काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

१४ असार २०८३
अ+
अ-

सुर्खेत। विनासकारी भूकम्प गएको अवस्थामा जीवनरक्षक खोज, उद्धार तथा आपत्कालीन् स्वास्थ्य सेवा प्रवाहका विषयमा ‘कर्णाली प्रदेशस्तरीय टेबलटप कृत्रिम घटना अभ्यास’ गरिएको छ।

कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतको आयोजना, युरोपेली संघ (ईयु), युएनडिपी, युएनओमन, युनिसेफ, ह्याण्डिक्याप इन्टरनेशनलको समन्वय तथा स्थानीय साझेदार संस्था सुन्दर नेपालको साझेदारीमा सहरी विपद् र भूकम्पीय पूर्वतयारी परियोजनाअन्तर्गत शनिबार वीरेन्द्रनगरमा ‘टेबलटप कृत्रिम घटना अभ्यास’ गरिएको हो।

विपद्को विषय विज्ञ सिर्जन मल्लले विनासकारी भूकम्प गएको समयमा राज्यका संयन्त्रको शीघ्र खोज, उद्धार तथा आपतकानिन स्वास्थ्य सेवामा गर्नुपर्ने कार्यका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। विपद्को समयमा खोज तथा उद्धारमा हुने ढिलाईले जनधनको ठूलो क्षति हुने भएकोले यसमा राज्यका सबै संयन्त्रको क्रियाशीलता बढाउन गरिने क्रियाकलापका विषयमा उनले सरोकारवाला निकायलाई जानकारी गराएका छन्।

अभ्यासको क्रममा प्रदेश विपद् व्यवस्थापन समिति, विषयगत समुह, निजी क्षेत्र र प्रदेश आपतकालिन सञ्चालन केन्द्रले छुट्टाछुट्टै समूह कार्य गरी आ–आफ्नो तर्फबाट कार्ययोजना निर्माण गरेका छन्। विपद्को बेला सम्बन्धित निकायहरुको भूमिका, जिम्मेवारी र प्राथमिकताका विषयमा समूह कार्यका क्रममा व्यापक छलफल गरिएको थियो।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. भोजराम बमले जीवनरक्षक, राहत तथा आपतकालिन स्वास्थ्य सेवाका क्रियाकलापको निरन्तरता, आपतकालिन क्षमता वृद्धि, कर्णाली र भेरी करिडोर दुवैमा वायरहाउस स्थापना, तीन तहको सरकारबीच प्रभावकारी समन्वय, खानेपानी तथा सरसफाई, खाद्य तथा पोषण सेवाको कार्यादेश र त्यसको प्रमुख जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने सुझाव दिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशका सचिव निधिराज न्यौपानेले पहिचान भएका समस्याहरुले विपद पूर्वतयारी र प्रतिकार्यमा सहयोग पुग्ने बताए। “हामीले गरिरहेका गतिविधिहरुको पुनरावलोकन हुनुपर्दछ,” उनले भने, “टेबलटप अभ्यासले फिल्डमा पुगेर गर्ने कामको ढाँचा निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने कुरामा बल पुग्ने अपेक्षा गरेको छु।”

कार्यक्रमका सहजकर्ता दामोदर अधिकारीले ठूलो विपद्‌मा हुनुपर्ने तयारी र त्यसको प्रभावकारितामा केन्द्रित हुनेपर्नेमा जोड दिए। जोखिम क्षेत्र पहिचान, त्यसका लागि आवश्यक समन्वय प्रभावकारी हुनुपर्ने उनले बताए।

कार्यक्रममा मुख्यगरी विनासकारी भूकम्प गएको, भौतिक तथा राज्यका सबै संरचनाहरु ध्वस्त भएको, सडक, पूल भत्केर आवातजावत अवरुद्ध भएको, सञ्चारका सबै स्रोत तथा संरचना पनि ध्वस्त भई सम्पर्क विच्छेदको अवस्थामा समेत कसरी खोज, उद्धार तथा आपत्कालीन स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।