३ मंसिर २०८२
कांग्रेस पार्टी कार्यालय। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका युवा नेताहरुले कांग्रेस सुधार अभियान सुरु गरेका छन्।

नेपाली कांग्रेसमा आस्थावान् ४० वर्षमुनिका युवाले पार्टीभित्र युवाको सम्मानजनक सहभागिता प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै आज (बुधबार) १०१ सदस्यीय कांग्रेस सुधार अभियान केन्द्रीय संयोजन समिति गठन गरेका हुन्।

पार्टीभित्र आमूल सुधार र रूपान्तरणका लागि पार्टीका हरेक तह र पार्टीका तर्फबाट तीनवटै तहमा हुने निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चितताका लागि दबाब दिन संयोजन समिति गठन गरिएको नेपाल विद्यार्थी सङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले जानकारी दिए।

समितिले खबरदारी गर्दै सुशासन कायम गर्न‚ पार्टीका तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेद्वार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’को व्यवस्था गराउनसमेत माग गरेको छ। पाटीभित्र विधानको संशोधन‚ लोकतन्त्रको संरक्षण‚ सम्वर्द्धनका लागि खबरदारी, नयाँ बहस र पैरवीका लागि सुरुआती चरणमा प्रतिनिधिमूलक रुपमा समिति गठन गरिएको रिमालले बताए।