पुस्तक
यो उपन्यास पुरुषसत्ता वा असल पुरुष पात्रहरूको विरोधी यात्रा होइन। यो त एउटा सिंगो मानवीय अभियान हो, स्त्री-दर्शनको मौलिक सिर्जना हो।
यो सीमा आभासको आख्यान महायुगको कथावस्तुको समीक्षा मात्र होइन। उपन्यास अध्ययन गर्दा प्राप्त आत्मिक अनुभूति, मेरा वैचारिक बुझाइ र जीवनयात्राका भोगाइसमेत यसमा छाया बनेर समाहित छन्।
महायुग नेपाली साहित्यको इतिहासमा स्त्री-चेतनाको महादस्ताबेज हो। उपन्यासका पानाभित्र यस्तो संसार छ जहाँ समयका रेखाहरू परम्परागत इतिहासभन्दा भिन्न तरिकाले कोरिएका छन्।
चार पुस्ताको विराट् स्त्री-यात्रा
उपन्यासको मूल आत्मा विष्णुमायादेखि छायादेवी र नीलाञ्जना हुँदै यक्षिणी र ऋत्विजासम्मको महायात्राको विराट् कथा हो। अग्रभागमा छायादेवीको त्याग, अभूतपूर्व संघर्ष र प्राप्तिका रूपमा नीलाञ्जनाको उदय र उनको जीवन्त कथालाई बडो मार्मिक ढंगले चित्रण गरिएको छ। पछिल्लो भागमा नीलाञ्जनाको आफ्नै जीवनयात्रा र उनीसँग जोडिएर आउने पुरुष पात्रहरू जस्तै आख्ये, अब्बे र युवा साधुलगायत पात्रहरूको मानसिक-सामाजिक सम्बन्धको जालो उनिएको छ।
दोस्रो खण्ड विशुद्ध ‘महायुग’ को महायात्राको सुरुआत, त्यसका कठिन घुम्तीहरू र त्यो महायात्राको चरम प्राप्तिका रूपमा यक्षिणीको यात्रा हो।
प्रथम खण्डमा वर्णित छायादेवीकी छोरी, बुहारी, श्रीमतीदेखि कामदार र आमा बन्दासम्मको अत्यासलाग्दो र करुणाजनक यात्राले पाठकको मनलाई नराम्रोसँग बिथोल्छ। तर, यहीँनेर लेखकको सामर्थ्य देखिन्छ– नीलाञ्जनाको यात्रा कहाँ त्यति सजिलै विनागर्भपीडा र विनाभूमिका सुरु हुन्छ र? छायादेवीहरू जब हजारौँ-लाखौँ हन्डर, अपमान र चोटको अँध्यारो छायामा पर्छन्, तब मात्र ती दुःखको जगबाट नीलाञ्जनाहरूको जन्म हुन्छ। दुःख जब चेतनामा बदलिन्छ, तब स्वअस्तित्व र स्वाधीनताको युद्धको जन्म हुन्छ भन्ने कुरालाई यसले पुष्टि गर्छ। उपन्यासमा नीलाञ्जनाको जन्मको पृष्ठभूमि, बाल्यकालीन कौतूहल, किशोर तथा युवाकालको आन्दोलन, गर्भिणी आमाका रूपमा उनको यात्रा र सम्बन्ध एवं संघर्षलाई संवेदनशील र दार्शनिक ढंगले कोरिएको छ।
नीलाञ्जना कसरी गर्भवती भइन्? उनका अभिन्न मित्रहरू आख्ये र अब्बे तथा रहस्यमयी युवा साधुसँगको जैविक, मनोवैज्ञानिक र संवेगात्मक सम्बन्धलाई कुन दृष्टिकोणबाट केलाउने? समाजले बनाएको परम्परागत नैतिकताको कसीबाट हेर्ने कि प्राकृतिक स्वतन्त्रता वा अलौकिकताको आँखाबाट? यहाँ पाठक रनभुल्ल पर्छन्।
