काठमाडौँ
००:००:००
१५ असार २०८३, सोमबार

पर्यावरण

जैविक बाँध लगाएर दलदललाई तालमा परिणत गर्दै चितवनका उपभोक्ता

१५ असार २०८३
मिलिजुली ताल। तस्बिर : करुन देवान
अ+
अ-

चितवनका स्थानीयहरू सिमसार संरक्षणमा जागरूक हुन थालेका छन्। रत्ननगर नगरपालिका–९ स्थित मिलिजुली मध्यवर्ती सामुदायिक वनका उपभोक्ताले दलदल र हिलो मात्रै रहेको ठाउँमा जैविक बाँध लगाएर सिमसार, पोखरी र ताल जोगाउन थालेका हुन्। कुमाल तालनजिक दुई हेक्टरभन्दा बढी क्षेत्रफलमा यसरी ताल निर्माण भएको छ। पहिले कान्छीघोलका नामले चिनिने दलदल र हिलो क्षेत्रमा अढाई मिटर अग्लो जैविक बाँध लगाएर पानी जम्मा गरी तालमा परिणत गरिएको हो।

सिमसारलाई स्थानीयस्तरमा घोल भन्ने चलन छ। पुनर्निर्माणपछि भने यसलाई मिलिजुली ताल नाम दिइएको छ। तालको सरदर गहिराइ डेढ मिटर छ। जैविक बाँध लगाउन स्थानीयले ढुंगा, माटो, बाँस र स्थानीय प्राकृतिक सामग्रीको प्रयोग गर्छन्।

बाह्रैमास पानी रहन थालेपछि ताल गैँडा, गोही, सिमसार चरा र पाहुना चराका लागि विचरण गर्ने गन्तव्य बनेको छ। त्यससँगै वन्यजन्तु र चराचुरुंगी हेर्न आउने पर्यटकको संख्या बढेको सामुदायिक वनका अध्यक्ष मेघनाथ पौडेल बताउँछन्।

मिलिजुली ताल वरिपरि चराचुरुंगी। तस्बिर : करुन देवान

“पानी संकलन हुन्छ, सिमसारले नयाँ जीवन पाउँछ भन्ने सोचेर बनाएका थियौँ,” उनी भन्छन्, “ताल बनेदेखि गैँडा पानी खान आउन थालेका छन्। मगर गोही र पाहुना चरा पनि देखिन थालेका छन्। यसले पर्यापर्यटनको सम्भावना बढाएको छ।”

चितवनको खगेरी जलाधार क्षेत्रमा पर्ने ताल निर्माणका लागि सामुदायिक वन उपभोक्ता समितिले विश्व वन्यजन्तु कोष नेपाल (डब्लूडब्लूएफ नेपाल)ले सञ्चालन गरिरहेको ‘ट्रिपल बेनिफिट प्रोग्राम– टीबीपी’ सँग सहकार्य गरेको छ। कुल लागत आठ लाख ५७ हजार रुपैयाँमध्ये डब्लूडब्लूएफ नेपालको टीबीपीले सात लाख २२ हजार रुपैयाँ बेहोरेको छ। बाँकी रकम उपभोक्ता समितिबाटै जुटाइएको वन उपभोक्ता समितिका अध्यक्ष पौडेल बताउँछन्।

ताल निर्माण, व्यवस्थापन र संरक्षणको सम्पूर्ण प्राविधिक सहयोग डब्लूडब्लूएफ नेपालले गरेको छ। ताल निर्माणका लागि २०८१ सालको ६ वैशाखदेखि ६ जेठसम्म एक महिना लगाएर जैविक बाँध बनाइएको थियो। वर्षाको पानीसमेत संकलन हुन थालेपछि तालको क्षेत्रफल बिस्तारै फराकिलो भयो। डेढ वर्षयता भने वन्यजन्तु नियमित देखिन थालेको पौडेलको भनाइ छ।

मिलिजुली ताल। तस्बिर : विद्या राई

ताल वरिपरिको दृश्य पनि सुन्दर छ। जंगलको बीच भागमा पर्ने तालको अधिकांश भाग सालका ठूला रुखले ढाकेको छ। जलकुम्भीजस्ता मिचाहा प्रजातिका वनस्पति उम्रिने हुँदा सामुदायिक वनका उपभोक्ताले बेलाबेला सफाइ गरिरहन्छन्। उपभोक्ताले कुमाल तालको पनि सफाइ गर्दै संरक्षणलाई निरन्तरता दिएका छन्।

