काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले इटालियन प्रशिक्षक गुग्लिएलमो एरिनालाई नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
एन्फाका महासचिव किरण राईले आज (शुक्रबार) एरिनालाई नियुक्तिपत्र प्रदान गरे। उनी दुई साताअघि नै नेपाल आएका थिए। स्विट्जरल्यान्डमा जन्मिएका एरिना इटालियन नागरिक हुन्। एएफसी प्रो-लाइसेन्स प्रशिक्षक उनीसँग चार महादेशका विभिन्न क्लब अनि राष्ट्रिय टोली सम्हालेको अनुभव छ । उनले पछिल्लोपटक लाओसको सिनियर र युवा राष्ट्रिय फुटबल टोली सम्हालेका थिए।
एरिनाको नेतृत्वमा पहिलोपटक नेपालले यही १२ चैतमा हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलका लागि लाओसको भ्रमण गर्नेछ। एरेनालाई एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो।
प्रशिक्षक एरिनाले नेपाली खेलाडीमा क्षमता रहेको र राम्रा खेलाडीको सङ्ख्या बढाउने उद्देश्य रहेको उल्लेख गरे।