काठमाडौँ
००:००:००
२६ असार २०८३, शुक्रबार

मनसुन

इसिमोडको अध्ययन प्रतिवेदनअनुसार मनसुनमा सरदरभन्दा कम पानी परे पनि अचानक ठूलो वर्षा भएर आकस्मिक बाढी, पहिरो र हिमनदीजन्य विपद् जोखिम निम्तिन सक्छ।

२६ असार २०८३
१६ अगस्ट २०२४ मा सोलुखुम्बुको खुम्बु क्षेत्रको थ्यान्बो हिमताल विस्फोटपछि आएको आकस्मिक बाढीले थामे गाउँमा बगाएर ल्याएको गेग्रान। तस्बिर : खुम्बु पासाङल्हामु गाउँपालिकाको फेसबुक
अ+
अ-

यस वर्ष मनसुनमा सरदरभन्दा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार नै अहिले मौसमी अवस्था देखिइरहेको छ। तर, एक अध्ययनले मनसुनमा कम पानी पर्दैमा विपद्‌ आउँदैन भनेर मान्न नसकिने जनाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले विषम मौसमी प्रभावबारे गरेको अध्ययनमा लामो खडेरीपछिको भारी वर्षाले आकस्मिक बाढी, पहिरो र हिमनदीजन्य विपद् जोखिम बढाउने उल्लेख छ। २६ जेठमा सार्वजनिक भएको ‘हिन्दुकुश हिमालय मनसुन आउटलुक, २०२६’ प्रतिवेदनबारे इसिमोडले मंगलबार (२३ असार) विज्ञप्ति प्रकाशन गरेर जानकारी गराएको हो।

यसपालि प्रशान्त महासागरको सतहको तापक्रममा असामान्य परिवर्तनका कारण उत्पन्न हुने जलवायु चक्र ‘एल निनो’ को प्रभावले नेपालसहित दक्षिण एसियामा मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ। तर, अचानक आउने विषम मौसमी घटनाले ठूलो विनाश निम्त्याउने जोखिमसमेत उत्तिकै छ।

इसिमोडका विपद् जोखिम न्यूनीकरण विज्ञ शाश्वत सन्याल भन्छन्, “वर्षा कम हुनु भनेको बाढीको जोखिम पनि कम हुनु हो भन्ने भ्रम सबैमा छ। तर, एल निनोको प्रभावले लामो समय खडेरी हुने भए पनि स्थानीय वायुको दबाबले अचानक ठूलो वर्षा हुन सक्छ, जसले विनाशकारी बाढी र पहिरो निम्त्याउँछ।”

दक्षिण चीनको गुआङ्सी क्षेत्रमा आएको बाढी। तस्बिर : सिन्ह्वा

यसै साता मेसाक नामको आँधीका कारण भारी वर्षा भएपछि आएको विनाशकारी बाढीले दक्षिणी चीनको गुआङ्सी क्षेत्र प्रभावित भयो। बाढीबाट बिहीबारसम्म कम्तीमा ३९ जनाको मृत्यु भएको र एक लाख ३० हजार जति प्रभावितलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले लेखेको छ। बाढीले ड्यामलगायत ठूला पूर्वाधार संरचनामा क्षति गरेको छ।

असामान्य तापक्रम वृद्धिको असर

सरदरभन्दा बढी तापक्रम वृद्धिले हिमनदीमा आधारित सिन्धु, गंगा र ब्रह्मपुत्र जलाधार क्षेत्रमा जोखिम अझ बढ्ने पूर्वानुमान गरिएको इसिमोडको विज्ञप्तिमा उल्लेख छ। तापक्रममा असामान्य वृद्धिले हिमनदी र हिउँ पग्लिने दर तीव्र बनाउने भएकाले जलाधार क्षेत्रमा विपद् जोखिमको सम्भावना हुन्छ। हिउँ पग्लिने दर बढेपछि हिमाली क्षेत्रको भिरालो भूभाग र हिमनदीले बनाएका मोरेन बाँधयुक्त ताललाई कमजोर बनाउँछ।

