काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहको तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्य, प्रदेश महामन्त्री, जिल्ला सभापति तथा विभिन्न तहका नेताहरूले आफ्नो धारणा राखेका छन्।
संस्थापन इतर समूहका नेता मीन विश्वकर्माका अनुसार बैठकमा सहभागी अधिकांश नेताहरूले पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। क्रियाशील सदस्यताको अद्यावधिक प्रक्रिया सहमतिका आधारमा टुंग्याएर नियमित महाधिवेशनको बाटो खुलाउनुपर्ने धारणा बैठकमा व्यक्त भएको उनले बताए।
नेता विश्वकर्माका अनुसार सहमति हुन नसके वैकल्पिक विकल्पबारे पनि छलफल गर्नुपर्ने आवाज बैठकमा उठेको छ।
त्यसैगरी पार्टीको आन्तरिक विषयसँगै मुलुकको लोकतान्त्रिक प्रणाली, विधिको शासन, संवैधानिक निकायहरूको स्वतन्त्रता तथा संसद्को भूमिकामाथि देखिएका चुनौतीबारे पनि बैठकमा गम्भीर छलफल भएको उनले जानकारी दिए।