१६ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि चुनावी खर्चको पारदर्शिता सुनिश्चित गर्न निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालनको व्यवस्था गरेको छ ।

आयोगले जारी गरेको कार्यविधिअनुसार राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसारका लागि लिने आर्थिक सहयोग र खर्च सोही खातामार्फत गर्नुपर्ने व्यवस्था गरेको छ ।

आयोगले अद्यावधिक विवरणअनुसार ११ राजनीतिक दल र एक हजार ६७० उम्मेदवारले बैंक खाता खोलेको र सम्बन्धित कार्यालयमा जानकारी गराएको जनाएको छ । यस व्यवस्थाले चुनावी खर्चको निगरानी गर्न र निर्वाचन कानुनले तोकेको खर्चको सीमा पालनामा सहयोग पुर्‍याउने आयोगको विश्वास रहेको छ ।

यसैबीच, निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ अनुसार राजनीतिक दल र उम्मेदवारहरूले आफ्नो घोषणापत्र सार्वजनिक गरी आयोग र सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था पनि लागू गरिएको छ। हालसम्म ४३ वटा राजनीतिक दलले आफ्नो घोषणापत्र सार्वजनिक गरी आयोगमा जानकारी गराएको आयोगले जानकारी दिएको छ ।