समयसँगै आउने जैविक, मनोसामाजिक र मनोसांस्कृतिक वातावरणको अन्तरसंघर्ष नीलाञ्जना र उनका सहायक पात्रहरूद्वारा अगाडि बढ्छ। नीलाञ्जनाको त्यो भीमकाय र असाधारण जीवनयात्रा जसरी अन्त्य भएको छ, उपन्यास सुरु गर्दा सायदै कुनै पाठकले कल्पना गर्न सक्छन्। पाठक आफैँ छायादेवी र नीलाञ्जनाको ‘छाया पात्र’ बन्न पुग्छन्। आफ्नै जीवनका भोगाइ सम्झिँदै आन्तरिक रूपमा रूपान्तरित र अन्तर्घुलित हुन थाल्छन्। उपन्यासको सबैभन्दा ठूलो कलात्मक र वैचारिक सबलता हो यो।
रजस्वला (रजोवती) र गर्भवती आमाका जैविक, मनोवैज्ञानिक एवं संवेगात्मक पक्षहरूलाई जसरी कुशल मनोचिकित्सक र शल्यचिकित्सकले जस्तै चिरफार गर्दै कथाको तान बुनिएको छ, त्यो अद्भुत छ। प्रेम, जीवन, सन्तान, प्रेमी, साथी र श्रीमान् यी सबै पात्र र पक्षहरूलाई लेखक सीमा आभासले अत्यन्तै मिहिन र सन्तुलित तवरले प्रस्तुत गरेकी छन्। छायादेवी गर्भवती बनेर नीलाञ्जना जन्मने जैविक-मनोसामाजिक प्रक्रिया नै प्रश्नयुक्त र जटिल छ। त्योभन्दा कहालीलाग्दो नीलाञ्जनाको रजस्वला र गर्भिणीयात्रा झनै रहस्यमयी र विस्मयकारी छ।
नीलाञ्जना कसरी गर्भवती भइन्? उनका अभिन्न मित्रहरू आख्ये र अब्बे तथा रहस्यमयी युवा साधुसँगको जैविक, मनोवैज्ञानिक र संवेगात्मक सम्बन्धलाई कुन दृष्टिकोणबाट केलाउने? समाजले बनाएको परम्परागत नैतिकताको कसीबाट हेर्ने कि प्राकृतिक स्वतन्त्रता वा अलौकिकताको आँखाबाट? यहाँ पाठक रनभुल्ल पर्छन्।
नीलाञ्जनाको गर्भिणीयात्रा महाभारतकी कुन्तीको जस्तै अलौकिक वा रहस्यमय प्रक्रिया हो कि सामान्य जैविक नियमको विशिष्ट कडी हो? पाठकको मनमा यस्ता प्रश्न उठ्नु स्वाभाविक छ। यक्षिणीको भौतिक र जैविक यात्राका साथसाथै आध्यात्मिक तथा आत्मिक यात्राका माध्यमबाट भएको ‘स्व’ को खोजी बडो जटिल छ। यो उपन्यास आज र भोलिका समग्र स्त्री यात्रुका लागि प्रश्न र उत्तर दुवै बोकेको मार्गदर्शक यात्रा हो।
उपन्यासमा एउटा सिंगो मृतप्रायः युगलाई नै चार पुस्ताका यी वैचारिक र आत्मिक युद्ध गर्ने स्त्रीहरूले आफ्नो रगत, पसिना र चेतनाले सिँचेर, कायापलट गरी एउटा विराट् यात्रामा रूपान्तरण गरे। र, अन्ततः त्यसलाई ‘महायुग’ बनाए।
धेरै भूमिका र बहुआयामिक सम्बन्धमा जेलिएका नारीहरूले कतिसम्म कठिन, चुनौतीपूर्ण र असाधारण यात्रा गर्न सक्छन् भन्ने बलियो उत्तर बनेर उभिएका छन्, नीलाञ्जना र यक्षिणी। प्राकृतिक स्रोतसाधनको सीमितता र परम्परागत सम्बन्धहरूको घेराबन्दीका बाबजुद नीलाञ्जनाको जीवनयात्रा महायुग बनेर अगाडि बढिरहन्छ। परम्परागत सोच, पितृसत्तात्मक संकीर्णता र विद्यमान रूढ समाज व्यवस्थामा बाँचिरहेका सामान्य पाठकलाई यो यात्रा सुरुमा अकल्पनीय र असम्भव पनि लाग्ला। तर, कथाको गहिराइमा डुब्दै जाँदा यो नै परम सत्य लाग्न थाल्छ।
