बातचित
उद्वेलनले नै मान्छेलाई लेखक बनाउँछ। जीवनमा के कमी छ, त्यो नखोज। तिमी के लेख्न चाहन्छौ, त्यसमा ध्यान देऊ।
प्रतिभा राय भारतकी प्रसिद्ध लेखक हुन्। ओडिया भाषामा लेख्ने राय महिलाका दृष्टिकोणबाट हिन्दु मिथक, इतिहास, समसामयिक जीवन, आदि विभिन्न विषयमा कलम चलाउँछिन्। लगभग २३०० वर्षअघि सम्राट् अशोकले ओडिसामा गरेको विनाशबारे उनले भर्खरै आफ्नो २५औँ पुस्तक प्रकाशन गरेकी छिन्, र उनले आफ्ना पुस्तकहरूमा अक्सर यस्ता अन्याय, अत्याचार र दमनको प्रतिरोधमा लेख्ने गरेकी छिन्। भारतका प्रतिष्ठित पद्मश्री पुरस्कार, पद्म भूषण सम्मान र मूर्तिदेवी पुरस्कार प्राप्त गरेकी रायका विभिन्न पुस्तक ३० भन्दा बढी भाषामा अनूदित छन्। गत जेठमा कलिंग साहित्य महोत्सवका क्रममा काठमाडौँ आएको अवसरमा ८३ वर्षीया रायसँग सेवा भट्टराईले गरेको बातचित :
तपाईंको उमेर ८० वर्षभन्दा बढी भइसकेको छ। पहिले धेरै महिलाले पढ्न पाउँदैनथे, तर तपाईंले कसरी पढ्न पाउनुभयो?
मेरा बुवा शिक्षाविद् हुनुहुन्थ्यो। उहाँ आफ्नो समयभन्दा धेरै अगाडि हुनुहुन्थ्यो। मलाई चिकित्सक बनाउने सपना देखेर चिकित्सा शिक्षामा भर्ना गरिदिनुभएको थियो, तर मलाई त्यो विषय मन परेन। उहाँलाई भन्दै नभनी विषय परिवर्तन गरेर वनस्पति विज्ञान पढ्न थालेँ। तर, बाल्यकालदेखि नै समाज र साहित्यप्रति मेरो बढी रुचि थियो।
विज्ञानको विद्यार्थी भए पनि तपाईंलाई साहित्य लेखनमा रुचि हुनुको कारण के हो?
सानै छँदादेखि लेख्थेँ। कुनै सुन्दर कुरा देखेँ भने अथवा कुनै कुराले मेरो मन उद्वेलित भयो भने म लेख्थेँ। उद्वेलनले नै मलाई लेखाउँथ्यो। मैले जे लेख्थेँ, त्यो कविता बन्थ्यो। मैले कक्षा ७ मा हुँदा लेखेको कविता एउटा पत्रिकामा छापिएको थियो। त्यस्तो कुराले मलाई उत्साहित गर्यो र झन् लेख्न थालेँ।

प्रतिभा राय। तस्बिर : सेवा भट्टराई
भनेपछि उद्वेलनले लेखक बनाउँछ?
हो, उद्वेलित हुनैपर्छ। उदाहरणका लागि, मैले धेरै पुस्तकमा जमिनदारले गर्ने अन्याय, अत्याचार वा आदिवासी मानिसहरूको दमनको विरोधमा लेखेकी छु। किनकि, बाल्यकालमा देखेका ती कुराले मलाई उद्वेलित बनाए। बाल्यकालमा सायद ती कुरा बुझिनँ, तर वयस्क भएपछि ती कुरा अभिव्यक्त गर्ने चाहनाले लेख्न प्रेरित गरिरह्यो।
सम्भवत: तपाईंको सबैभन्दा प्रसिद्ध पुस्तकयज्ञसेनी हो जसमा तपाईंले महाभारतलाई द्रौपदीको दृष्टिकोणबाट लेख्नुभएको छ। यो पुस्तक धेरै भाषामा अनुवाद पनि गरिएको छ। यस्ता प्राचीन कथा आजको आधुनिक जीवनमा कसरी सान्दर्भिक छन्?
मैले लेखेपछि यो कथा प्राचीन मात्र रहेन। एक महिलालाई जुन अवस्थामा पारिएको थियो, त्यो एकदम नराम्रो थियो। द्रौपदी कमजोर पात्र होइनन्, शक्तिशाली हुन्। यसकै लागि मेरो प्रतिवाद थियो, विद्रोह थियो। त्यसैले मैले यज्ञसेनी लेखेँ।
अक्सर हिन्दु मिथकका पुस्तकमा वा समसामयिक लेखनमा द्रौपदीलाई या त कमजोर देखाइन्छ, या त समग्र महाभारतको कारक नै द्रौपदी हो भनिन्छ। यसलाई एक किसिमको स्त्रीद्वेष भन्न सकिन्छ। तर, तपाईंको पुस्तकमा त्यसको विपरीत चित्रण देखिन्छ नि।
द्रौपदीलाई महाभारतको कारक भनिन्छ, त्यसको विरोध गर्न मैले लेखेँ। म यो देखाउन चाहन्थेँ कि महाभारतको कारण द्रौपदी होइन, पुरुषको लोभ हो।
प्रतिभा राय। तस्बिर स्रोत : यूट्यूव
साहित्यमा स्त्रीद्वेषी चित्रणबारे महिलाले के गर्न सक्छन्?
