काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

भाषा

भाषाको मौलिक रूप जोगाइरहने उपायमध्ये एउटा -ए  प्रत्ययको सक्दो बढी प्रयोग गरौँ भन्ने हो। त्यसका लागि एउटा पूर्वसर्त, व्यक्तिवाचक नाममा बाहेक -ए  प्रत्यय हेयार्थक हो भन्ने भ्रम हटाउनुपर्छ। यसो गर्‍यौँ भने मण्डले, कुन्डले, मुन्द्रे, झोले, बन्दुके, लठ्ठे, खाते, भत्ते जस्ता अनगिन्ती शब्द सामान्य अर्थमा प्रयोग गर्न सकिन्छ र मौलिक शब्दभण्डार बढाउन सकिन्छ।

अ+
अ-

शीर्षक देखेर रिस उठ्यो होला, एकछिन पर्खनुस्।

हिमाल एसोसिएसनले हालै मानक नेपाली शब्दकोश किन चाहिन्छ र कस्तो हुनुपर्छ भन्ने विषयमा एउटा छलफल कार्यक्रम आयोजना गर्‍यो। उक्त छलफलमा सञ्चारमाध्यममा सम्पादन कर्ममा सक्रिय केही पत्रकार, पुस्तक प्रकाशनगृहका सम्पादक र लेखकको सहभागिता थियो। छलफल व्यवस्थित पार्न प्रज्ञा नेपाली बृहत् शब्दकोशबाट केही उदाहरण लिएर ती किन मानक शब्दकोशका लागि उपयुक्त प्रविष्टि होइनन् भन्ने कुरा प्रस्ट पार्ने जिम्मा मलाई दिइएको थियो।

अर्को प्रस्तोता भिक्टर प्रधान हुनुहुन्थ्यो। उहाँको जिम्मामा मानक शब्दकोश किन चाहिन्छ भन्ने सन्दर्भमा नेपाल प्रज्ञा-प्रतिष्ठानका यसअघिका शब्दकोशहरूको जानकारीसहित पृष्ठभूमि तयार पार्ने काम थियो। त्यस शब्दकोशमा भएका राम्रा कुरा मानक शब्दकोशमा हुनै पर्ने कुरा हुन्, ती विशेष उपलब्धि होइनन्। त्यसमा भएका कमजोरी भने मानक शब्दकोशमा हुनै नहुने कुरा भएको हुनाले त्यस्ता कमजोरी सुधार हुनुपर्छ भन्ने छलफलका आयोजकको दृष्टिकोण थियो। यसैले छलफल त्यस शब्दकोशका कमजोरीमा केन्द्रित थियो।

मैले आफ्नो कुरा राख्न थालेपछि कार्यक्रम सञ्चालन गरिरहेका वसन्त थापाले शब्दकोशको सम्पादक मण्डलमा उल्लेख भएका नाम उपाधिसहित पढ्दै यत्रा यत्रा विद्वान् प्राज्ञले सम्पादन गरेको शब्दकोशमा कसरी यस्ता कमजोरी हुन्छन् र भन्नुभयो। यही प्रसंगमा मैले त्यहाँ माथि माथि नाम भएका विद्वान्‌ भत्ते प्राज्ञ मात्र हुन्, त्यसको खास सम्पादक सबै भन्दा तल नाम हुने विद्वान् हुन्, ती खास सम्पादकलाई चाहिँ यो शब्दकोशको सम्पादन गर्न चाहिने पर्याप्त समय भएन, सायद उनलाई प्राप्त समयभित्र त उनले सबै प्रविष्टि पढ्न मात्र पनि पाएनन् होला भनेँ।

कुरा त्यतिमै टुंगिएन। पछि एक सहभागीले नै प्राज्ञलाई ‘भत्ते’ भन्नु अपमानजनक भएन र भन्ने प्रश्न उठाउनुभयो। त्यसको जवाफ दिन मसँग अलि पहिलाको एउटा घटना थियो, सायद २०७० सालभन्दा केही अघिको होला। त्रिभुवन विश्वविद्यालयले आइन्दा शिक्षक-कर्मचारीको तलब नगद नदिई उनीहरूको आफ्नै बैंक खातामा पठाउने नीति लियो। त्यस बेलासम्म मेरो बैंक खाता थिएन, तलब लिएर खल्तीमा राख्ने र त्यसबाटै महिनाभरिको खर्च चलाउने गर्थें। मेरो त्यो स्थितिबारे भन्न उपयुक्त शब्द ‘गोजे’ होला ‘गोजी वा खल्तीमा पैसा राखेर त्यसैबाट व्यवस्थापन गर्ने’ भन्ने अर्थमा, अर्घाखाँचीतिर प्रचलित शब्द ‘गोँजे’ भने होइन।