यक्षिणीको यात्रालाई आध्यात्मिक र पर्यावरणीय चेतनासँग जोडिएको छ। उनको यात्रालाई आध्यात्मिक शक्तिको उच्च अन्तर्दृष्टि दिने काम यालाहाङ्मालगायत आदिवासी र प्राकृतिक चेतना बोकेका पात्रहरूले गरेका छन्। स्त्री-चेतनालाई परम्परागत घेराभन्दा माथि उठाएर ब्रह्माण्डीय ज्ञान दिने कार्यमा मुनि वेत्रावतीको भूमिका अहम् छ। यात्रामा आइपर्ने मानसिक र भौतिक अवरोध चिर्दै आत्मबल र अन्तर्दृष्टि प्रदान गर्न रिपुमर्दिनी देवी जस्ता पात्रहरू सहायक बनेका छन्। स्त्री-आत्माको असीमित शक्ति र स्त्री-चेतनाको वास्तविक सामर्थ्य चिनाउने यस्ता गहन पात्रहरूले नीलाञ्जनाको महायात्रालाई बलियो बनाइदिएका छन्।
जतिसुकै विकराल परिस्थिति, सामाजिक बहिष्कार र प्राकृतिक प्रतिकूलताका बाबजुद एक गर्भिणी आमा यो धर्ती, हिमाल र आकाशभन्दा पनि विशाल, अनि समय र सिंगो युगभन्दा पनि दरिलो बनेर निरन्तर यात्रारत रहनु महाकाव्यात्मक परिघटना हो। यसै महायात्राको गर्भबाट ऋत्विजा जस्ती शक्तिशाली, प्रबुद्ध र नवयुगकी नायक पुत्रीको जन्म हुन्छ। उपन्यासमा एउटा सिंगो मृतप्रायः युगलाई नै चार पुस्ताका यी वैचारिक र आत्मिक युद्ध गर्ने स्त्रीहरूले आफ्नो रगत, पसिना र चेतनाले सिँचेर, कायापलट गरी एउटा विराट् यात्रामा रूपान्तरण गरे। र, अन्ततः त्यसलाई ‘महायुग’ बनाए।
नीलाञ्जना किन महायुगको कठिन यात्रामा निस्किइन्? के त्यो जरुरी हो? उनी कसरी र किन यक्षिणी बन्न विवश भइन् वा आफैँले स्वयात्रा रोजिन् ? यसभित्र यथार्थ र रहस्यको एउटा यस्तो सुन्दर मिश्रण छ, जसले पूर्वीय दर्शनको ‘तन्त्र र अध्यात्म’ लाई आधुनिक मनोविज्ञानसँग जोडिदिन्छ। ती चार पुस्ताका महान् स्त्री पात्रहरूमा को ठूलो र को सानो भनेर तुलना गर्नु निरर्थक छ। ती सबै पात्र आआफ्नो समय, परिवेश, सीमा र चुनौती अनुकूलका अत्यन्तै समर्थ, सक्षम र क्रान्तिकारी छन्। प्रत्येक पात्रमा आआफ्नै प्रकारको बलिदान, अभूतपूर्व संघर्ष, मौन वा मुखर विद्रोह, त्याग र नवीन प्राप्ति लुकेका छन्। एकै समयमा, एकसाथ यक्षिणी जैविक आमा (जसले सन्तान जन्माउँछिन्), प्राकृतिक आमा (जसले पर्यावरणको रक्षा गर्छिन्), आध्यात्मिक आमा (जसले चेतनाको सञ्चार गर्छिन्) र सामाजिक-सांस्कृतिक रूपान्तरण यात्राकी प्रतिमूर्ति अर्थात् ‘बहुआयामिक आमा’ बन्न सफल भएकी छन्।
