चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी अब झनै परिपक्व, संगठित र जिम्मेवार ढंगले अघि बढ्ने नवनिर्वाचित सभापति रवि लामिछानेले बताएका छन् ।
सभापतिको शपथ ग्रहणपछि उनले महाधिवेशनले पार्टीलाई राजनीतिक रूपमा थप वैधानिकता र मजबुती प्रदान गरेको बताए। पार्टीले पछिल्लो चार वर्षमा केही कमजोरी र अनुभवहरूबाट सिक्ने अवसर पाएको उल्लेख गर्दै उनले ती कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे।
लामिछानेले आन्तरिक निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण पक्षका रूपमा व्याख्या गर्दै निर्वाचनपछि आउने जित-हारलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने धारणा पनि राखे।
देशका विभिन्न क्षेत्रबाट अनेकन कठिनाइ र मौसमको प्रतिकूलताका बाबजुद महाधिवेशनमा उत्साहजनक सहभागिता जनाउने प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा शुभचिन्तकहरूलाई उनले धन्यवाद दिए। पहिलो अनुभव भएकाले व्यवस्थापन र आयोजनामा केही प्राविधिक तथा व्यवस्थापकीय कमजोरीहरू भएको उनले स्वीकार गरे। उनले भने‚ “यो हाम्रो पहिलो महाधिवेशन हो। पहिलो अनुभव भएका कारण व्यवस्थापनमा केही स-साना कमजोरीहरू भएका हुन सक्छन्, त्यसलाई हामी स्वीकार गर्छौँ। आगामी दिनमा यी कमजोरीहरूबाट पाठ सिक्दै अझ सचेततापूर्वक र परिपक्व ढङ्गले सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
पार्टीभित्रको आन्तरिक लोकतन्त्र र चुनावी प्रतिस्पर्धाका विषयमा चर्चा गर्दै उनले लोकतान्त्रिक अभ्यासमा पदका आकाङ्क्षाहरू हुनु स्वाभाविक भएको स्पष्ट पारे। उनले थपे, “पार्टीभित्रका आन्तरिक निर्वाचन र पदका आकाङ्क्षाहरूलाई हामीले विशुद्ध लोकतान्त्रिक अभ्यासको रूपमा लिएका छौँ। यो हलभित्र प्रतिस्पर्धा जे-जस्तो भए पनि, यस हलबाट बाहिर निस्किएपछि हामी सबै मनमुटाव त्यागेर एकजुट भई देश निर्माणको एउटै लक्ष्यमा अगाडि बढ्नुपर्छ।”
सभापति लामिछानेले देशको भविष्य र वर्तमान व्यवस्था परिवर्तनका लागि पार्टीका हरेक नेता, सांसद र कार्यकर्ता अत्यन्तै जिम्मेवार हुनुपर्नेमा जोड दिए। जनताले राखेको ठुलो आशा र विश्वासलाई मर्न नदिने दृढता व्यक्त गर्दै उनले भने, “हामीमाथि जनताको ठुलो भरोसा छ। जनताको यो विश्वासलाई कायम राख्दै देश र जनताको हितमा निरन्तर लागिरहनु हाम्रो प्रमुख उत्तरदायित्व हो।”
नयाँ र पुराना साथीहरूको सम्बन्धलाई प्रस्ट्याउँदै उनले निर्वाचनका क्रममा रास्वपा परिवारमा देखिएको प्रेम दुई नदीजस्तै भएको टिप्पणी गरे। पुराना र भर्खरै आएका साथीहरू दुवैलाई मिलाएर लैजानुपर्ने चेतना नै बलियो रास्वपाको संकेत भएको उनको भनाइ थियो।
चुनावमा प्यानल र लिस्ट बनाइएका हल्लाहरूका बीच पनि आमपार्टी सदस्य र मतदाताहरूले आफ्नो विवेक प्रयोग गरेको उनले उल्लेख गरे। “हाम्रा आमपार्टी सदस्य र मतदाताहरूले विवेक प्रयोग गरे। उनीहरूका लागि कुनै प्यानल वा ग्रुप होइन, बनाउनेहरूले बनाए होलान्, त्यो पछि अध्ययनको विषय बन्ला। त्यसमा हामी समीक्षा गरौँला, हेरौँला, अध्ययन गरौँला‚” लामिछानेले भने।
भर्खरै पार्टी प्रवेश गरेका साथीहरूलाई पनि उच्च मत दिएर पठाउनुले रास्वपामा सबैलाई स्वागत छ भन्ने सन्देश दिएको उनले बताए। आन्तरिक प्रतिस्पर्धाका क्रममा उत्पन्न हुन सक्ने गुटबन्दी र मनमुटावलाई हलभित्रै अन्त्य गर्नुपर्नेमा उनको जोड थियो। उनले भने‚ “नयाँ र पुरानोको द्वन्द्व पनि आज अन्त्य भएको छ। यो गुट र त्यो गुटको कुरा पनि अन्त्य भएको छ। अंशहरू केही बाँकी रहेका छन् भने, यसलाई यहीँ दफन गरेर जाऔँ। कहीँकतै वैमनस्यता बाँकी रहेको छ भने, यसले यहीँ अन्त्य पायो। यसको अन्त्येष्टि यहीँ, यही हलबाट गरेर हामी अगाडि बढ्नुपर्ने हुन्छ।”
सम्बोधनका क्रममा सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम भने पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने जानकारी दिए।