अनुभूति

दमौलीको दुर्व्यसनमा संगीतको हस्तक्षेप

३० जेष्ठ २०८३
सिरेनिटी क्याफे। तस्बिर : गणेश खनियाँ
अ+
अ-

दमौली बजारमा एउटा बाटोको नाम छ– सफा सडक मार्ग। व्यास नगरपालिकाछेवैको यो मार्ग नाम जति सफा भने छैन। नगरपालिकाको नाभिमा रहेको यो मार्ग सिधै ठोक्किन पुग्छ दमौलीको जिल्ला प्रशासन कार्यालयसँग। बगलमै छ, ठूलो चौर र चौतारी जुन अनशन चौतारीका रूपमा परिचित छ। अनौठो छैन त यो नाम? हरेक प्रकारका अनशन, धर्ना, जुलुस, मागदाबी, र्‍यालीको साक्षी बनेकै वर्षौं भयो यो चौतारी।

अनशन चौतारीको अगाडि एउटा क्याफे छ जसको थाप्लोमा अंकित छ– ‘सिरेनिटी क्याफे’। अर्थात् शान्त क्याफे। हल्लाखल्ला र शक्ति प्रदर्शन हुने ठाउँ नजिकै अवस्थित शान्त क्याफे। कोलाहलमाझ अमिल्दो पाराले उभिरहेझैँ लाग्ने सिरेनिटी नाम सुनेर कतै तपाईं पनि मथिंगल मन्थन गर्न थाल्नुभयो कि?

पहिलो प्रवेश

एकछिन कल्पना गर्नोस्– तपाईं यही पहाडी सहरको स्थानीयवासी हो। लखरलखर यताउति डुलिरहँदा पनि समय कटिरहेको छैन। यही चौतारीका झाँकी, रामरमाइलोमा भुल्दै नजिकैको वरको फेदीमा टुसुक्क बस्नुहुन्छ। मध्याह्नको घामको रापले तपाईंलाई तिर्खा लाग्दै छ, अब पछाडि भिरेको ‘रकस्याक’ खोलेर राख्नुहुन्छ। जुनारका केस्रा छोडाउँदै प्यास मेटाउन तल्लीन छन् तपाईंका हातहरू। सँगसँगै चलायमान छन् तपाईंका नजरद्वय, र नजिकै चलिरहेका गतिविधिमा आँखा डुलाउँदै सुस्ताउँदै हुनुहुन्छ तपाईं।

अब तपाईं सिरेनिटी क्याफे छिर्नुहुन्छ। अग्रभागका फूल बिरुवाले तपाईंलाई स्वागत गर्छन्। भित्री भागले थप आकर्षित गर्छ, जब तपाईं बस्ने सोफादेखि भित्तामा यत्रतत्र गितारैगितार देख्नुहुन्छ। कुनै एउटा गितार समाएर मनमाफिक बजाउन स्वतन्त्र हुनुहुन्छ। दीपेश र अमृतको अपनत्वको गाढा रंग घोलिएको कफीपान गर्दै संगीतको मजा लिन सक्नुहुन्छ। निःशुल्क उपलब्ध छ तपाईंलाई यो संगीतपान, छैन कुनै ‘स्वर्णिम कर’, माफ गर्नोस् संगीत कर।

