काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

दृष्टिकोण

मुन्दुम पदमार्ग हुँदै सप्तकोसी-सगरमाथा क्षेत्रमा १०० किलोमिटर केबलकार परियोजना बनाउने प्रस्ताव भौगोलिक, प्राकृतिक, सामाजिक र सांस्कृतिक सबै हिसाबले आपत्तिजनक छ।

१० असार २०८३
मुन्दुम पदमार्ग। फाइल तस्बिर
अ+
अ-

हालै पर्यटन व्यवसायी रमेश राईले सुनसरीको चतरादेखि सोलुखुम्बुको लुक्ला खरीखोलासम्म केबलकारको अवधारणा प्रस्तुत गरेको पढ्न पाइयो। २७ जेठमा फेसबुकमा ‘प्रदेश १ को गेम चेन्जर मेगा परियोजना : सप्तकोसीदेखि सगरमाथासम्म केबल-वे निर्माण’ शीर्षकमा उनले लामो स्टेटस लेखेका छन्। जसमा उनले मुन्दुम पदमार्गका मुख्य क्षेत्र भएर केबलकार निर्माणको अवधारणा अघि सारेका छन्। राई उनै व्यक्ति हुन्, जसले भोजपुर, खोटाङ र सोलुखम्बुका पहाडहरूलाई जोड्ने मुन्दुम पदमार्गको सम्भावनाको खोज, प्रस्ताव, स्वीकृति र विकासमा मुख्य भूमिका खेलेका थिए।

उनको प्रस्तावित सप्तकोसी-लुक्ला केबलकार परियोजना १०० किलोमिटर लामो हुने भनिएको छ। सप्तकोसीदेखि सगरमाथासम्मको करिडोरभित्र वार्षिक १५ देखि २० लाख पर्यटक भित्र्याउने तथा सोलुखुम्बु, भोजपुर, खोटाङ, ओखलढुंगा, संखुवासभा, उदयपुरका जनतालाई सबैभन्दा छोटो माध्यमबाट प्रदेश १ को राजधानी र तराईसँग जोड्ने दुई उद्देश्यले यो अवधारणाको जन्म भएको उनले उल्लेख गरेका छन्।

यसका साथै, केबलकार बनेपछि त्यस क्षेत्रका प्राकृतिक, जैविक, सांस्कृतिक, धार्मिक स्थलहरूको प्रवर्द्धन हुने, पर्यटक आगमनबाट होटल, रेस्टुराँ क्षेत्र तथा ट्रेकिङ गाइड, भरिया, सवारीचालक आदिमा ५० हजारले प्रत्यक्ष रोजगारी पाउने, स्थानीय उत्पादनहरूले बजार पाउने, भविष्यमा बन्ने ‘ग्रेटर मुन्दुम ट्रेल’ मा निश्चित दिनभित्रै पदयात्रा सम्भव हुने, सगरमाथा क्षेत्र प्रवेश गर्ने वा फर्कने सम्पूर्ण पर्यटकको बेस स्टेसन प्रदेश १ हुने जस्ता फाइदा नौ बुँदामा उल्लेख छन्।

केबलकार परियोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्न सकिने र ५० देखि ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। नेपालमा पर्यटनको सम्भावना र अवसरहरू पुस्तकका लेखक राईले परियोजनाको प्रस्तावित नक्सा पनि सार्वजनिक गरेका छन्। आगामी समयमा हुने निर्वाचनहरूमा केबलकार निर्माण परियोजनाको मुद्दाले प्राथमिकता पाउनुपर्ने उनको माग छ।

किराती र त्यसमा पनि राईले विश्वास गरिआएका आस्थाका केन्द्रहरूको मुख्य भौगोलिक स्वरूप र पवित्रतालाई बचाउँदै जोडेको मुन्दुम पदमार्गका अगुवाबाटै यस पदमार्गको मुटु चिरेर केबलकार बनाउने प्रस्ताव कसरी आयो, अचम्मलाग्दो छ।

