काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

विश्वकप समीक्षा

इजिप्ट र केप भर्डेलाई ऐतिहासिक सफलता, मेसी सर्वाधिक गोलकर्ता

१४ असार २०८३
जोर्डनविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै अर्जेन्टिनी कप्तान लिओनल मेसी। तस्बिर : एपी
अ+
अ-

फिफा विश्वकप २०२६ को नकआउट चरणको समीकरण पूरा भएको छ। शनिबारसम्म ४८ टोलीमध्ये २८ टोलीले अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेका थिए भने बाँकी चार स्थानका लागि आठ टोलीबीच शनिबार रातिदेखि आइतबार बिहानसम्म भएको समूह चरणका अन्तिम ६ खेल निर्णायक बने।

ती निर्णायक खेलमध्ये कोस्टारिकाले घानालाई २–१ ले पराजित गर्‍यो भने कंगोले उज्बेकिस्तानमाथि ३–१ को जित निकाल्यो। समूह ‘जे’को अन्तिम खेलमा अल्जेरिया र अस्ट्रियाले रोमाञ्चक ३–३ गोलको बराबरी खेले।

यी नतिजासँगै क्रोएसिया, कंगो, अल्जेरिया र अस्ट्रियाले नकआउट चरणमा स्थान बनाउँदै अन्तिम चार स्थानमा आफ्नो नाममा लेखाए। त्यसको विपरीत स्कटल्यान्ड, दक्षिण कोरिया, उरुग्वे र इरानको विश्वकप यात्रा समूह चरणमै समाप्त भयो।

सबैभन्दा दु:खदायी बहिर्गमन भने इरानको रह्यो। समूह ‘जी’मा एक खेल पनि नहार्दासमेत आवश्यक अंक र गोलअन्तरको समीकरण नमिल्दा इरान नकआउट चरणमा पुग्न असफल रह्यो। अब अन्तिम ३२ का खेल २८ जुनको रातदेखि जुलाई ४ सम्म सञ्चालन हुनेछन्।

नकआउट चरणको सुरुआत दक्षिण अफ्रिका र क्यानडाबीचको खेलबाट हुनेछ। लस एन्जलसस्थित रंगशालामा हुने खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ। त्यसपछि सोमबार राति १०:४५ बजे ह्युस्टनमा एसियाली टोली जापानले पाँच पटक विश्वकप विजेता बनिसकेको ब्राजिलको सामना गर्नेछ।

ब्राजिली फरवार्ड नेयमार। तस्बिर : एपी

अन्तिम ३२ बाट सुरु हुने नकआउट चरणमा हार्ने टोलीको विश्वकप यात्रा समाप्त हुनेछ।

सबै खेल जित्ने तीन टोली

विश्वकपमा सहभागी ४८ टोलीलाई यसपटक १२ समूहमा विभाजन गरिएको थियो, जहाँ प्रत्येक टोलीले समूह चरणमा समान तीन खेल खेल्यो। तीमध्ये १५ टोली भने प्रतियोगिताभर अपराजित रहन सफल भए।

अपराजित टोलीमध्ये सहआयोजक मेक्सिकोले उत्कृष्ट प्रदर्शन गर्दै समूह ‘ए’का तीनवटै खेल जितेर शतप्रतिशत नतिजासहित नौ अंक जोड्यो। कतार विश्वकपका फाइनलिस्ट फ्रान्स र अर्जेन्टिनाले पनि कुनै अंक नगुमाई समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरे।

यस्तै, स्वीट्जरल्यान्ड, ब्राजिल, मोरक्को, नेदरल्यान्ड्स, जापान, बेल्जियम, इजिप्ट, स्पेन, केप भर्डे, कोलम्बिया, पोर्चुगल र इङ्ल्यान्डले पनि समूह चरणमा हार बेहोरेनन्। यद्यपि, बराबरीका कारण अंक बाँड्न बाध्य भए।

समूह चरणमा अपराजित रहेको मेक्सिको। तस्बिर : एपी

स्पेनले जितेको समूह ‘एच’ भने विश्वकप इतिहासमै दुर्लभ समूहमध्ये एक बनेको छ। स्पेन ७ अंकसहित विजेता बनेको यस समूहमा कुनै पनि अन्य टोलीले एकभन्दा बढी खेल जित्न सकेनन्।

विश्वकप इतिहासमा यसअघि तीन पटक मात्र यस्तो दुर्लभ घटना भएको थियो। सन् १९८२ को विश्वकपको समूह ‘ए’, सन् १९९० को समूह ‘एफ’ र सन् १९९८ को समूह ‘बी’ मा पनि यस्तै अनौठो समीकरण देखिएको थियो। त्यसबेला अन्य टोली एकभन्दा बढी जित निकाल्न असफल भएका थिए।