सिरेनिटी क्याफेमा लेखक (दायाँबाट दोस्रो )। तस्बिर : गणेश खनियाँ

क्याफेका भित्ता र सिलिङले तपाईंलाई एकैछिन झस्काउन सक्छन्। हैन कहाँ छिरेँ भन्ने खालको विस्मयमा। किनकि, त्यहाँ अनेकन् कलात्मक चिजको संगम भेटिन्छ। बिल्कुल एक जीवन्त कला संग्रहालयसरि। भित्तामा गितारहरूकै लहरमा सारंगी झुन्ड्याइएका छन्। सारंगीमा निचोरिएर गाथा बनी पोखिएका बग्रेल्ती धुन सवार हुन थाल्छन् तपाईंको मनमस्तिष्कमा। झलकमान गन्धर्वको ‘हे बरै’ को सुस्केराले तपाईंलाई अतीतमुखी बनाउन सक्छ। अथवा, समकालीन पूर्णबहादुरको सारंगी चलचित्रको ‘इस्टकोट आफ्नै काटी छोरालाई भोटो’ गुनगुनाउन पनि सक्नुहुन्छ। मौरीको चाका, पुरानो क्यासेट प्लेयर, अनेकन् हातेचित्र तथा विख्यात संगीतकर्मीका तस्बिरले तपाईंलाई समयको अर्कै संसारमा पुर्‍याउँछन्। अब सोचमग्न हुने पालो तपाईंको– ५० वर्षपहिलेको समयचित्र त कैद छैन यस कफी–आलयमा, अहिले?

अमृतको कोभिडकालीन सुरुआत रहेछ यो क्याफे। दिलदार अनि मन्द मुस्कानधारी अमृत जसै छिर्छन्, उनी ग्राहकको विशेष खातिरमा जुटिहाल्छन्। तपाईंसँग बातचित गर्छन्, अलिक हिमचिम बढ्यो भने ठट्टामजाक पनि। उनै अमृतको नजरमा दाखिल भएँ एक अपराह्न म पनि। मेरो हातमा थियो इटालीका लेखक इटालो काल्भिनोको गैरआख्यान द रिटर्न वर्ल्ड  एन्ड द अनरिटर्न वर्ल्ड। ‘दाइको राम्रो फोटो निकाल् त केटा, किताब समेत राखेर,’ उनी दीपेशलाई भन्दै थिए।

दुई घन्टाको बसाइमा दुई डोज कफी उदरस्थ गरेँ मैले; ‘अमृत अफर’ नाम दिन सक्नुहुन्छ तपाईं यसलाई। किनकि, ज्यान जाला पैसा लिन्नँ भनेर अड्डी कसिरहे उनै अमृतले। यस क्याफेमा तपाईं चाहे जति बस्नोस्, गितार बजाउनोस्, गीत गाउनोस्, ‘ह्विसेलिङ ट्युन’ रन्काउनोस्, टेबल ठोक्नोस्, चुरोट तान्नोस्, बेफिक्री धुवाँ उडाउनोस्, कुनै समस्या छैन।

दोस्रो प्रवेश

३१ डिसेम्बर २०२५। साँझको साढे ७ बजेको छ, पहाडी बजारमा यतिखेर सडकमा मान्छेको आवतजावत निकै कम भइसकेको छ। केही पब, क्याफे र रेस्टुराँ मात्र खुला छन्, अनि केही भट्टी र पान पसल।

सिरेनिटी क्याफेका दीपेश भाइले काउन्टरबाटै देख्छन्। वेलकम ब्याक– स्वागतको हाते संकेतलाई स्वरको उत्साहले मोहक बनाउँछ। भकभक उम्लेको पानी भरिएका दुइटा गिलास टेबलमा राखेर मुस्काउँदै भन्छन्, ‘पानी पिउँदै गर्नुस् न। म कफी बनाउँछु।’

उता अमृतका औँला क्याफेको अग्रभागको टेबलमा गितारका कर्ड खेलाउन व्यस्त छन्। अमृतसँगै लमजुङ, खुदीका पवन श्रेष्ठ संगीत अभ्यास गरिरहेका छन्। हामी छिर्नासाथ अमृतले आँखाकै इसाराले स्वागत गरेका थिए। एकैछिनमा नजिकै मिष्ठान्न भण्डार चलाइरहेका जनकपुर घर भएका ज्याकी र उनका साथी आयुषको आगमन हुन्छ। कफीको चुस्की र चुरोटको धुवाँको ककटेल स्वादमा मग्न रहे उनीहरू केहीबेर।

मानिसबिचका चिनजान, परिचय, सम्बन्ध, आत्मीय पनि खहरे, खोला हुँदै नदी, सागरको प्रगाढतामा पुग्छ कतै। कतै भने भँगालो बनी टुट्छ। छुट्टिन्छ, चाँडै।

