काठमाडौँ। सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ।
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौँको माइतीघरमा खबरदारी सभासहित विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरूले संसद्मा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका थिए। साथै उनीहरूले नेपाली माटोको रक्षा गरौँ, राष्ट्रको सम्मान जोगाऔँ, गैरजिम्मेवारी अभिव्यक्तिको विरोध गरौँलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

त्यस क्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमाका विषयमा प्रधानमन्त्रीले सदनमा गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए। उनले हरेक देशको सीमा समस्या रहेको भन्दै सीमा समस्या र सीमा मिच्ने विषय फरक भएको उल्लेख गरे।
उनले सदनमा आफूहरूले राख्दै आएको अडान कायमै रहनेसमेत बताए।