परम्परागत यथार्थवादी आख्यान पढिरहेका पाठकहरूलाई चरम कौतूहल र केही हदसम्म अविश्वसनीय पनि लाग्न सक्छ। कतिपय अवस्थामा उपन्यासको कथावस्तु र चरित्र चित्रणमा अति आदर्शीकरण गरिएको र कथालाई बलपूर्वक एउटा सुखद वा सुरक्षित अवतरण गराइएको त होइन भन्ने प्रश्न पनि उठ्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, उपन्यासमा परम्परागत रूपमा लुकाइएका वा अशुद्ध मानिएका विषयहरू जस्तै महिनावारी (रजस्वला) र गर्भविज्ञानको पुनर्व्याख्या गर्ने साहसिक कोसिस गरिएको छ। रजस्वला हुनु भनेको सृष्टिको उत्सव हो भन्ने कुरालाई स्थापित गर्दै यहाँ सामाजिक र सांस्कृतिक रूपान्तरणको खाकामा मानवीय ‘आत्माको रिइन्जिनियरिङ’ गरिएको छ। यसरी एउटा पूर्ण समतामूलक भूमि र नयाँ मानवीय युगको सिर्जना र निर्माण गर्न खोजिएको छ।
उपन्यासले स्त्रीका बहुआयामिक सक्षमता र सामर्थ्यका आधारमा उनीहरूको ऐतिहासिक योगदान र नतिजालाई अकाट्य रूपमा प्रमाणित गरिदिएको छ। यहाँ स्त्री-पीडा र ऐतिहासिक दुःखलाई रोदनमा होइन, अपितु सिर्जनात्मक शक्तिमा रूपान्तरण गरिएको छ। उपन्यासले पुरुषसत्तासँग अधिकार मात्र माग्दैन, आफ्नै मौलिक सत्ताको परिकल्पना गर्छ जहाँ स्त्री-भाषा, स्त्री-लिपि, स्त्री-संवत्, स्त्री-मुद्रा, स्त्री-तन्त्र र स्त्री-युगलगायत अवधारणा ल्याएर स्त्री-शक्तिको सार्वभौमिक सवाललाई स्थापित गर्न खोजिएको छ।

काठमाडौँमा महायुग मन्थन कार्यक्रममा लेखक सीमा आभास (दायाँबाट दोस्रो)।
विशेषतः उपन्यासको दोस्रो खण्डको कथाक्रममा परिकल्पनाको उच्चतम पराकाष्ठा र दार्शनिक उडान रहेकाले परम्परागत यथार्थवादी आख्यान पढिरहेका पाठकहरूलाई चरम कौतूहल र केही हदसम्म अविश्वसनीय पनि लाग्न सक्छ। कतिपय अवस्थामा उपन्यासको कथावस्तु र चरित्र चित्रणमा अति आदर्शीकरण गरिएको र कथालाई बलपूर्वक एउटा सुखद वा सुरक्षित अवतरण गराइएको त होइन भन्ने प्रश्न पनि उठ्छ।
एउटै उपन्यासभित्र वास्तवमा दुई वटा बेग्लाबेग्लै उपन्यास बन्न सक्ने पर्याप्त कथावस्तु, पाटाहरू छन् भन्ने पाठकीय प्रतिक्रिया आउनु पनि असान्दर्भिक देखिँदैन। किनभने, पहिलो भाग र दोस्रो भागमा पाठकले नितान्त फरक स्वाद, शैली र शिल्पको कथावस्तु पाउँछन्। उपन्यासको पहिलो खण्डमा हामीले नेपाली समाजमा देख्दै र भोग्दै आएका परम्परागत, घरेलु, र सामाजिक कथाहरूको सघन प्रस्तुतिसहितको परिचित स्वाद छ। पछिल्लो खण्डमा पुग्दा नितान्त नवीन आध्यात्मिक यात्रा, वैकल्पिक मनोसामाजिक दृष्टिकोण, सांस्कृतिक-प्राकृतिक यात्रा र आदर्श नारी जीवनको परिकल्पना भेटिन्छ।
पात्र र घटनाको प्राकृतिक तालमेल र कथावस्तुको बुनाइ पक्ष माझिएको छ। लेखकको चेतनास्तर, अन्तर्दृष्टि र परिकल्पना क्षमता निखारिएको देखिन्छ। कथावस्तुको प्रवाह कञ्चन नदी जस्तै एकनासले बगेकाले पाठक आफूलाई ती पात्रसँग सहजै समायोजित गर्दै उपन्यासको पठन यात्रामा अगाडि बढिरहन्छन्। क्रमशः पाठकले आफ्ना मनमा उठेका सवालको जवाफ पनि कथाको बहावसँगै भेटाउँदै जान्छन्। स्त्री-आवाज, स्त्री-शक्ति, स्त्री-सामर्थ्य, स्त्री-भूमिका, स्त्रीका सीमा र उनका असीमित आयाम समेटिएको एउटा दरिलो ऐतिहासिक दस्ताबेज बन्न सफल भएको छ यो कृति।