पछिल्ला वर्षमा खासगरी हिमाली भेगमा नयाँ खालका विपद्जन्य समस्या देखिन थालेका छन्। १ जेठ २०८२ मा हुम्लाको नाम्खा गाउँपालिकास्थित तिल गाउँमा वर्षाविना नै आएको बाढी र सुक्खा पहिरोबाट १८ घरपरिवार विस्थापित भएका थिए। स्थलगत अध्ययनका लागि काठमाडौँबाट गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, खानी तथा भूगर्भ विभाग र जल तथा मौसम विज्ञान विभागका प्राविधिक टोलीले ‘थर्मोकार्स्ट’ को कारण उक्त घटना भएको निष्कर्ष निकालेको थियो। इसिमोडका अनुसार उच्च हिमाली क्षेत्रमा लामो समयदेखि जमिनमुनि पूर्ण रूपमा जमेर बसेको ढुंगा, माटो र गेग्रानलाई ‘पर्माफ्रोस्ट’ भनिन्छ। तापक्रम वृद्धिलगायत कारणले ‘पर्माफ्रोस्ट’ पग्लिने प्रक्रियालाई ‘थर्मोकार्स्ट’ भनिन्छ।

प्राविधिक टोलीको अध्ययनअनुसार ताल भएको जमिनमुनिको भाग पग्लिएर कमजोर भागबाट कटान भएको थियो। कटान भएको ठाउँनेर भिरालो थियो। तालको सतहको हिउँ धस्सिएको थियो। कटान भएको गेग्रान बगेर जाँदा बाढी र पहिरो आएको थियो। हुम्ला तिल गाउँको घटनालाई नेपालमा दुर्लभ घटना मानिएको छ। इसिमोडमा वरिष्ठ जलवायु परिवर्तनविज्ञ अरुणभक्त श्रेष्ठ भन्छन्, “पहिले अफगानिस्तानतिर भएको रहेछ, नेपालको सन्दर्भमा नौलो घटना थियो। तिल गाउँको घटनाले पर्माफ्रोस्ट क्षयीकरणको समस्या नेपालमा पनि देखिन थालेको अनुमान गर्न सकिन्छ।”

हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढीपहिरो। तस्बिर स्रोत : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

इसिमोडका वैज्ञानिकहरूका अनुसार खडेरी, अत्यधिक गर्मी, आकस्मिक बाढी, पहिरो तथा हिमताल विस्फोट जस्ता विपद्का घटना शृंखलाबद्ध देखिन थालेका छन्। अर्थात् एउटाले अर्को विपद्लाई बढावा दिएको छ। जस्तै, खडेरी र बाढी सँगैजसो आउने विपद् मानिन्छन्। सरकारले एकअर्कामा अन्तरसम्बन्धित यस्ता विपद्को जोखिम न्यूनीकरण गर्न एकीकृत प्रणालीको पूर्वतयारी तथा प्रतिकार्य अपनाउनुपर्ने सुझाव विज्ञहरूले दिएका छन्। इसिमोडका हाइड्रोलोजिस्ट मनीष श्रेष्ठ भन्छन्, “प्रत्येक विपद् जोखिमलाई अलग रूपमा होइन, जोखिमका असर न्यूनीकरण गर्न एकसाथ सम्बोधन गर्नुपर्छ।”