अमृत संगीत अभ्यास सकेर नमस्कार भन्दै हामीछेउ आए। मैले पाउलो कोहेलोको दी अल्केमिस्ट र एच जी वेल्सको द टाइम मेसिन अमृतलाई हस्तान्तरण गरेँ। हर्षित, विस्मित दुवै थिए उनी। स्पेसल केही दिएको त होइन, तर टाउकामा दुई हात पुर्‍याए र नसोचेको कुरा भएझैँ; पत्यार नलागेझैँ घरीघरी मुन्टो हल्लाइबसे। अल्पभाषी उनी शारीरिक हाउभाउबाटै धेरैजसो संवाद गर्छन्। शालीन र हल्का रहस्यमयी अमृत फेरि पवनछेउ पुग्छन्, पूर्ववत् गितार समाउँछन्। उनीहरूको जुगलबन्दी चालु हुन्छ। हाम्रो सामु ‘अमेरिकानो’ उपस्थित हुन्छ। ‘चियर्स’ को संकेतमा अमृत गितार हल्का उठाउँछन् र फेरि व्यस्त हुन्छन्।

कफी बनाइरहेका लक्ष्मण अलिक लजालु छन्। परैबाट ‘ग्रिट’ गरे। घर जान ढिला भएकाले एकैछिनमा ‘बाई’ भन्दै स्कुटर स्टार्ट गरे। हाम्रो ठिक अगाडिको टेबलमा थिइन् जोया। अहिलेसम्म कमै बोलेकी जोया बिस्तारै कुराकानीमा मिसिइन्। मानिसबिचका चिनजान, परिचय, सम्बन्ध, आत्मीय पनि खहरे, खोला हुँदै नदी, सागरको प्रगाढतामा पुग्छ कतै। कतै भने भँगालो बनी टुट्छ। छुट्टिन्छ, चाँडै।

साढे ९ बजेको संकेत गर्‍यो भित्ताको घडीले। चिसो छिप्पिएको जाँड जस्तै कडक बन्दै थियो। अमृतको क्याफे ब्यान्ड पनि बन्दको तयारीमा देखिन्थ्यो। अब २०२५ को अन्तिम साँझलाई यादगार फोटो फ्रेममा कैद गर्न हामी सातै जना जुर्मुरायौँ। सालको समापनस्वरूप कफीको अन्तिम घुड्को पियौँ र नीरव सहरको बिचोबिच पाइला चाल्दा भयौँ।

तेस्रो प्रवेश

कुनै मान्छेले एउटै नदीमा दुई पटक फाल हाल्न सम्भव छैन। (हेराक्लिटस)

तेस्रो पटक सिरेनिटी क्याफेमा प्रविष्ट भइरहँदा त्यहाँ अघिल्ला दिनभन्दा भिन्न परिदृश्य देखिन्थ्यो। हेराक्लिटसले भनेझैँ मान्छे र परिवेश बदलिने भइगयो, हरेक नयाँ समयमा। अनशन चौतारीको बगलको खुला चौरमा माघे संक्रान्तिको मेला लागिरहेको थियो। गीत-संगीत चलिरहेको थियो, ठूलो आवाज घरीघरी कर्कश सुनिन्थ्यो। सिरेनिटीको शान्तिमाथि अझ कडा चुनौती थपिएको थियो।

एकजोडी थिए कफी पिउन व्यस्त, आआफ्नै मोबाइलमा मस्त। डेटिङको ढाँचा बदलिएको भनक सजिलै मिल्थ्यो। अनि अर्को समूह थियो अगाडिको टेबलमा। तीन युवामध्ये दुई जना संगीतमा झुमेका थिए, गितारको साथमा। एक जना बजाउने; अर्को चाहिँ ‘सिमुलेसन’ गर्ने। अर्थात् हातका औँलाहरू चलाएर गितार बजाएझैँ गर्ने। अर्का साथी थपडी बजाउँदै साथ दिन्थे, मोबाइल चलाउँथे एकछिनमा अनि ‘भेप’ तान्थे उत्तिखेरै।