‘महिला’ नामको आवरण खोल। तिमी मानिस हौ, राम्रो मानिस बन्ने कोसिस गर। सबै जना राम्रो मानिस बन्नुपर्छ। यसमा महिला-पुरुष भन्ने कुरा छैन। र, महिलालाई हुने अन्याय-अत्याचारको विरोध गर्नुपर्छ।
प्राचीन हिन्दु मिथकहरूमा महिलाको स्थान कस्तो पाउनुहुन्छ?
हामी हिन्दु मिथक र प्राचीन कथामा महिलालाई देवी बनाउँछौँ, तर जीवनमा उनीहरूलाई दासी बनाउँछौँ। म यो कुराको विरोधमा लेख्छु।
तपाईं आफ्ना पुस्तकमा महिलाका शृंगारिक भावना र इच्छाको सुन्दर चित्रण गर्नुहुन्छ। सामान्यतया महिलाहरू शृंगारिक विषयमा लेख्दैनन्, तर जब लेख्छन्, त्यसलाई या त ‘चिक लिटֹ’ को वर्गमा थन्क्याइन्छ या त लेखकलाई लज्जित बनाउन खोजिन्छ। यस्तो किन गरिन्छ?
हो, प्रेम गर्ने महिलाको चरित्रमा औँला उठाइन्छ। महिलाको चरित्र यति नाजुक छ कि हरेक कुरामा दाग लागिहाल्छ। हामीले यो बदल्नुपर्छ। शाश्वत मानवीय मूल्यमान्यताका साथ हामी असल मानिस बन्नुपर्छ, महिला-पुरुष जोसुकै भए पनि।
भन्नाले महिलाले पनि प्रेम र प्रेमको अभिव्यक्ति गर्दा हुन्छ?
प्रेम त स्वतःस्फूर्त कुरा हो। महिलाको मनमा पनि प्रेमको भावना आउँछ, तर खुलेर अभिव्यक्त गर्न सक्दैनन्। सायद यो कुरालाई समाजले स्वेच्छाचारितासँग जोडेर हेर्छ। स्वेच्छाचार गलत हो, तर स्वेच्छाचार र स्वाधीनतामा फरक छ। महिला-पुरुष सबैजना स्वाधीन हुनुपर्छ र स्वतन्त्र तरिकाले प्रेमको अभिव्यक्ति गर्नुपर्छ। महिलाको अभिव्यक्तिमा नियन्त्रणलाई बदल्नुपर्छ।
विज्ञान विद्यार्थी भईकन तपाईंको भाषा सुन्दर र सरस छ। यस्तो मिठास कसरी ल्याउनुभयो?
हो, म विज्ञानको विद्यार्थी हुँ, तर साहित्य लेख्न रुचाउँछु। साहित्य पढेर, प्रेरित भएर मात्र लेखकले लेख्ने होइन, यो त भित्रैबाट आउँछ। भाषाका बारेमा म धेरै संवेदनशील छु। जहाँ गए पनि कसले कस्तो भाषा प्रयोग गरिरहेको छ भनेर ध्यान दिएर सुन्छु, याद गर्छु। मेरो ग्रामीण हुर्काइले पनि सायद यसमा सहयोग गरेको छ। गाउँमा हुर्कें, बाल्यकालमा ग्रामीण मानिससँग मेरो संगत थियो। उनीहरूको बोल्ने शैली याद गरेँ। ती कुरा अझै पनि मभित्र छन्। यसले भाषा समृद्ध बनाउँछ।
प्रतिभा रायद्वारा लिखित पुस्तकहरू।
मेरो उपन्यासको भाषाबारे मान्छेहरू कुरा गर्छन्। म भन्छु– यो मेरो भाषा होइन, पात्रको भाषा हो। जस्तो चरित्र छ, त्यस्तै भाषामा लेख्नुपर्छ। जुन समयका बारेमा पुस्तक छ, त्यही समयको भाषा प्रयोग गर्नुपर्छ।
तपाईं ओडिया भाषामा लेख्नुहुन्छ, तर मैले तपाईंको पुस्तक अंग्रेजी भाषामा पढेँ। दक्षिण एसियामा हामीले एकअर्काको साहित्य पढ्न अथवा विश्वका सामु हाम्रो साहित्य प्रस्तुत गर्न अनुवादको के महत्त्व छ?
