काठमाडौँ। सर्वाेच्च अदालतले किशोरी साह ‘कमल’को मुद्दामा १ चैतमा सुनुवाइ गर्ने भएको छ।
शुक्रबार न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा हेर्न नमिल्नेमा परेपछि १ चैतलाई पेशी तोकिएको हो। यसअघि २८ फागुनमा न्यायाधीश सुवेदीको एकल इजलासबाट साहको मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेकी थिइन्। शुक्रबार फेरी उनकै इजलासमा सुनुवाइ परेपछि हेर्न नमिल्ने भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए ।
धनुषा-१ का उम्मेदवार साहको कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि साहले कर्जा सूचना केन्द्रलाई विपक्षी बनाएर मुद्धा दायर गरेका थिए।
धनुषा क्षेत्र नम्बर १ मा मतगणनाको क्रममा उम्मेदवारी खारेज भएका किशोरीकै पक्षमा मत आएको थियो। साहलाई अत्याधिक मत प्राप्त भएपनि साहको उम्मेदवारी नै खारेज भएको अवस्थामा निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मात्रिका यादव निर्वाचित भएको घोषणा गरिसकेको छ।