सिरेनिटी क्याफे। तस्बिर : गणेश खनियाँ

पोर्चुगलमा कार्यरत यो समूह अहिले बिदामा रहेछ, हल्का ‘चिल’ देको नि अंकल भन्थे उनीहरू। अघिल्लो पटक भेटिएका दुई बन्धु ज्याकी र आयुषको आगमनले आनन्दित भएँ म। चुरोटको सर्कोसँगै गफको लर्को तानियो। केहीबेरपछि भित्रिए वसन्त खनाल। ‘गुणादी हो मेरो घर, दमौलीबाट अलिक पर। भर्खर पोखराबाट आको। कफी नखाई के जानु भनेर छिरेको,’ उनी बोलिरहे। क्याफेका भाइहरू अमृत र दीपेशले वसन्त गजल्ची हो भन्थे। आज सुनियो उनका दुईथान गजल।

दिलमा बस्ने गर्थ्यो कुनैदिन एक बुझ्दिल मान्छे।
दिलको गरेर हत्या ऊ एकदिन फरार भेटियो।।
यी आँखाले निहारी निहारी के देख्नुपर्छ।
संकटकै बेला कालोबजारी के देख्नुपर्छ।।

वसन्तसँग गफिँदै क्याफेभित्रका हरेक चिजलाई नजिकबाट नियालेँ फेरि। हरेक वस्तु तिनै थिए जो पहिलो प्रवेशमा देखिएका थिए। तर, पनि विशेष लाग्दै थियो मलाई। अझ कलात्मक। क्याफेभित्र फूलबिरुवा, कलाकर्म तथा संगीतको गोचर त्रिभुज संयोजन थियो। छताछुल्ल भएको देखिन्थ्यो कलाका अनेक स्वरूप, प्रत्येक ठाउँमा।

पछिल्लो प्रवेश

यो त्यही सिरेनिटी क्याफेको दृश्य हो जहाँ म थुप्रै पटक पुगेको छु। अब त गन्ती गर्नै छोडिदिएँ। तर, हरेक पटक नयाँ पात्रसँग परिचित भइरहेछु। नयाँ अनुभूति सँगालिरहेछु अनि केही बदलिएर, केही सच्चिएर र सिकेर फर्किरहेछु।

हिजो यहीँ किसनसँग परिचय भयो। उनी कम बोल्छन्, फिस्स हाँस्छन्। अरू दुई त मेरा पुराना परिचित नै हुन्– दीपेश र वसन्त। खुशवन्त सिंहको एउटा किताब छ वसन्तको साथमा– खुशवन्त सिंह अन विमिन, सेक्स, लभ एन्ड लस्ट। उनी त्यही किताबको एक अंश सुनाउँछन्, ‘प्रेमले तड्पाउँछ, सेक्सले आनन्द दिन्छ। कस्तो पात्तेको बुढो रैछ, यो खुशवन्त त भन्नुहोला।’ साँच्चिकै हाकाहाकी लेख्थे उनी, ‘मलाई सबैले घिनलाग्दो बुढो भन्छन्। तर, लुकीलुकी मेरै किताब पढ्छन्।’

मेरी विद्यार्थी सुभानाले यही प्रसंगमा भनेको सम्झेँ– पुरुष भाष्य यही त हो। अनि समस्त फसादको जड पनि।

हामी आफैँलाई ढाँट्न सफल भयौँ भने दुनियाँलाई झुटको मान्द्रोमा मजाले बेर्न सक्छौँ। मायापिरतीको चक्करमा बुढाखाडा त निरन्तर चलायमान छन् भने वसन्त किन नहुने? वसन्तले पनि साँचो कुरा नओकेलेझैँ लाग्यो।