बैंक खाता अनिवार्य भएपछि मैले पनि खाता खोलेँ। त्यसपछि लेखा शाखामा गएँ र लेखाका कर्मचारीलाई ‘अब म खाते भएँ मेरो खातामा तलब पठाइदिनु’ भनेँ। मैले यो घटना सुनाउँदै नेपालीमा -ए  प्रत्यय जोडेर विशेषण बनाउन मिल्छ, त्यसैले खाता हुनेलाई खाते र भत्ता लिनेलाई भत्ते भन्नु अपमानजनक प्रयोग होइन भनेँ। लेखको शीर्षकको पृष्ठभूमि हो यो।

यहाँ दुई विषयमा कुरा गर्नु छ– (१) नेपाल प्रज्ञा-प्रतिष्ठानका नेपाली शब्दकोशमा सम्पादक मण्डलमा नाम उल्लेख भएका विद्वान्‌को त्यस शब्दकोशको सम्पादनमा भूमिका कस्तो हुन्छ भन्ने, र (२) नेपाली भाषा संस्कृत जस्तो भयो, हिन्दी जस्तो भयो, अंग्रेजीले नेपालीलाई सक्ने भयो भन्ने जस्ता ‘भाषाप्रेमी’ गनगनका सन्दर्भमा खाते, भत्ते, झोले, दर्ते, चुल्ठे, ठुटे, बन्दुके, धुले जस्ता नेपाली शब्द निर्माण प्रक्रियाबाटै बन्ने सजिला विशेषण शब्दलाई हेयार्थ (अपमानजनक अर्थ)मा होइन सामान्य अर्थमै प्रयोग गरेर सजिलो र नेपाली जस्तै बनाउन किन नथाल्ने भन्ने।

भत्ते प्राज्ञ

नेपाल प्रज्ञा-प्रतिष्ठानका केही प्राज्ञिक कर्ममा बाहिरबाटै बेलाबेला संलग्न हुने अवसर पाएको छु। यस क्रममा त्यहाँभित्र देखेको एउटा प्रक्रिया कस्तो छ भने कुनै काम गर्न समिति बनाउने र त्यसका सदस्यलाई पारिश्रमिक बैठक भत्ताका रूपमा दिने। यस्तो बैठक भत्ता प्राज्ञ परिषद्का सदस्यले भने लिँदैनन्। प्राज्ञ सभाका सदस्य, पहिलेका प्राज्ञ परिषद्का सदस्य र बाहिरबाट निम्त्याइएका सबैलाई दिने भनेको यही पारिश्रमिक भत्ता हो। स्रोतमै १५ प्रतिशत कर काटेर पारिश्रमिक दिने यो तरिका मेरो विचारमा सबैभन्दा राम्रो तरिका होला।

शब्दकोशको नीति निर्माणको तहमा, कति वा कसरी काम भइरहेको छ भनेर प्रगति मूल्यांकन गर्न वा बिचबिचमा केही प्रविष्टि हेरेर प्रतिक्रिया दिन यस्तो बैठकमा आधारित समितिले काम गर्ने तरिका उपयुक्त भए पनि शब्दकोशको सम्पादनको सन्दर्भमा यो व्यावहारिक हुँदैन। सम्पादन भनेको आद्योपान्त हेर्नुपर्ने काम हो र धेरै समय समूहमा रहनुपर्ने काम हो। यसरी बैठकमा आधारित काम गर्ने व्यक्तिहरू सल्लाहकारका रूपमा रहनु उपयुक्त देखिन्छ। यसो हुँदा नीतिगत तहमा, मूल्यांकनमा र प्रतिक्रियामा तिनको भूमिका सान्दर्भिक पनि हुन्छ र त्यसबापतको पारिश्रमिक भत्ताका रूपमा दिनु उपयुक्त हुन्छ। यस्तो भूमिकामा पूर्णतः जिम्मेवार पनि हुनु पर्दैन र विद्वान्‌हरूको ज्ञान तथा अनुभवको उपयोग र कदर पनि गर्न सकिन्छ।