पर्यापर्यटनका गतिविधिलाई प्रोत्साहन गर्न कुमाल तालनजिक आगन्तुक बस्न सोही जंगलमा उपलब्ध काठको उपयोग गरेर तीन तलाको मचान बनाइएको छ।

सिमसार क्षेत्रमा पर्ने ताल, तलैया, पोखरी, नदी, खोला, झरना र धानखेत जैविक विविधता र पारिस्थितिकीय प्रणालीका दृष्टिले महत्त्वपूर्ण मानिन्छन्। अध्ययनहरूका अनुसार सिमसार क्षेत्रले विश्वभर करिब ४० प्रतिशत जीवजन्तु र वनस्पतिका प्रजातिलाई वासस्थान दिँदै आएको छ। सिमसारले विश्वको करिब नौ प्रतिशत र नेपालको झन्डै पाँच प्रतिशत भूभाग ओगटेको छ।

घडियाल गोही। तस्बिर : करुन देवान

तर, पछिल्ला दशकमा जलवायु परिवर्तन, खडेरी, बाह्य मिचाहा प्रजातिको अतिक्रमण, फोहोर तथा दुर्गन्धित पदार्थको मिसावट, सिमसारजन्य स्रोतको अधिक दोहन र संरक्षणको अभावले सिमसार क्षेत्र संकटमा पर्दै गएका छन्।

चितवन राष्ट्रिय निकुञ्जले सन् २०१५ मा प्रकाशन गरेको ‘स्टेटस अफ वेटल्यान्ड्स एन्ड मगर क्रोकोडाइल इन एन्ड अराउन्ड चितवन नेसनल पार्क’ शीर्षकको प्रतिवेदनले माटो थुप्रिएर पुरिने, सुक्खा हुने, घाँसे मैदानमा परिणत हुने र मिचाहा प्रजातिको प्रकोप बढ्ने जोखिमका कारण सिमसार क्षेत्रको अवस्था नाजुक बन्दै गएको देखाएको थियो।

कुमाल ताल। तस्बिर : विद्या राई

प्रतिवेदनअनुसार त्यतिखेर नक्सांकन र सर्वेक्षण गर्दा पहिचान भएका ५८ वटा सिमसारमध्ये पाँच वटा मात्रै उत्कृष्ट अवस्थामा भेटिएका थिए। राम्रो अवस्थाका २०, ठीकै अवस्थाका १९ र खराब अवस्थाका १४ वटा सिमसार क्षेत्रको पहिचान भएको थियो। त्यस्तै, १७ सिमसारको ५० प्रतिशतभन्दा कम क्षेत्रफलमा मात्र खुला रूपमा पानी भेटिएको थियो। अध्ययनमा समावेश ५८ मध्ये ३७ वटा निकुञ्जको भित्री भागमा र २१ वटा निकुञ्जको मध्यवर्ती क्षेत्रमा पहिचान भएका थिए।

पछिल्ला केही वर्षयता मासिँदै गएका सिमसार जगाउन सरकार, साझेदार निकाय र स्थानीय समुदायले सहकार्य गर्दै आएका छन्। डब्लूडब्लूएफ नेपालले प्रकृतिमा आधारित समाधानका उपायमार्फत चितवनको खगेरी र नवलपुरको गिन्द्री जलाधार क्षेत्रमा पर्ने सिमसार क्षेत्र संरक्षण गर्न समुदायलाई सहजीकरण गरेको छ।

मिलिजुली तालको बाँध। तस्बिर : विद्या राई

डब्लूडब्लूएफ नेपालका स्वच्छ जल कार्यक्रम अधिकृत करुण देवानका अनुसार यी दुई जलाधार क्षेत्रमा सन् २०२४ र २०२५ मा आठ वटा पोखरी तथा तालको पुनर्निर्माण र संरक्षण गरिएको छ।

नेपालको करिब ११ प्रतिशत जनसंख्या जीविकोपार्जनका लागि सिमसार क्षेत्रमा प्रत्यक्ष रूपमा निर्भर छ। उनीहरूले सिमसारमा माछापालन, चरन, सिँचाइ वा वनस्पति संकलन जस्ता गतिविधिमार्फत जीविका चलाउँदै आएका छन्।