१६ फाल्गुन २०८२
अ+
अ-

काठमाडाैँ। अफगानिस्तानमा गरेको हवाई कारबाहीका विषयमा पाकिस्तानले अन्तर्राष्ट्रिय तहमा समर्थन पाएको छ।

संयुक्त राज्य अमेरिकाले तालिबान आक्रमणविरुद्ध ‘आफ्नो रक्षा गर्ने पाकिस्तानको अधिकार’ लाई समर्थन जनाएको छ। यसले सीमा क्षेत्रमा बढ्दो सैन्य तनावलाई नयाँ कूटनीतिक आयाम दिएको छ।

पाकिस्तानले बिहीबार राति सीमापारबाट भएको आक्रमणको जवाफमा शुक्रबार बिहान अफगानिस्तानभित्र हवाई आक्रमण सुरु गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्रीका अनुसार अपरेसन सुरु भएयता ३७ स्थानलाई हवाई लक्ष्य बनाइएको छ।

प्रधानमन्त्रीका प्रवक्ता मुशर्रफ जैदीले ‘आक्रमणप्रति तत्काल र प्रभावकारी प्रतिक्रिया जारी रहेको’ बताएका छन्। रातभर थप आक्रमण भएको विषयमा स्पष्ट पुष्टि नभए पनि कारबाही जारी रहेको सङ्केत अधिकारीहरूले दिएका छन्।

अमेरिकी राजनीतिक मामिलाकी उपविदेशमन्त्री एलिसन हुकरले आफ्नो पाकिस्तानी समकक्षीसँगको वार्तापछि सामाजिक सञ्जालमार्फत पाकिस्तानको आत्मरक्षाको अधिकारप्रति समर्थन व्यक्त गरेका हुन् । यसैबिच तालिबान सरकारले आतङ्कवादीलाई शरण दिएको आरोप अस्वीकार गर्दै द्वन्द्व समाधानका लागि वार्ताको आह्वान गरेको छ ।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार अफगान सेनाले ५५ पाकिस्तानी सैनिक मारेको र अन्यलाई पक्राउ गरेको दाबी गरेका छन् भने १३ अफगान सैनिकको मृत्यु भएको बताएका छन्।

पाकिस्तानतर्फबाट २९७ अफगान तालिबान लडाकू मारिएको दाबी गरिएको छ। यसअघि इस्लामाबादले आफ्ना १२ सैनिक मारिएको जनाएको थियो। अफगान उपप्रवक्ता हमदुल्ला फित्रतले खोस्त र पक्तिका प्रान्तमा कम्तीमा १९ सर्वसाधारण मारिएको बताएका छन्। दुवै पक्षका दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।

विश्लेषकहरूका अनुसार यसपटक पाकिस्तानले पहिलोपटक अफगान सरकारी संरचनामै हवाई आक्रमण केन्द्रित गरेको देखिएको छ, जुन अघिल्ला कारबाहीभन्दा कडा परिवर्तन हो। दुई देशबिचको सम्बन्ध पछिल्ला महिनामा तीव्र रूपमा बिग्रिएको छ। अक्टोबरको झडपमा ७० भन्दा बढीको ज्यान गएपछि सीमा नाका प्रायः बन्द अवस्थामा छन्।

इस्लामाबादले तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) जस्ता समूहहरूलाई नियन्त्रण गर्न काबुल असफल भएको आरोप लगाउँदै आएको छ, जसलाई तालिबानले अस्वीकार गरेको छ। जैदीले सीमा क्षेत्रमा राति ठूलो झडप नभए पनि खोस्त नजिकै पाकिस्तानी चौकीमा आक्रमण भएको जानकारी दिएका छन्।

तनाव बढेसँगै चीन, बेलायत, संयुक्त राष्ट्रसङ्घ, रेडक्रस, इरान, साउदी अरेबिया र कतारले संयमता र वार्तामा फर्कन आह्वान गरेका छन्। जेनेभामा रेडक्रस प्रमुख मिर्जाना स्पोल्जारिकले मानवीय सहायता तयारी अवस्थामा रहेको तर दीर्घकालीन समाधानका लागि राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताएका छन्।

गत वर्ष कतार र टर्कीको मध्यस्थतामा भएको युद्धविराम दीर्घकालीन शान्तिमा परिणत हुन सकेको थिएन। हालको घटनाक्रमले दुई छिमेकीबिचको अविश्वास अझ गहिरिएको सङ्केत गरेको छ। यसको प्रभाव क्षेत्रीय स्थिरतामा पर्ने चिन्ता बढेको छ।