवमा समाजको कठोर ‘जजमेन्ट’ सँग थाकेर हामीले थापेका आत्मसमर्पणका सेता झन्डाहरू हुन्। समाजले हामीलाई यसरी बन्दी बनाएको छ कि हामी उदार जीवनसाथी पाउँदा पनि सामाजिक डरका कारण प्राकृतिक हुन सक्दैनौँ। तर, यो सम्झौताभित्र पनि यदि कतै हिजोको त्यो ‘तँ र म’ को आत्मीयता र आपसी बुझाइ जीवितै छ भने, यदि झुक्किएर अथवा जिस्किएर भने पनि श्रीमान्लाई ‘तँ’ भन्दा उसको पुरुषत्वमा ठोस पुग्न छोड्यो भने त्यो नै यो कठोर समाजका विरुद्ध एउटा मौन जित हो। सोच बदल्न समय लाग्ला, तर जबसम्म हामी यस्ता सूक्ष्म सामाजिक क्रियाकलाप र मानसिक प्रभावहरूबारे प्रश्न उठाइरहन्छौँ, तबसम्म परिवर्तनको सम्भावना जीवितै रहन्छ।
म आफैँ समाजले के भन्ला भन्ने रोगले ग्रस्त छु र आफैँ उपचार पनि बताइरहेकी छु।
म यो लेख अरूभन्दा पनि आफ्नै लागि लेख्दै छु, आफैँले दिएको औषधिले यो रोगबाट मुक्त हुन पनि चाहन्छु। भन्नु र गर्नुबीचको खाडल पुर्न चाहन्छु। हुनु र देखिनुबीचको भिन्नता तोड्न यो लेख्दै छु। जीवनलाई मैले तिमी भनेको मन पर्छ। उसलाई जे सम्बोधन मन पर्छ, जोसुकै अघि आए पनि उसलाई ‘तिमी’ भन्ने आँट बटुल्न म यो लेख्दै छु।