काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

१६ फाल्गुन २०८२
अ+
अ-

बारा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस सबै जातजातिको साझा पार्टी भएकाले अहिले अवसर नपाएका स्थानीय समुदायले आउने स्थानीय र प्रदेश चुनावमा मौका पाउने बताएका छन्।

बाराको कोल्हबी नगरपालिकामा शनिबार आयोजित बारा क्षेत्र नम्बर-१ स्तरीय चुनावी सभामा उनले अवसर नपाएका स्थानीय समुदायले स्थानीय र प्रदेशमा पाउने बताए।

“कांग्रेस सबै जातजातिको साझा पार्टी हो। उहाँहरूले जहाँ जहाँ अन्याय महसुस गर्नुभएको छ भन्ने लागेको छ अब आउने स्थानीय र प्रदेश सभाको चुनावमा अवसर पाउनुहुन्छ। यहाँ साथीहरूले सबैलाई मिलाएर लैजान आग्रह गर्न चाहन्छु,” उनले भने, “हामीले आज केही कमजोरी भएको छ भने प्रदेशको चुनावमा सच्याउने काम हामी गर्छौं। कुनै समुदायले अन्याय महसुस गरेको छ भने त्यसको क्षतिपूर्ति अर्को चुनावबाट गर्छौं।”

सभापति थापाले २१ फागुनको चुनावमा कुनै साथीहरूले गडबड नगरीकन सबै एक भएर कांग्रेसलाई मत हाल्नुपर्नेमा जोड दिए। उनले पाँच वर्ष नेपालमा विकासको ग्यारेन्टी, पाँच वर्ष सुधारको ग्यारेन्टी र गतिमा हिँड्ने ग्यारेन्टी कांग्रेसले लिएको बताए।

उनले भने‚ “यो पाँच वर्ष नेपालमा अब दुर्घटना हुँदैन। हामी हुन दिन्नौँ। हामी सम्हाल्छौँ। कुनै दुर्घटना हुन दिन्नौँ, द्वन्द्व हुन दिन्नौँ। न जातका नाममा, न धर्मका नाममा, न मधेस पहाडका नाममा, न हुने खाने र हुँदा खानेका नाममा कांग्रेसको सरकार गतिमा हिँड्छ।”

उनले उत्तेजनामा नबहकीकन र सबैलाई सम्हालेर लिएर गएर अगाडि खेर गएको समयलाई पनि सदुपयोग गरेर काम गर्ने वाचासमेत गरे।

“कांग्रेसले अब पाँच वर्षको सरकार बनाउँछ नेपाललाई स्थायित्व, विकास र सुशासनको दिशामा अगाडि बढाउँछ,” उनले भने।