सजिलो गरी भन्दा यसले वरिष्ठ विद्वान्‌हरूको ज्ञान र अनुभवको कदर गर्ने तर उनीहरू शब्दकोशका कमजोरीमा जिम्मेवार हुनुनपर्ने स्थिति सिर्जना हुन्छ। जसले साँच्चै काम गर्छ शब्दकोशको गुण र दोष दुवैको जिम्मा पनि उसैले लिने स्थिति हुने हो भने उसले गर्ने काम बढी जिम्मेवारीपूर्ण हुन्छ (यसरी काम गर्नेलाई पारिश्रमिक कसरी दिइन्छ त्यो भने मलाई जानकारी छैन)।

नेपालीमा विशेषण बनाउन -ए  प्रत्यय प्रयोग गर्ने हो भने भत्ता  बाट भत्ते बन्न सक्छ, त्यो शब्द कसैगरी पनि अनेपाली लाग्दैन। यो शब्द चलाउनुमा केही समस्या छ र?

माथि उल्लिखित यस शब्दकोशको सन्दर्भमा वसन्त थापाले उपाधिसहित उल्लेख गरेका नाम हेर्दा साँच्चै उहाँहरूले हेरेको भए यस खालका कमजोरी यो शब्दकोशमा हुँदैनथे भन्ने कुरामा म अहिले पनि विश्वास गर्छु। मैले त्यसो भन्ने आधार नेपाली भाषा, व्याकरण, शब्दकोश र अन्य क्षेत्रमा उहाँहरूले गरेको काम नजिकबाट हेर्न र कतिपय सन्दर्भमा सँगै काम गर्ने अवसर पाउनु पनि हो। यो प्रक्रिया र उहाँहरूको नामअघि देखिने उपाधिबाहेक अरू कुरा थाहा नहुनेहरूले भने उहाँहरूलाई नै ती कमजोरीका लागि सम्पूर्ण रूपमा जिम्मेवार ठान्नु स्वाभाविक हो।

त्यसैले अब सम्पादक हुन योग्य व्यक्तिलाई उचित पारिश्रमिक र सम्पादकीय हैसियतको पूर्ण जिम्मेवारी दिने र बैठक भत्ता मात्र लिने गरी कोश सम्पादनको क्रममा सल्लाह-सुझाव उपलब्ध गराउने विद्वान्‌हरूलाई सल्लाहकारका रूपमा कदर गर्ने परम्परा सुरु गरियोस् भन्ने मेरो प्रस्ताव छ।

फेरि दोहोर्‍याउँछु– मैले प्रयोग गरेको ‘भत्ते’ शब्द ‘भत्ता पाउने’ भन्ने अर्थमा हो। यो अर्थ कुनै दृष्टिमा पनि अपमानजनक होइन।

सजिलो, छरितो र सम्मृद्ध नेपाली

नेपालीमा स्थान, समय, काम, रूप-रङ, आकार, प्रवृत्ति, आदि बुझाउने नाम वा विशेषण शब्दमा -ए प्रत्यय थपेर व्यक्ति वा वस्तु चिनाउने विशेषण बन्छ। नेपालीमा पहाडे, छत्तिस साले, ढोके, सेते, छोटे, अल्छे  शब्द छन्। तिनको अर्थ क्रमशः ‘पहाडमा बस्ने’, ‘छत्तिस सालमा जन्मेको’, ‘ढोकामा बस्ने’, ‘सेतो वर्णको’, ‘छोटो कदको’, ‘अल्छी गर्ने’ हुन्छ। यस्ता अनेकौँ नेपाली शब्द छन्।