उपन्यासको अन्त्यमा विपरीतलिंगी, समलिंगी, यौनिक तथा अल्पसंख्यकको पहिचान, उनीहरूको रोजाइ र सहकार्यात्मक जीवनशैलीलाई मर्यादित स्थानमा राख्ने प्रयत्न गरिएको छ। यसले कृतिलाई आधुनिक र उत्तर-आधुनिक चेतनाको कसीभन्दा माथि पुर्याएको छ।
यस उपन्यासको अर्को सुन्दर पक्ष नीलाञ्जना खण्डमा अत्यन्तै मीठो र शिष्ट तरिकाले स्त्री-पुरुषबीचको प्रणय, यौनिकता र प्रेमसम्बन्धका विविध आयामको प्रस्तुति पाइन्छ। स्त्री पात्रका माध्यमबाट पुरुष पात्रका भौतिक, जैविक र संवेगात्मक पक्षहरूको प्रेमिल वर्णन असाध्यै कलात्मक रूपले गरिएको छ।
आख्ये, अब्बे र युवा साधुको प्रेम र प्रणयको त्यो मीठो अन्तर्घुलनले उपन्यासमा लैंगिकताको सम्मान र जैविक सन्तुलन कायम गर्ने एउटा गम्भीर प्रयास देखिन्छ। समाजमा पितृसत्ताकै चपेटामा परेका पुरुष पात्रहरूको समेत मार्मिक र सहानुभूतिपूर्ण चित्रण छ। अर्कातर्फ, स्त्री कुचालहरू, नारीले नै नारीलाई गर्ने शोषण, अक्षमता र दुर्बलताप्रति पनि प्रश्नैप्रश्नका चाङ थुपारिएका छन्, जसले उपन्यासलाई एकांगी हुनबाट जोगाएको छ। यहाँ पुरुष पात्रहरूसँग परम्परागत शत्रुतापूर्ण व्यवहार होइन, बरु भिन्न सक्षमताका साथ वैचारिक र मनोसामाजिक युद्ध र सहयात्रा गरिएको छ।
उपन्यासमा अध्यात्म, तन्त्र-मन्त्र-यन्त्रयुक्त पात्रहरू र पौराणिक मिथकहरूको पनि रचनात्मक सहायता लिइएको छ। यसमा मानव चक्र विज्ञान, कुण्डलिनी जागरण, पर्यावरणीय शक्तिहरू र पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश) तत्त्वहरूको प्रयोग गरी नितान्त प्राकृतिक यात्रा र पर्यावरणीय सिर्जनशीलताको प्रयोग गरिएको छ। स्त्रीको शारीरिक यात्रा र सामाजिक तथा भौतिक यात्राको सन्तुलित विश्लेषण यसको विशेषता हो।
रजस्वलाको रगत र गर्भधारणको शक्तिलाई कुनै पाप वा श्राप नमानेर नितान्त वैज्ञानिक र प्राकृतिक उत्सव बनाइएको छ। स्वजागरणको मानव चक्रविज्ञानमार्फत पात्रहरूलाई एउटा आदर्श मार्गमा हिँडाइएको छ। पुस्तौँपुस्तादेखि संघर्षरत स्त्रीहरूको दर्दनाक कथालाई रूपान्तरण गर्न आध्यात्मिक र मनोवैज्ञानिक सशक्तीकरणको मार्ग अपनाइनु आफैँमा मौलिक प्रयोग हो। सन्तान उत्पादनदेखि पाठेघरका कुरा, रजस्वलादेखि रगतका कुरा उपन्यासमा विनाहिचकिचाहट पस्किइएका छन्, जसले यस विषयमा समाजमा व्याप्त संकुचित सोचलाई भत्काइदिन्छन्।