खडेरीपछि अत्यधिक वर्षा हुने, आकस्मिक बाढी आउने, तापक्रम वृद्धिले हिमनदी पग्लिने हुँदा नदीको बहाव बढेर तटीय क्षेत्रमा जनधनको क्षति हुने जोखिम हुन्छ। खासगरी नेपाल, भारतका उत्तरी तथा उत्तर-पूर्वी राज्यहरू, पाकिस्तान र अन्य संवेदनशील हिमाली क्षेत्रका नदी किनार, भिराला भूबनोट तथा अव्यवस्थित किसिमको तीव्र सहरीकरण भएका क्षेत्रमा विशेष ध्यान दिन जरुरी हुन्छ। कमजोर भू-बनोट, बढ्दो तापक्रम र पूर्वाधारको तीव्र विस्तारका कारण यी क्षेत्रमा जोखिम अझ थपिइरहेकाले पर्याप्त पूर्वतयारी र प्रतिकार्यमा सरकारले विशेष जोड दिनुपर्ने इसिमोडका हाइड्रोलोजिस्ट श्रेष्ठको सुझाव छ।

सरकार भन्छ– विपद्लक्षित पूर्वतयारी गरिसक्यौँ

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिमा आइपर्ने विपद् प्रतिकार्यका लागि आवश्यक तयारी पूरा गरिसकेको जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महत भन्छिन्, “यसअघि नै जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेर आकस्मिक खालका बाढी, पहिरो जान सक्ने जानकारी गराएअनुरूप पूर्वतयारी गरिएको छ।”

बाढीको पूर्वानुमानलाई विश्वासिलो र भरपर्दो बनाउन जल तथा मौसम विज्ञान विभागले काम गरिरहेको छ। सर्वसाधारणलाई लक्षित गर्दै प्राधिकरणले नि:शुल्क र सजिलो नम्बरको टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ। सर्वसाधारणले १२३४ नम्बरमा फोन गरेर विपद्सम्बन्धी सूचना र जानकारी लिन तथा विपद् प्रतिकार्यसम्बन्धी समस्या र गुनासो राख्न सक्छन्।

यसअघिसम्म सर्वसाधारणले गरेको फोन सिधै प्राधिकरणमा आउने गरेकामा अबदेखि सम्बन्धित जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा सम्पर्क हुन्छ। त्यहीँबाट विपद् प्रतिकार्य टोलीले घटनास्थलमा उद्धार तथा राहत उपलब्ध गराउनुपर्छ। यस्तै, बाढी-पहिरोले अवरोध हुने सडक सञ्जाल खुलाउन हरेक जिल्लामा एक्स्काभेटरको व्यवस्था गरिएको छ। विपद्पछिको उद्धार र राहतलाई चुस्त बनाउन केन्द्रदेखि स्थानीय तहसम्म पूर्वतयारी गरिएको प्राधिकरणकी प्रवक्ता महत बताउँछिन्।

यसैबीच, मौसम पूर्वानुमानले अहिले देशैभर हल्कादेखि मध्यम वर्षा हुने देखाए पनि पानी कतै राम्ररी पर्ने र नपर्ने भइरहेको मौसमविद् विनोद पोखरल बताउँछन्। मौसम पूर्वानुमान मोडलले वर्षा हुने देखाए पनि पूर्वी नेपालमा पानी परेको छैन। तराईमा लगातार बादल लागेको देखिन्छ तर वर्षा भएको छैन। भारी वर्षाको सम्भावना देखिए पनि ठाउँ र मात्राबारे यकिन पूर्वानुमान भएको छैन।

‘आज बेलुका (शुक्रबार)देखि आइतबारसम्म केही ठाउँमा भारी वर्षाको सम्भावना देखिन्छ,’ पोखरेलले फेसबुकमा लेखेका छन्, ‘दुई वटा मोडलले भारी वर्षा हुने ठाउँ र मात्रा फरक देखाएको छ, एउटाले पश्चिम देखाउँछ, अर्कोले पूर्व, त्यसैले ठाउँ भन्न गाह्रो छ।’ तर, भारी वर्षा लामो समय नपर्ने उनको आकलन छ। यद्यपि भारी वर्षाबाट हुने सम्भावित जोखिमका लागि सजगता अपनाउन सुझाव दिएका छन्।

 

यो पनि पढ्नुहोस्

 

विषम मौसमी प्रणालीले संकट

 

विपद् पूर्वतयारीमा बेपरवाह