१६ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण तयारी र सुरक्षाका हिसाबले निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण देखिएको जनाएका छन्।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक), गैरसरकारी संस्था महासंघ नेपाल (गैसस) र निर्वाचन पर्यवेक्षक समिति नेपाल (इओक)ले शनिबार पत्रकार सम्मेलनमार्फत सिंगो देश निर्वाचन उत्सवका लागि तयार रहेको जनाएका हुन्।

ती संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ‚ “राजनीतिक दल र उम्मेदवारका तर्फबाट निर्वाचन प्रचार-प्रसार उल्लासपूर्ण रूपमा सञ्चालन भइरहेको छ।”

देश निर्वाचन उत्सवका लागि तयार भएसँगै मतदाता पनि देश-विदेशबाट आ-आफ्नो मतदान केन्द्र पुग्ने क्रम चलिरहेको जनाउँदै पर्यवेक्षक संस्थाहरूले निर्वाचन लोकतान्त्रिक प्रणालीको आधारस्तम्भ भएकाले यसलाई सफल तुल्याउन आह्वान गरेका छन्।

आचारसंहिता उल्लंघन : आठ जनालाई कारबाही‚ ९४ जनालाई स्पष्टीकरण

नियोकका अध्यक्ष गोपालकृष्ण शिवाकोटी, जियोक महासविच कृष्णमान प्रधान, महासंघका अध्यक्ष अर्जुन भट्टराई र इओक अध्यक्ष श्रीकृष्ण सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ‚ “हामी सबै जुटौँ, ऐतिहासिक निर्वाचन उत्सवलाई सफल पारौँ।”

उनीहरूले यही २१ फागुनमा हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनु सबैको साझा जिम्मेवारी भएकाले उत्साहपूर्वक सहभागी हुन र आ-आफ्नो सहयोग पुर्‍याउन अपिल गरेका छन्।