राणाकालीन शब्दहरू ढोके, कोठे, बैठके, बगैँचे, सुसारे, हुक्के  शब्द या त आज चल्तीमा छैनन् या फरक अर्थमा चल्तीमा छन्। उदाहरणका लागि कोठे  शब्द अहिले ‘वास्तविक स्थिति नबुझी सीमित व्यक्तिहरू एक ठाउँमा बसेर गर्ने काम वा निर्णय’ भन्ने अर्थमा प्रयोग हुन्छ, कोठाको रेखदेख गर्ने वा कोठा भएको (कपडा) भन्ने अर्थमा भने प्रयोग हुँदैन। अहिले कोठे कपडाको अर्थमा अंग्रेजीको चेक  शब्द बढी चल्तीमा देखिन्छ। नेपाली शब्द निर्माणमा ज्यादै उर्वर -ए प्रत्ययलाई हेयार्थ ठानेर उपयोग गर्न छाडिएको छ। यो प्रत्यय हेयार्थमै प्रयोग हुने एउटा खास ठाउँ छ त्यो हो अन्त्यमा ‘ए’ नभएका व्यक्ति वाचक नाममा -ए थपेर प्रयोग गर्दा त्यो हेयार्थ बन्छ, जस्तै– राम-रामे, हरि-हरे, कृष्ण-कृष्णे (किस्ने) आदि। यसै आधारमा एकारान्त सबै शब्द हेयार्थक हुन् भन्ने ठान्नु त्रुटिपूर्ण हुन्छ।

शीर्षकमा प्रयोग भएका दुई शब्दमध्ये भत्ते  चल्तीमा देखिएको शब्द होइन तर भत्ता, भत्ता दिनु, भत्ता लिनु, दैनिक भत्ता, बैठक भत्ता, वृद्ध भत्ता, खाजा भत्ता, महँगी भत्ता जस्ता पद र पदावली प्रचलनमा छन्। यी पद वा पदावलीबाट विशेषण बनाउनु पर्‍यो भने भत्ता लिने, भत्ता पाउने, भत्ताग्राही आदि शब्द बन्छन्। नेपालीमा विशेषण बनाउन -ए  प्रत्यय प्रयोग गर्ने हो भने भत्ता  बाट भत्ते बन्न सक्छ, त्यो शब्द कसैगरी पनि अनेपाली लाग्दैन। यो शब्द चलाउनुमा केही समस्या छ र?

मौलिक प्रत्यय प्रयोग गरेर शब्द नबनाउने तर ‘नेपाली भाषा संस्कृतमय भयो’, ‘नेपालीमा हिन्दीको प्रभाव बढ्यो’ भनेर गुनासो पनि गरिरहने, यस्तो दोहोरोपन देखाउन मिल्छ?

नेपालीमा खाते  शब्द चल्तीमा त छ तर हेयार्थमा। यसको मूल खात  हो। खात भनेको थुप्रो हो जेसुकैको। त्यसैले थुप्रोसँग सम्बन्धित जेसुकै वा जोसुकैलाई खाते भन्न सकिन्छ। प्रचलित अर्थ भने ‘सडक जीवन बिताउने’ अर्थमा वा अमेरिकी समाजको ‘होमलेस’ को जस्तै अर्थमा प्रयोग हुन्छ। नेपालीमा एउटा समस्त शब्द छ मलखातो, यो गण्डकी क्षेत्रमा प्रयोग हुन्छ, मलको थुप्रो भन्ने अर्थमा। नेपाली बृहत् शब्दकोशले मलखाल्डो भनेको रहेछ। सायद शिष्ट बनाएको होला अथवा मल कुहाउन खाल्डो नभए पनि हुन्छ भन्ने ज्ञान सम्पादकलाई नभएको पनि हुन सक्छ। त्यसो त कतिले उही अर्थका शब्द मल  र खाद को समासबाट बनेको मलखादलाई यसै अर्थमा प्रयोग गरेको समेत देखिन्छ।

माथि शीर्षकमा प्रयोग गरेको खाते शब्द यो होइन, खातामा -ए प्रत्यय थपेर बनेको शब्द हो। ‘खाता भएको’, ‘खातामा दर्ता भएको’ जस्तो अर्थ लाग्छ यसको। यी दुई खाते शब्द श्रुतिसमभिन्नार्थक शब्द हुन् भन्न सकिन्छ। अहिले यो अर्थमा खातावाला, खाताधारी, खाताधारक वा खाता हुने, खाता भएको जस्ता शब्द वा पदावली प्रचलनमा छन्। यीमध्येका पद चाहिँ कि उर्दु-हिन्दी स्रोतको -वाला प्रत्यय थपेर कि -धारी वा -धारक संस्कृत प्रत्यय (संस्कृतमा त यी स्वतन्त्र शब्द हुन्) थपेर बनेका छन् भने पदावली चाहिँ नेपालीकै छन्। खातासँग सम्बन्धित खाते शब्द भने कुनै पनि दृष्टिले हेयार्थक छैन।

