काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक व्यक्तित्वहरूलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जाने खतरा हुने बताएका छन्।
काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले विभिन्न राजनीतिक व्यक्तित्वमाथि धरपकड भइरहेको भन्दै अपराधीजस्तो व्यवहार गर्न थाले देश समझदारीतर्फ नभई अन्तरद्वन्द्वतर्फ जाने खतरा हुने बताए। उनले सरकारले कानुनसम्मत प्रक्रियालाई अपनाएर र अनुसरण गरेर मात्रै कुनै पनि कदम चाल्नु उचित हुने धारणा राखे।
खनालले अपरिपक्क ढंगले संविधान संशोधनको प्रक्रिया अघि बढाए देश दुर्घटनातर्फ जानसक्ने बताए। संविधान बनेको १० वर्ष भएको अवस्थामा संविधान कार्यान्वयनको समीक्षा गरेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ।
उनले हचुवाका भरमा संविधान संशोधन गर्ने र विभिन्न संरचना खारेज गर्ने कार्य उचित नहुने धारणा राखे। उनले अहिले पनि संविधानको भाग ४ लगायत धेरै कुरा लागू नै हुन नसकेको भन्दै रास्वपा नेतृत्वको सरकारले यसमा गम्भीर ध्यान पुराउन सुझाए।
त्यसैगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सीमाका विषयमा प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्ति आश्चर्यजनक रहेको टिप्पणी गरे। सम्भवत: वालेन्द्र शाह प्रधानमन्त्री भइसकेपछि व्यक्त गरेका अभिव्यक्तिहरूमध्ये सबैभन्दा कच्चा अभिव्यक्ति सीमासम्बन्धी भएको उनको भनाइ छ।
खनालले चितवनमा गएर प्रधानमन्त्रीले ‘मेरो राष्ट्रियता माथि शंका गर्नु पर्दैन’ भनेको अवस्थामा संसद्मा आएर रेकर्डबाट हटाउन स्वयं प्रधानमन्त्रीले आग्रह गर्नुपर्ने बताए। प्रधानमन्त्री आफैँले माग गरेर उक्त अभिव्यक्ति सदनको रेकर्डबाट हटाए सारा देशले प्रधानमन्त्रीलाई समर्थन गर्ने खनालको भनाइ छ।