महायुग उपन्यासको मूल दर्शन भनेकै स्त्री-पुरुष सहकार्य, सह-अस्तित्व र पुस्तान्तरणको साझा यात्रा हो। यसले पुरुषको अस्तित्वलाई निषेध गर्दैन, बरु अझ बढी मर्यादित र जिम्मेवार बनाउन प्रेरित गर्छ। सामाजिक, सांस्कृतिक र आध्यात्मिक विज्ञानको एउटा अनौठो र दुर्लभ संगमका रूपमा यो उपन्यास नेपाली साहित्यमा स्थापित छ। स्त्री कुचालहरूका कारण, त्यसका गम्भीर समस्या, प्रभाव र दीर्घकालीन समाधानका मार्गहरू कोर्दै उपन्यासले अन्ततः ‘स्त्री बुद्धत्व’ प्राप्त पात्रको निर्माण गरेको छ।
स्त्रीहरू भूमि मालिक हुन्, सृष्टिका मुख्य सर्जक हुन्। तर, इतिहासदेखि भूमिको स्वामित्व स्त्रीमा नहुँदा त्यसका के-कस्ता भयानक परिणाम निस्किए? तिनै परिणामको ऐतिहासिक र दार्शनिक जरोमा टेकेर यक्षिणीमार्फत एउटा नयाँ भूमिको सिर्जना गर्न सक्ने र त्यसलाई स्वायत्तता दिन सक्ने एउटा युगनायक पुत्रीको परिकल्पना यहाँ गरिएको छ।
उपन्यासको अन्त्यमा विपरीतलिंगी, समलिंगी, यौनिक तथा अल्पसंख्यकको पहिचान, उनीहरूको रोजाइ र सहकार्यात्मक जीवनशैलीलाई मर्यादित स्थानमा राख्ने प्रयत्न गरिएको छ। यसले कृतिलाई आधुनिक र उत्तर-आधुनिक चेतनाको कसीभन्दा माथि पुर्याएको छ।
स्त्रीहरू भूमि मालिक हुन्, सृष्टिका मुख्य सर्जक हुन्। तर, इतिहासदेखि भूमिको स्वामित्व स्त्रीमा नहुँदा त्यसका के-कस्ता भयानक परिणाम निस्किए? तिनै परिणामको ऐतिहासिक र दार्शनिक जरोमा टेकेर यक्षिणीमार्फत एउटा नयाँ भूमिको सिर्जना गर्न सक्ने र त्यसलाई स्वायत्तता दिन सक्ने एउटा युगनायक पुत्रीको परिकल्पना यहाँ गरिएको छ। भूमिको स्थापना र स्वायत्ततामार्फत स्त्री युगका जैविक, भौतिक, मनोसामाजिक, सांस्कृतिक र आध्यात्मिक आधार सिर्जना गर्न उपन्यास सफल देखिन्छ।
लेखक पात्रहरूमार्फत आफ्नो ‘सुपर इगो’ स्थापित गर्न सफल भएकी छन्। उनले उपन्यासको टाइमलाइनमा पात्रहरूलाई जबर्जस्ती ठड्याएकी छैनन्। प्राकृतिक र कलात्मक तरिकाले लेखक, पाठक र पात्रबीचको इगो र सुपर इगोलाई ‘सेफ ल्यान्डिङ’ गराएकी छन्।
तर, यो सह-अस्तित्वबाट नव-अस्तित्वको खोजी पनि हो। यो उपन्यास पुरुषसत्ता वा असल पुरुष पात्रहरूको विरोधी यात्रा होइन। यो त एउटा सिंगो मानवीय अभियान हो, स्त्री-दर्शनको मौलिक सिर्जना हो।
यसले मानवमूल्य, प्रेम, शान्ति र अहिंसालाई सम्हाल्दै काम, क्रोध र मोहबाट माथि उठेर ‘भोग’ भन्दा आध्यात्मिक ‘योग’ बाट मुक्तिको मार्ग खोज्ने कोसिस गरेको छ। यसले आख्यानलाई वैज्ञानिक, यथार्थवादी र अर्थ-राजनीतिक नभई आध्यात्मिक रंग दिएको छ, जसलाई किताबको कमजोरी पनि मान्न सकिन्छ। स्त्री पात्र र शक्तिको बढी आदर्शीकरण गरिनु पनि अर्को कमजोरी हो। प्रेम र सम्बन्धका हकमा अन्य पक्ष जस्तै खुलस्त नभएर लेखकले किन सहज अवतरण खोजेकोसमेत बुझिँदैन।