काठमाडौँ
००:००:००
१६ असार २०८३, मंगलवार

१६ असार २०८३
अ+
अ-

काठमाडौँ। अमेरिकी दूतावासले नेपाल प्रहरी डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिकसम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयरलगायत उपकरण प्रदान गरेको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा मंगलबार ती उपकरण हस्तान्तरण गरिएको हो।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अमेरिकी दूतावासले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि एवं विकासका लागि उन्नत डिजिटल फरेन्सिक उपकरणहरू, विशेष सफ्टवेयर र प्राविधिक सहयोगसमेत प्रदान गर्दै आइरहेको बताए। उनले यस्ता सहयोग दुई देशबीचको विश्वास, मित्रता र साझा प्रतिबद्धताको प्रतिबिम्ब भएको धारणा राखे।

कार्कीले हस्तान्तरण भएका आधुनिक उपकरणले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै यस उपकरणको सहयोगबाट डिजिटल प्रमाणहरूको प्राप्ति, संरक्षण तथा विश्लेषणमा थप स्पष्टता एवं सहजीकरण हुने बताए। यस्ता उपकरणको सहयोगबाट प्रविधिजन्य अपराध अनुसन्धानमा थप मद्दत पुग्ने र आपत्‌कालीन अवस्थामा छिटो-छरितो परिणाम संकलनमा समेत मद्दत पुग्ने उनले विश्वास गरे।

कार्यक्रममा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले हस्तान्तरण गरिएका आधुनिक उपकरणले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवं प्रमाण संकलनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।