काठमाडौँ। नेपालयको ‘आर’ शालामा हुँदै आएको सांगीतिक कार्यक्रममा यसपटक गायक विधान श्रेष्ठ प्रस्तुत हुने भएका छन्। विधानले आजभन्दा नौ वर्षअघि पनि यस मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए।
कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा हुने पलेँटीका लागि विधान पलेँटीका वाद्यवादकसँग अभ्यासमा छन्। उनी लोक तथा देशभक्तिपूर्ण गीतका लागि परिचित गायक हुन्। सांगीतिक परिवारमा हुर्किएका गायक विधानले सुनसरीका चर्चित संगीतकार तथा गीतकार आफ्ना पिता विजय श्रेष्ठको मार्गदर्शन पाएका छन्। विजय जसले प्रसिद्ध गायक दीप श्रेष्ठका लागि पनि गीत सिर्जना गरेका छन्।
विधानको स्वरमा गुञ्जेका ‘माछी मार्न जाऊँ दाजै कालापानीमा’, ‘बुहारी झारझैँ लजालु…’, ‘आज नाच्छे मेरी गौरी…’, ‘कान्छीको अल्लारे जोवन…’ जस्ता थुप्रै लोकप्रिय गीत छन्।
“पलेँटीको मञ्चमा नौ वर्षपछि फेरि गाउन पाउँदा अत्यन्त खुसी लागेको छ। मैले सम्मान गर्ने धेरै अग्रज कलाकारले यस मञ्चलाई गौरव लाग्दो बनाइसक्नुभएको छ। त्यसैले यो मञ्च मेरो निम्ति सांगीतिक मन्दिरजस्तै हो‚” उनी भन्छन्, “मेरो झन्डै तीन दशकको सांगीतिक यात्रामा यो कार्यक्रमले थप उचाइ दिने आशा लिएको छु।”
पलेँटीका संयोजक संगितकर्मी आभास भन्छन्‚ “नौ वर्षपछि पलेँटीमा गाउन तयार रहेका विधान अहिले झन् परिपक्व र परिमार्जित सुनिन्छन्। विधानका गीतमा मौलिकताको छुट्टै पहिचान छ। पलेँटीमा विधानलाई फेरि निम्त्याउन पाउँदा रमाइलो लागेको छ।”
यसपालीको पलेँटी यही जुन महिनाको सप्ताहान्त अर्थात् २६ र २७ तारिख शुक्रबार र शनिबार साँझ हुनेछ। पलेँटीको टिकेट www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ। युवा पुस्तालाई कार्यक्रमको पहुँचमा सहजीकरण गर्नका निम्ति विद्यार्थी सहुलियत कोटामा पनि टिकेट उपलब्ध हुँदै आएको छ।