शब्दकोशमा शब्दको मात्र प्रविष्टि हुन सक्छ, पदावलीको हुँदैन – कम्तीमा पदावलीभित्रका पदहरूका छुट्टाछुट्टै अर्थ जोडेर बन्ने भन्दा फरक अर्थ नदिएसम्म। यसैले खातावाला, खाताधारी, खाताधारक मात्र शब्दकोशमा पर्न सक्छन् खाता हुनेखाता भएको प्रविष्टि हुन सक्दैनन्। अर्थात् खाताको नेपाली प्रत्यय लागेर बनेको विशेषण शब्द नेपाली शब्दकोशमा पर्दैन, उर्दु-हिन्दी र संस्कृत प्रत्यय लागेका शब्द मात्र शब्दकोशको प्रविष्टि बन्छन्। यहीँनेर मेरो प्रश्न के हो भने मौलिक प्रत्यय प्रयोग गरेर शब्द नबनाउने तर ‘नेपाली भाषा संस्कृतमय भयो’, ‘नेपालीमा हिन्दीको प्रभाव बढ्यो’ भनेर गुनासो पनि गरिरहने यस्तो दोहोरोपन देखाउन मिल्छ?

यही दोहोरोपन नदेखिने र भाषाको मौलिक रूप जोगाइरहने उपायमध्ये एउटा -ए  प्रत्ययको सक्दो बढी प्रयोग गरौँ भन्ने हो। त्यसका लागि एउटा पूर्वसर्त के हो भने व्यक्तिवाचक नाममा बाहेक -ए  प्रत्यय हेयार्थक हो भन्ने भ्रम आफूबाट हटाउनुपर्छ। यसो गर्‍यौँ भने मण्डले, कुन्डले, मुन्द्रे, झोले, बन्दुके, लठ्ठे, खाते, भत्ते जस्ता अनगिन्ती शब्द सामान्य अर्थमा प्रयोग गर्न सकिन्छ र नेपालीको मौलिक शब्दभण्डार बढाउन सकिन्छ। त्यसो त धातुमा -ने-ए-को थपेर बन्ने विशेषण नेपालीमा धेरै प्रयोग हुने शब्द हुन्। बरु यी शब्द पनि शब्दकोशमा प्रविष्टिका लागि विचार गर्ने हो कि?

विश्वविद्यालय र प्रज्ञा-प्रतिष्ठान जस्ता संस्थाको नेतृत्व गर्ने विद्वान्‌ले झोला बोक्न छोड्यो भने उसको बौद्धिकता र विद्वत्ता कसरी कायम रहला र! अनि विद्वत्ता र बौद्धिकता सकिएको मानिसले नेतृत्व गरेको प्राज्ञिक संस्थाले कसरी उन्नति गर्ला!

मैले भर्खरै कुरा गरेको भाषाको हो जहाँ शब्दको अर्थ हुन्छ। त्यो आफैमा राम्रो वा नराम्रो हुँदैन, शिष्ट वा हेय हुँदैन। जब हामी समाजभाषाको कुरा गर्छौं, त्यहाँ उही शब्दका विभिन्न अर्थ हुन्छन्, कुनै राम्रा कुनै नराम्रा। तिनमा कुनै शिष्ट र कुनै अशिष्ट, कुनै आदरार्थी र कुनै हेयार्थी, कुनै सम्मानजनक र कुनै अपमानजनक हुन्छन्। यस्तै कुरा शब्दमा पनि हुन्छ। कुनै शब्द शिष्ट र कुनै अशिष्ट मानिन्छन्।