खुशवन्त छोडौँ, बरु फेरि लागौँ उतै सिरेनिटीतर्फ। प्रचण्ड गर्मीको कुनै मध्याह्न अनि तातो कफी। कल्पना बाहिर छ अहिले त। तर, सिरेनिटीमा जाने भनेकै कफी पिउन हो। कफीकै अम्मली हुन् वसन्त पनि। तर, केही हप्ताअघिको अमेरिकानोको डबल डोजले दुई रात निदाउन सकेनन् रे। त्यही भएर हिजोआज कफी छोडेर लस्सीतिर लहसिँदै छन्।

मेरो दिमागमा ‘फिक्सनल प्लट’ खेल्न थाल्छ। वसन्तलाई किन कफीको लामो प्रभाव रहिरह्यो? सम्झन्छु डेभिड स्मिथको निबन्ध ‘न्याचुरल बोर्न लायर्स’। अधिकांश हामी झुट बोल्न अभ्यासरत त छौँ। निबन्धले भनेझैँ हामी आफैँलाई ढाँट्न सफल भयौँ भने दुनियाँलाई झुटको मान्द्रोमा मजाले बेर्न सक्छौँ। मायापिरतीको चक्करमा बुढाखाडा त निरन्तर चलायमान छन् भने वसन्त किन नहुने? वसन्तले पनि साँचो कुरा नओकेलेझैँ लाग्यो। लामो साथसंगत भएकी मायालुसँगको बिछोडको पीडासँग एकाकार पो छन् कि उनी, यतिखेर? त्यही भएर आजभोलि अनिद्राको सिकार भएका हुन् कि? उनका गजलमा गोचर दर्दका दृश्य त्यसै त्यसै खिचिएका होइनन् सायद।

चुँडेर मुटु सिध्याएर नाजुक सास नलैजाऊ।
उनी फुल्दै छिन् त्यसैले त छरिन्छ सुवास नलैजाऊ।।
प्रेम त व्यक्त नभएरै हृदयभरि बाँचिरहन्छ।
ऊ चुँडिँदा कसैका आँखामा निराश नलैजाऊ।।

अक्सर वाचा गर्दा तारा जुन आँगनमै झर्छन्।
ऊ थियो र छ स्वयंको आभास नलैजाऊ।।
ऊ एउटा गुलाफ चुँडेर प्रेम व्यक्त गर्छ।
प्रेम गरिरहन्छ कि ईश्वरको तलास नलैजाऊ।।

दार्शनिक कार्ल युंगले भनिसके–सोचविचार गर्न गाह्रो छ, त्यही भएर अधिकतर मान्छे न्यायाधीश जस्तो व्यवहार गर्छन्। तर, मलाई ‘जजमेन्टल’ बन्नु छैन। गर्मीले असिनपसिन छु, त्यही भएर गर्मीकै कुरा घुमिराछ दिमागमा। उखरमाउलो गर्मीलाई काउन्टर हान्न कोक, पेप्सी, एक्स्ट्रिम मार्काका पेयले मात्र नपुग्ला कि? दही, आइसक्रिम पनि कति खानु? बरु अहिले त मर्स्याङ्दी, दोर्दी, चेपे पाउदीको ढिकतिर पौडिएर शीतल बन्ने समय हो। पौडी खेल्न नजाने व्यास गुफा छेउछाउको छहारीमा लुटपुटिने बेला हो। नभए दुईदिने सरकारी बिदा मनाउँदै भुइँमा चकटी बिछ्याएर पंखाको हावा खाँदै घुर्ने समय हो।

क्याफेको तस्बिर।

त्यही भएर क्याफेको द्वारमा नपुग्दै मेरा पाइला मोडिएका हुन् नजिकैको छहारीमा। टुसुक्क बस्छु सिमेन्टीको बेन्चीमा। मिसिन्छु वरपरको गन्थनमा। अनेक विषय उब्जिन्छन् त्यहाँ। सरकारको हाईहाई गर्नेदेखि भिसा नलागेर दिमाग खराब हुनेसम्म त्यहीँ भेटिन्छन्। एक ठाउँमा बस्दा बस्दा पट्यार लागेर अर्को छेउमा पुग्छु म। वर्ल्डकपको रौनक देखिन्छ केही ठिटाहरूमा। ब्राजिल, स्पेन, फ्रान्स, अर्जेन्टिनाको जर्सीमा छन् उनीहरू।

