काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं ।अमेरिका र इजरायलले संयुक्त रूपमा दक्षिणी इरानको मिनाबस्थित एक विद्यालयमा गरेको भनिएको मिसाइल आक्रमणमा कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन्। इरानभर भएका हवाई आक्रमणमा मृत्यु हुनेको संख्या २०१ पुगेको र ७४७ जना घाइते भएको बताइएको छ।

इरानका राष्ट्रपति मोसुद पेजेस्कियानले घटनालाई ‘जंगली कार्य’ भनेका छन्। इजरायल र अमेरिकाबाट भने विद्यालयमा आक्रमण भएको विषय पुष्टि भएको छैन । उक्त विद्यालय इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) को क्याम्पबाट करिब ६०० मिटर नजिकै पर्दछ । आईआरजीसी क्याम्प इजरायल र अमेरिकाको आक्रमणको निशाना बनेको थियो ।

बीबीसीले विस्फोटपछिको अवस्थासम्बन्धी केही भिडियो क्लिपहरू प्रमाणीकरण गरेको जनाएको छ, जसमा एक भवनबाट धुवाँ उडिरहेको, वरिपरि मानिसहरूको भीड लागेको र चिच्याइरहेको सुनिन्छ ।

तर मृतकको संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न भने नसकेको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई प्राय: इरानमा भिसा नदिइने भएकाले त्यहाँ तथ्य संकलन गर्न कठिन हुने गर्दछ ।

घटनापछि इरानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरेका छन् । विदेशमा बस्ने र इरानमाथि सैनिक हस्तक्षेपको विरोध गर्ने एक इरानीले लेखेका छन्, ‘यस युद्धका पहिलो पीडित मिनाबका ४० बालिकाहरू हुन्, जो मिसाइल आक्रमणमा परे । के तपाईंहरूले समर्थन गरेको युद्ध यही हो ?’

तर इरानी शासनप्रति गहिरो अविश्वास रहेकाले धेरैलाई सरकारी विवरण स्वीकार गर्न गाह्रो भएको छ, र केहीले सीधै शासनलाई नै दोष दिएका छन् ।