काठमाडौँ
००:००:००
१७ असार २०८३, बुधबार

सेयरबजार

हरियाली सेयरबजारमा झन्डै पौने चार अर्बको कारोबार

१७ असार २०८३
अ+
अ-

काठमाडौँ। लगातार सात कारोबार दिनसम्म ओरालो यात्रा तय गरेको नेप्से आज आठौँ दिनमा उकालो लागेको छ। साताको तेस्रो कारोबार दिन आज (बुधबार) भने नेप्से दोहोरो अंकले बढेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ४४.५९ अंकले बढेको हो। नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

नेप्से अघिल्लो साता पूरै पाँच कारोबार दिन घटेको थियो। हिजो (मंगलबार) नेप्से २४.६३ अंकले घटेको थियो भने सोमबार पनि १६.५४ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज १.७० प्रतिशतले बढ्दै नेप्से २६५२.९३ विन्दुमा रोकिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ५.७७ अंकले बढेर ४५८.५७ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा १.२७ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स १.५८ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३३ प्रतिशतले बढेको छ।

सेयरबजारमा बुधबार ३६२ कम्पनीको ५६ हजार ७६९ पटकको कारोबारमा ९५ लाख ३९ हजार ११८ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार तीन अर्ब ८५ करोड ६७ लाख पाँच हजार ८५० रुपैयाँको कारोबार भयो। मंगलबार तीन अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँको कारोबार भएको थियो भने सोमबार दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ रुपैयाँको कारोबार भएको थियो।

सेयर बजारमा आज २५२ कम्पनीका सेयरमूल्य बढे। १७ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा ६ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (बुधबार) १३ समूहको कारोबार भएकामा सबै समूहका सूचक हरियाली बने।

हरियाली बनेको नेप्सेमा बुधबार वाणिज्य बैंक १.१४‚ विकास बैंक १.१५‚ फाइनान्स १.४९‚ होटेल तथा पर्यटन १.६६‚ जलविद्युत् २.४२‚ लगानी १.६५‚ जीवन बिमा १.४८‚ उत्पादन तथा प्रशोधन २.३४ र लघुवित्त समूहको सूचक १.११ प्रतिशतले उकालो लागे। यस्तै म्युचुअल फन्ड ०.५५‚ निर्जीवन बिमा २.०३‚ अन्य १.७६ र व्यापार समूहको उपसूचक २.६० प्रतिशले बढ्यो।

नेप्सेमा बुधबार स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गरे। कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने ५.२१ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंक लिमिटेड अग्रस्थानमा रह्यो। बुधबार यसको २८ करोड ८४ लाख २७ हजार १३३ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज लक्ष्मी सनराइज बैंक लिमिटेड अगाडि रह्यो। बुधबार यसको १३ लाख ४५ हजार ११२ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता २१९ रुपैयाँ कायम रह्यो।