यसपल्ट जर्मनीले अहिलेसम्म प्रतियोगिताकै सबैभन्दा ठूलो अन्तरको जित दर्ता गर्दै प्रभावशाली सुरुआत गरेको थियो। जुलियन नागेल्समानको प्रशिक्षणमा रहेको टोलीले पहिलो खेलमा कुराकाओलाई ७–१ ले पराजित गर्‍यो।

यसअघि पनि समूह चरणमै फराकिला जित नदेखिएका भने होइनन्। जारी प्रतियोगितामै क्यानडाले कतारलाई ६–० ले पराजित गरेको थियो भने पोर्चुगलले उज्बेकिस्तान र सेनेगलले इराकलाई समान ५–० ले हराएका थिए।

जर्मनी स्वयं पनि ठुलो जितका लागि परिचित टोली हो। सन् २०१४ को विश्वकपमा उसले घरेलु टोली ब्राजिललाई ७–१ ले पराजित गरेको खेलको चर्चा अझै पनि विश्व फुटबलमा हुने गर्छ।

विश्वकपमा यस्ता फराकिला जित निकै दुर्लभ छन्। सन् २०१० मा पोर्चुगलले उत्तर कोरियालाई ७–० ले हराएको थियो भने सन् २०२२ मा स्पेनले कोस्टारिकालाई समान ७–० ले पराजित गरेको थियो। त्यसैगरी सन् २००२ मा जर्मनीले साउदी अरेबियामाथि ८–० को ऐतिहासिक जित दर्ता गरेको थियो।

९२ वर्षपछि इजिप्टको विश्वकप जितको प्रतीक्षा समाप्त

इजिप्टले ९२ वर्ष लामो प्रतीक्षा अन्त्य गर्दै विश्वकपमा पहिलो जित निकालेको छ। सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको इजिप्टले चौथो सहभागिता र नवौँ खेलमा आएर ऐतिहासिक जित हात पारेको हो।

‘द फेरोज’ नामले चिनिने इजिप्टले न्युजिल्यान्डविरुद्ध पछि परेको अवस्थाबाट पुनरागमन गर्दै जित निकाल्यो। जिको, मोहम्मद सलाह र ट्रेजेगेटको गोलमा इजिप्टले खेल आफ्नो पक्षमा पार्‍यो।

यो जितसँगै इजिप्टले विश्वकपमा पहिलो जितका लागि लामो समय कुर्ने टोलीको सूचीमा नर्वेलाई पनि पछि पारेको छ। नर्वेले सन् १९३८ मा पहिलो पटक विश्वकप खेलेको थियो। तर, ५६ वर्षपछि मात्र पहिलो जित हात पारेको थियो।

विश्वकपमा पहिलो जितका लागि लामो प्रतीक्षा गर्ने टोलीमध्ये दक्षिण कोरिया पनि एक हो। यो टोलीले पहिलो जित निकाल्न ४८ वर्ष कुर्नुपरेको थियो भने पेरु, बेल्जियम, नेदरल्यान्ड्स र क्यानडाले ४० वर्षपछि पहिलो जित दर्ता गरेका थिए।

इतिहास रचेको केप भर्डे

पहिलो पटक विश्वकप खेलिरहेको सानो टापु राष्ट्र केप भर्डेले यसपल्ट इतिहास रच्यो। आफ्नो समूहको अन्तिम खेलमा साउदी अरबसँग गोलरहित बराबरी खेलेपछि करिब पाँच लाख जनसंख्या भएको यो राष्ट्र विश्वकपको नकआउट चरणमा पुग्ने अहिलेसम्मकै सबैभन्दा कम जनसंख्या भएको देश बन्यो।

पश्चिम अफ्रिकाको तटनजिक अवस्थित केप भर्डेले समूह चरणका तीनवटै खेल बराबरी खेल्दै तीन अंक बटुल्यो। उसले प्रतियोगिताको सुरुआतमै सन् २०१० को विश्व च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो। त्यसपछि दुई पटकको विश्व विजेता उरुग्वेसँग २–२ को रोमाञ्चक बराबरी खेल्दै आफ्नो क्षमता प्रमाणित गर्‍यो।

अन्तिम ३२ मा पुगेको केप भर्डे टोली। तस्बिर : एपी

समूह ‘एच’को अन्तिम खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गरेपछि केप भर्डे तीन अंकसहित समूह उपविजेता बन्दै अन्तिम ३२ मा प्रवेश गर्न सफल भयो। अब उसले जुलाई ३ मा मियामीमा साविक विश्व च्याम्पियन अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।

विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगितामा समूह चरणका तीनवटै खेल बराबरी खेल्दै नकआउट चरण पुग्नु अत्यन्तै दुर्लभ उपलब्धि मानिन्छ। यसअघि वेल्स (१९५८), आयरल्यान्ड र नेदरल्यान्ड्स (१९९०) तथा चिली (१९९८) ले मात्र यस्तो सफलता हासिल गरेका थिए। सन् २०१० मा न्यजिल्यान्ड पनि तीनवटै खेलमा अपराजित रहँदै बराबरीमा रोकिएको थियो। तर, गोलअन्तरका आधारमा न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिएको थियो। यस संस्करणमा इरानले पनि त्यही नियति भोग्नुपर्‍यो।

विश्वकपबाट बाहिरिएको इरान। तस्बिर : एपी

खेलअघि केप भर्डेका प्रशिक्षक बुबिस्टाले भनेका थिए,“सपना देख्ने अधिकार सबैलाई छ र फुटबलमा केही पनि असम्भव हुँदैन।” खेलाडीहरूले मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै उनका भनाइलाई प्रमाणित गरे।

केप भर्डेको ऐतिहासिक यात्रामा ४० वर्षीय अनुभवी गोलरक्षक भोजिन्हाको भूमिका विशेष रह्यो। प्रतियोगिताभर उनले गरेको उत्कृष्ट गोलरक्षाका कारण उनले विश्वभरका फुटबल समर्थकमाझ चर्चा पाए। सामाजिक सञ्जाल इन्स्टाग्राममा मात्र प्रतियोगिताका क्रममा उनका एक करोड ६० लाखभन्दा बढी नयाँ ‘फलोअर’ थपिएका छन्। यस अवधिमा उनले तीन खेलमा मात्र दुई गोल बेहोरे।

४० वर्षको उमेरपछि विश्वकपमा एकभन्दा बढी ‘क्लिनसिट’ राख्ने उनी पिटर शिल्टन र डिनो जोफपछि तेस्रो गोलरक्षक बनेका छन्।

अफ्रिकी फुटबलको ऐतिहासिक छलाङ

विश्वकप २०२६ अफ्रिकी फुटबलका लागि ऐतिहासिक संस्करण बनेको छ। प्रतियोगिताको अन्तिम ३२ अर्थात् नकआउट चरणमा अफ्रिकाका १० मध्ये नौ टोलीले स्थान बनाउँदै नयाँ कीर्तिमान कायम गर्‍यो। विश्वकप इतिहासमा पहिलो पटक यति धेरै अफ्रिकी राष्ट्रले समूह चरण पार गर्न सफल भएका हुन्।

यसअघि अफ्रिकाको उत्कृष्ट प्रदर्शन सन् २०१४ को ब्राजिल विश्वकपमा थियो। उक्त संस्करणमा अल्जेरिया र नाइजेरिया मात्र नकआउट चरणमा पुगेका थिए। त्यसयता कुनै पनि संस्करणमा अफ्रिकाले यस्तो प्रभावशाली उपस्थिति देखाउन सकेको थिएन।

यसपटक भने ट्यनिसियाबाहेक सबै अफ्रिकी टोलीले समूह चरण पार गरे। समूह चरणका १७ दिनको प्रतिस्पर्धापछि मोरक्को, दक्षिण अफ्रिका, सेनेगल, आइभोरी कोस्ट, घाना, इजिप्ट, अल्जेरिया, कंगो र केप भर्डेले अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरे। अल्जेरियाले भने समूह चरणको आफ्नो अन्तिम खेलमा अस्ट्रियासँग ३–३ को रोमाञ्चक बराबरी खेल्दै नकआउट चरणमा स्थान बनाएको हो। खेल अल्जेरियाको पक्षमा जाने देखिएको थियो। कप्तान रियाद माहरेजले इन्जुरी समयको अन्तिमतिर गोल गर्दै टोलीलाई ३–२ को अग्रता दिलाएका थिए।

उज्बेकिस्तानविरुद्ध अन्तिम खेलमा जित निकालेपछि कंगोका खेलाडी। तस्बिर : एपी

तर‚ खेलको लगभग अन्तिम प्रहारमै अस्ट्रियाले बराबरी गोल फर्कायो। त्यसपछि दुवै टोलीले समान रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरे। कंगोले अन्तिम खेलमा यसैपल्ट डेब्यु गरेको एसियाली राष्ट्र उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनायो।

खेलमा उज्बेकिस्तानका एल्डोर शोमुरोदोभले सुरुआती अग्रता दिलाएका थिए। तर‚ दोस्रो हाफमा कंगोले उत्कृष्ट पुनरागमन गर्‍यो। योआने विसाले पेनाल्टीमार्फत बराबरी गोल गरे भने फिस्टन मायेलले टोलीलाई अग्रता दिलाए। इन्जुरी समयमा विसाले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे। विश्वकप इतिहासमा कंगोको यो नै पहिलो जित हो।