हन! यत्रो परिवर्तन भयो भन्छ नेपालमा जेन-जीहरूको कारण। विश्वकपमा त उही पुरानै दलको समर्थकको दबदबा देख्छु त।

अमृत भन्छन्– अचाक्ली भो दाइ यहाँ ड्रग्स खानेको। केटाहरू लास्टै बिग्रियो। अन्त थालेको यो क्याफे। म्युजिकले अलिक ‘हिल’ गर्छ कि भनेर।

यसो टोलाउँदै थिएँ, नजिकै एक जना युवती देखा परिन्। मोइ खानुहुन्छ? एकछिन त तर्सिएँ पो। के भन्छ यो नानी? भन्दै झर्किएँ। हैन गर्मी छ यस्तो, मोइ खानोस् भनेको त। ए ए बल्ल बुझेँ। दिनुस् न त दुई बोतल। अनि सिधै लागेँ सिरेनिटीतर्फ। दीपेश र वसन्तको जुगलबन्दी चल्दै रैछ गितारमा। एकछिनमा पसिना पुछ्दै अमृत पनि भित्रिए। मोही हस्तान्तरण गरेँ। बाँडेर पियौँ।

अमृतको ‘इनिसियटिभ’ बारे उल्कै खुल्दुली थियो मलाई। कलात्मक क्याफे थुप्रै देखेकै हो सहरमा। काठमाडौँ जमलमा छ ‘आर्टिस्टिक क्याफे’– थरीथरीका फूल-बिरुवा सजाइएका छन् जहाँ। रङ र ब्रस लिएर रङ पोत्न, कलम लिएर चित्रकला रोगनमा मस्त भेटिन्छन् कोही। रङसँग रोमान्स मिसाइरहेका जेन-जी साथीहरूको उदात्त प्रेम प्रदर्शन पनि निःशुल्क उपलब्ध हुन्छ त्यहाँ, यदाकदा।

केही त किताब क्याफे नै छन् राजधानीमा। अन्य क्याफेमा पनि किताब त सजाइएका हुन्छन् आजकाल, तर व्यवहार भने खाँटी व्यापारी जस्तो भेटिन्छ। छिनछिनमा उपस्थित हुन्छन् सोध्न, के लिनुहुन्छ अब? सोझै निस्किजानोस् नभनेरै बिताइदिने यस्ता ठाउँले किताबी सभ्यताको जग नबस्दै हल्लाइरहेका छन्। यो कोणबाट हेर्दा त यो क्याफेको परिवेश पूरै बिन्दास छ। खानोस्, नखानोस्; सुत्नोस्, घुर्नोस्, केही फरक पर्दैन।

किन त गितार क्याफे? अमृत भन्छन्– अचाक्ली भो दाइ यहाँ ड्रग्स खानेको। केटाहरू लास्टै बिग्रियो। अन्त थालेको यो क्याफे। म्युजिकले अलिक ‘हिल’ गर्छ कि भनेर। केही कुरा राम्रै भइराछ। दार्जिलिङे साथी रञ्‍जनको साथसंगतले उतैको भाका टिप्न थालेका अमृतको यो कुराले साह्रै घत पार्‍यो।

सामाजिक परिवर्तन गराउने हेतुले खोलिएका संघसंस्थाको चर्को कर्कश र प्रचारप्रसारबिच अमृतको यो मौन अभियान ओझेल परेको छ पक्कै। तर, उनलाई छैन केही पर्वाह। निमग्न संगीतको नसामा भुलाइरहेछन् उनी युवाहरूलाई। अनि पर लाँदै छन् उनीहरूलाई, आफैँले वर्षौं पहिले छाडिहिँडेको कुलतको राजमार्गबाट। कोसौँ पर।

पोखरातिर जाँदै हुनुहुन्छ र पायक पर्छ भने तपाईं पनि सिरेनिटीको अतिथि बन्न सक्नुहुन्छ! संगीतपानको निम्तो बाँडी पठाएँ।