अनुवाद पुल जस्तै हो। भाषाहरूको बीचमा पुल हुनुपर्छ, किनकि कति धेरै भाषाहरू छन् र दक्षिण एसियामा मात्रै पनि कति विविधता छ। सबै साहित्यको मर्म चाहिँ एउटै हुन्छ; मानवीय मूल्यमान्यता, प्रेम, करुणा। तर, हरेक भाषामा फरक फरक सन्दर्भअनुसारका कथा पाइन्छन्। त्यसैले हामीले एकअर्काको साहित्य पढ्न र समाज बुझ्न अनुवाद एकदम महत्त्वपूर्ण छ। अनुवादलाई जति महत्त्व दिइनुपर्ने हो, त्यति दिइँदैन।
बाहिरको कामसँगै घरको जिम्मेवारी पनि सम्हाल्ने महिलाहरूले साहित्य लेख्नु वा कुनै कला सिर्जना गर्नु कत्तिको कठिन काम हो?
मैले त पूर्णकालीन जागिर पनि खाएँ, ३५ वर्ष पढाएँ। तीन बच्चा थिए। हाम्रो समाजमा पुरुषको भूमिका भनेको पैसा दिने र घरमा आराम गर्ने मात्र हुन्छ। महिलाले सबैथोक गर्छन्। अझ शिक्षित आमा हो भने त झन् धेरै जिम्मेवारी हुन्छ– बच्चा कुन कलेजमा पढ्ने, कसरी त्यहाँ प्रवेश गराउने, करिअरमा कसरी सहयोग गर्ने, आदि-इत्यादि। यो सब मैले पनि गर्नुपर्यो। मेरो व्यक्तिगत समय भनेको राति ११ बजेपछि हो। बच्चाहरू सुतिसकेका हुन्छन्, घरको काम सकिन्छ, भोलि बिहान के खाने त्यसको तयारी सकिन्छ, अनि म शान्त हुन्छु। अनि त्यसपछि चरित्रहरूले मलाई घेर्छन्। उनीहरू मलाई भन्छन्– हाम्रो बारेमा पनि अलिकति सोच। त्यसपछि म लेख्न थाल्छु।
प्रतिभा राय। तस्बिर स्रोत : विकिपिडिया
महिलाले सामना गर्ने यी कठिनाइ कसरी घटाउन सकिन्छ?
एक मात्र उपाय हो– घरभित्र काम बाँड्नुपर्छ। छोरालाई पनि सानैदेखि घरको काम सिकाउनुपर्छ। घरभित्र छोरा र छोरी छन्, छोरी सबैथोक गर्छिन्, छोरा केही गर्दैनन्, त्यो त भएन। छोरा र छोरी दुवैलाई उत्तिकै जिम्मेवार बनाउनुपर्छ।
यति कठिनाइको सामना गर्दै महिलाहरू जुन साहित्य वा कला सिर्जना गर्छन्, के त्यो मूलधारको साहित्य वा पुरुषको लेखनभन्दा फरक हुन्छ?
हरेक लेखकको लेखन फरक हुन्छ। कुनै लेखकलाई अर्को लेखकसँग तुलना गर्न मिल्दैन। महिला पनि एउटा लेखक हो, त्यसैले हरेक महिलाले फरक फरक नै लेखिरहेकी हुन्छिन्। तर, महिला भएकै कारण लेखन फरक हुन्छ जस्तो लाग्दैन।
आजको समयमा दक्षिण एसियामा महिलाले के लेखिरहेका छन्, कस्तो लेखिरहेका छन्?
महिलाहरू महत्त्वपूर्ण मुद्दामा पनि लेखिरहेका छन्। तर, महिला लेखन र पुरुष लेखनको अनुपात हेर्दा महिला पछाडि नै छन्। किनभने, उनीहरूले अवसर पाइरहेका छैनन्। अवसर महिलाका लागि सिर्जना गरिनुपर्छ, र घरबाटै गरिनुपर्छ। बाल्यकालदेखि नै छोरा-छोरीलाई एउटै किसिमले हुर्काउनुपर्छ।

प्रतिभा राय। तस्बिर : यूट्युब
अन्तिममा, तपाईं जस्ता धेरै महिला हुनुहुन्छ, जो दिनभरि घरको जिम्मेवारी वहन गर्नुहुन्छ र कला सिर्जना गर्न पनि चाहनुहुन्छ। उनीहरूलाई के सन्देश दिनुहुन्छ?
म भन्छु, अझै व्यस्त होऊ। त्यो व्यस्तताले मनमा जुन अशान्ति ल्याउँछ, त्यसैले लेखक बनाउँछ। सहज जीवनले लेखक बन्न सकिँदैन।
बाधा-अवरोधहरू आउँछन्, र बाधा-अवरोधले नै लेखाउँछन्। उद्वेलनले नै मान्छेलाई लेखक बनाउँछ। जीवनमा के कमी छ, त्यो नखोज। तिमी के लेख्न चाहन्छौ, त्यसमा ध्यान देऊ। लेख्न मन छ भने लेख। कसले के भन्छ, कसले कस्तो आलोचना गर्छ, त्यसलाई ध्यान नदेऊ। आफ्नो अभिव्यक्तिमा ध्यान देऊ।