सबैभन्दा बढी गोल गर्ने खेलाडी मेसी

अर्जेन्टिनाका कप्तान लिओनल मेसीले फिफा विश्वकप २०२६ मा अर्को ऐतिहासिक उपलब्धि आफ्नो नाममा लेखाएका छन्। उनी विश्वकप इतिहासमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

आइतबार जोर्डनविरुद्धको समूह चरणको अन्तिम खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीले ८०औं मिनेटमा शानदार फ्रिकिकमार्फत गोल गर्दै नयाँ कीर्तिमान कायम गरे। पेनाल्टी क्षेत्रबाहिर अर्जेन्टिनाले पाएको फ्रिकिक अवसरलाई उनले दुई रक्षकबीचबाट घुमाउरो प्रहार गर्दै बललाई जालीको बायाँ कुनामा पुर्‍याएका थिए।

३९ वर्षीय मेसीका लागि यो करिअरको ७२औँ फ्रिकिक गोल तथा अर्जेन्टिनाको जर्सीमा १२औँ फ्रिकिक गोल पनि हो। यससँगै अन्तर्राष्ट्रिय फुटबलमा उनको कुल गोल संख्या १२३ पुगेको छ। सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको सूचीमा उनी दोस्रो स्थानमा छन् भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १४५ गोलसहित शीर्ष स्थानमा कायम छन्। मेसीले यो उपलब्धि २०२ अन्तर्राष्ट्रिय खेलमा हासिल गरेका हुन्।

जोर्डनविरुद्ध बलका लागि प्रयास गर्दै अर्जेन्टिनी कप्तान लिओनल मेसी। तस्बिर : एपी

यसअघि विश्वकपमा लगातार ६ खेलमा गोल गर्ने कीर्तिमान फ्रान्सका जस्ट फन्टेन र ब्राजिलका महान् स्ट्राइकर जाइर्जिन्होसँग संयुक्त रूपमा मेसीको नाममा थियो। जारी विश्वकपमा मेसीको यो छैटौँ तथा समग्र विश्वकप करिअरको १९औँ गोल हो। गोलकर्ताको सूचीमा उनी शीर्ष स्थानमा छन्। उनलाई नर्वेका इर्लिङ हल्यान्ड, फ्रान्सका केलियन एमबाप्पे र उस्मान डेम्बेले तथा ब्राजिलका भिनिसियस जुनियरले समान चार–चार गोलसहित पछ्याइरहेका छन्। एमबाप्पेले भने विश्वकपका तीन संस्करणमा १६ गोल पूरा गरिसकेका छन्।

डेम्बेले विश्वकप इतिहासमा सबैभन्दा छिटो ह्याट्रिक गर्ने दोस्रो खेलाडी पनि भए। नर्वेविरुद्धको खेलमा उनले ३२ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए। विश्वकप इतिहासकै सबैभन्दा छिटो ह्याट्रिकको कीर्तिमान भने अस्ट्रियाका एरिख प्रोब्स्टको नाममा छ। उनले सन् १९५४ मा चेकोस्लोभाकियाविरुद्ध २४ मिनेटमै ह्याट्रिक पूरा गरेका थिए।

यसपल्ट डेम्बेलेसँगै समूह चरणमा अर्जेन्टिनाका मेसी र क्यानडाका जोनाथन डेभिडले ह्याट्रिक गरे। मेसीले अल्जेरियाविरुद्ध तथा डेभिडले कतारविरुद्ध समूह चरणमै ह्याट्रिक पूरा गरेका थिए।

रोनाल्डो ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले विश्वकप इतिहासमा अर्को दुर्लभ र ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनले लगातार ६ वटा विश्वकप संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेर नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।

यस सूचीमा अर्जेन्टिनाका कप्तान मेसी दोस्रो स्थानमा छन्। उनले पाँच वटा विश्वकप संस्करणमा (२०१० मा बाहेक) गोल गरिसकेका छन्।

पोर्चुगिज कप्तान रोनाल्डो। तस्बिर : एपी

उज्बेकिस्तानविरुद्धको खेलमा गोल गर्दै ४१ वर्षीय रोनाल्डोले विश्वकप इतिहासमा सबैभन्दा बढी उमेरमा गोल गर्ने दोस्रो खेलाडीको स्थान पनि हासिल गरेका छन्। यस सूचीमा उनी क्यामरुनका महान् खेलाडी रोजर मिल्लापछि दोस्रो स्थानमा छन्।

रोनाल्डोले यससँगै अर्को दुर्लभ उपलब्धि पनि बराबरी गरेका छन्। उनले डेनमार्कका माइकल लाउड्रुप र मेसीसँगै आफ्नो राष्ट्रिय टोलीका लागि विश्वकपमा सबैभन्दा कम उमेरमा र सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडीको सूचीमा स्थान बनाएका छन्।