प्रतिनिधिसभा बैठक
सदनमा विपक्षीको विरोध
काठमाडौँ। आफूहरूले सदनमा निरन्तर उठाएका विषयमा सरकार गम्भीर नभएको भन्दै विपक्षी दलले प्रतिनिधिसभामा विरोध जनाएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले आफूहरूले यसअघि उठाएका सीमालगायत अन्य विषयमा सरकारले कुनै चासो नदिएको भन्दै उठेर विरोध जनाए। विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेस सांसद खडकबहादुर बुढालाई बोल्न समय दिएका थिए।
सांसद बुढाले सरकारले कानुनी राज्य र सुशासनको धज्जी उडाएको आरोप लगाए। राहदानी छपाइ खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको कुरा बाहिर आएको भन्दै उनले यसको निष्पक्ष र कानुनसम्मत छानबिन हुनुपर्ने माग गरे।
उनले पहिलेको सम्झौता खारेज गरेर पुरानै कम्पनीलाई बढी मूल्यमा काम दिन चलखेल भइरहेको समेत आरोप लगाए। संविधानले अख्तियारलाई शक्तिशाली र स्वतन्त्र संवैधानिक निकायका रूपमा परिकल्पना गरेको भन्दै उनले यसमाथि प्रधानमन्त्री कार्यालयको हस्तक्षेप भए निष्पक्ष छानबिन नहुने उल्लेख गरे।
त्यस्तै अन्य विपक्षी सांसदहरूले पनि आफूहरूले उठाएका विषयमा सरकार गम्भीर नभएको बताएका थिए।