काठमाडौँ। प्रतिनिधिसभामा गत १७ जेठमा उत्पन्न परिस्थितिबारे अध्ययन गरी तयार गरिएको प्रतिवेदन सभामुख डोलप्रसाद अर्यालसमक्ष पेस गरिएको छ। सभामुखले पनि प्रतिवेदन अध्ययनपछि कार्यान्वयनका लागि संसद् सचिवालयलाई निर्देशन दिइसकेका छन्।
संघीय संसद् सचिवालयद्वारा बुधबार जारी विज्ञप्तिअनुसार प्रतिनिधिसभाको १७ जेठको बैठकमा उठेका विषयका सम्बन्धमा आवश्यक छानबिन तथा अध्ययन गर्न समिति गठन गरिएको थियो। समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएअनुसार निर्धारित समयमै अध्ययन सम्पन्न गरी २५ जेठमा सभामुखसमक्ष प्रतिवेदन बुझाएको थियो।
समितिमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा संघीय संसद् सचिवालयअन्तर्गत आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा र प्रविधि व्यवस्थापन महाशाखाका प्रमुखहरू सदस्य थिए।
सचिवालयका अनुसार सभामुखबाट प्रतिवेदन अध्ययनपश्चात आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई निर्देशनसमेत प्राप्त भइसकेको विज्ञप्तिमा उल्लेख छ। सोहीअनुसार आगामी प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ।