शब्द र अर्थलाई यसरी वर्गीकरण गर्ने र तह तहमा छुट्याउने काम समाजको हो। समाजको सदस्यका रूपमा त्यस समाजको हरेक व्यक्ति त्यस भाषाका शब्दलाई सिंगो समाजले चाहे जसरी स्विकार्न बाध्य हुन्छ। यो एउटा पाटो हो समाजभाषिक अर्थको। अर्को पाटो के हो भने शब्द र शब्दको अर्थको वर्गीकरण गर्ने र तह तहमा छुट्याउने काम समाजले गर्छ भने पनि त्यो कुनै न कुनै व्यक्तिको प्रयोगबाट सुरु हुन्छ। समाज अमूर्त एकाइ हो, मूर्त एकाइ त व्यक्ति हो। यसरी एक व्यक्तिले सुरु गरेको प्रयोग (नयाँ शब्द वा अर्थ) जब अरूले पनि दोहोर्‍याउँछन् तब त्यो सिंगो समाजको बन्न पुग्छ। भाषामा शब्द थपिने वा शब्दको अर्थ थपिने, शब्दको अर्थ पहिलेभन्दा राम्रो हुने (अर्थोत्कर्ष) वा शब्दको अर्थ पहिलेभन्दा नराम्रो हुने (अर्थापकर्ष), शब्दको अर्थ फराकिलो हुने (अर्थ विस्तार) वा अर्थ साँघुरो हुने (अर्थ संकोच) जस्ता प्रक्रियामा समाजको भूमिका हुन्छ।

शिक्षक, पत्रकार, लेखक आदिको भाषा प्रयोगबाट समाजको ठूलो हिस्सा प्रभावित हुन्छ। त्यसैले भाषाका यस्ता सबै प्रभावशाली प्रयोगकर्तालाई भाषाको छरितो प्रयोग, अर्थोन्नति र अर्थको सामान्यीकरणको लागि काम थाल्न आग्रह गर्छु। समाज भनेको व्यक्ति व्यक्तिको समूह हो। एक जनाले थालेको काममा अरूले साथ दिने हो भने त्यो काम सिंगो समाजको हुन धेरै समय लाग्दैन।

झोले पनि

सबैभन्दा पछिल्लो चोटि हेयार्थमा प्रयोग भएको ‘झोले’ शब्दबारे केही भन्छु। भर्खरै नेपाल सरकारले ‘झोले’ भनेर अरू अरू संस्थाका साथै विश्वविद्यालयका पदाधिकारी र प्रज्ञा-प्रतिष्ठानहरूबाट प्राज्ञहरूलाई बर्खास्त गरेको छ (आफै छाड्ने केही बाहेक)। धेरै मानिस अब प्रज्ञा-प्रतिष्ठान र विश्वविद्यालयहरू झोलेमुक्त हुने भए भनेर खुसी भएको देख्छु। यसबाट म निराश छु र अब आउने जोसुकै आओस् तर त्यो झोले नै होस् भन्ने कामना पनि गरिरहेको छु।

विश्वविद्यालय र प्रज्ञा-प्रतिष्ठान जस्ता संस्थाको नेतृत्व गर्ने विद्वान्‌ले झोला बोक्न छोड्यो भने उसको बौद्धिकता र विद्वत्ता कसरी कायम रहला र! अनि विद्वत्ता र बौद्धिकता सकिएको मानिसले नेतृत्व गरेको प्राज्ञिक संस्थाले कसरी उन्नति गर्ला! त्यसैले यी संस्थामा अब आउने नेतृत्व सधैँ झोला बोकिरहने खालको होस्, उसका झोलामा किताब, कापी, कलम वा समयअनुसार ल्यापटप वा ट्याबलेट होस्, उसले आफ्नो झोलाका यी ज्ञानका साधनको अधिकतम उपयोग गरोस् र संस्थाको उन्नतिमा त्यो ज्ञान लगाओस्। हरेक शिक्षक, हरेक पत्रकार, हरेक लेखक, हरेक साहित्यकार यस्तै झोले होस् भन्ने पनि कामना गर्छु।

पहिलेका राजनीतिकर्मीहरू झोला बोक्थे। झोलामा किताब हुन्थ्यो। ती पढ्थे। घन्टौँ कुरा गर्थे– समाजका, राजनीतिका, देश-विदेशका, साहित्यका। अचेल राजनीति गर्नेले पढ्न छाडे। गज्जबको कुरा के भने जब राजनीति गर्नेले झोला बोक्न छाडे, पढ्न-लेख्न छाडे त्यसपछि बल्ल तिनले झोले नाम पाए। ‘जसको सिङ छैन उसैको नाम तिखे’ भने जस्तो। अब ती राजनीति गर्नेले पनि झोला बोक्न थालून्, पढ्न थालून्।

जय झोले!