राईले ४२ किलोमिटर लामो मुन्दुम पदमार्गलाई पर्यटन मन्त्रालयबाट प्रकाशित नेपालका घुम्नैपर्ने सय गन्तव्यको सूचीमा पार्न पनि मुख्य भूमिका खेलेका थिए। मुन्दुम पदमार्गमा पर्यटन पूर्वाधारहरूको विकासका लागि विभिन्न देशी-विदेशी दाता मुख्यगरी नेपाल सरकार, स्विस सरकार (एसडीसी), कोसी प्रदेश र स्थानीय सरकारहरूबाट स्रोत जुटाउन पनि उनको महत्त्वपूर्ण भूमिका थियो। यो पदमार्ग विस्तार गरी बृहत् मुन्दुम पदमार्ग (ग्रेटर मुन्दुम ट्रेल) निर्माणमा आफू जुटेको पनि बताइरहेका छन्। उनले प्रस्तावित ग्रेटर मुन्दुम ट्रेलको नक्सा पनि फेसबुकमा पोस्ट गरेका थिए।

मुन्दुमी श्रुतिपरम्परा तथा स्मृतिमा उल्लेख भएअनुसार प्रागैतिहासिक युगमा बसाइँसराइका क्रममा किराती पुर्खाहरूले प्रयोग गरेको बाटो, बास बसेको थलो र पूजास्थलहरूलाई प्रवर्द्धन गरेर बनाइएको हो, मुन्दुम पदमार्ग। जुन किराती र त्यसमा पनि राईले विश्वास गरिआएका आस्थाका केन्द्रहरूको मुख्य भौगोलिक स्वरूप र पवित्रतालाई बचाउँदै जोडेको मुन्दुम पदमार्गका अगुवाबाटै यस पदमार्गको मुटु चिरेर केबलकार बनाउने प्रस्ताव कसरी आयो, अचम्मलाग्दो छ।

केबलकारको सम्भावित असर

राईले व्यक्तिगत तवरमा केबलकार परियोजनाको सपना देखे पनि पछिल्लो समय सबैतिर केबलकार-विकासको लहर चलिरहेको बेला कुनै दिन मुन्दुम पदमार्ग क्षेत्रलाई पनि त्यस्तो लहरले नछोला भन्न सकिन्न। त्यसो भएको खण्डमा प्रकृति, जैविक विविधता, स्थानीयको जीविकोपार्जन, संस्कृति, आदि हरेक पाटोमा नकारात्मक असर पर्नेछ।

प्रस्तावनामा केबलकारको मुख्य अर्थात् बेस स्टेसन सुनसरीको चतरामा रहने, अन्तिम स्टेसन सोलुखुम्बुको खरीखोला आसपास रहने र विभिन्न सहायक टर्मिनल रहने उल्लेख छ। जसमा चखेवा आसपास भोजपुरको टेम्केमैयुङमा एउटा, हाँसपोखरी आसपास खोटाङको केपिलासगढीमा एउटा र सिलिचुङ आसपास सोलुखुम्बुको महाकुलुङमा एउटा टर्मिनल राख्ने भनिएको छ। यी तीन टर्मिनल मुन्दुम पदमार्गको मुख्य क्षेत्र अर्थात् मुटुमा पर्छन्।

लोपोन्मुख हाब्रे (रेड पान्डा) प्राकृतिक रूपमा पाइने क्षेत्र यही हो। भर्खरै थारू संरक्षण क्षेत्र घोषित क्षेत्र पनि यही हो। गुराँस र सल्लाका दर्जनौँ प्रजाति, भोजपत्र, मालिंगो, सयौँ जडीबुटी र चराचुरुंगी तथा वन्यजन्तुहरूको प्राकृतिक वासस्थान यस क्षेत्र प्राकृतिक सौन्दर्य, पर्यावरणीय तथा जैविक विविधतामा धनी छ। तर, यसबारे विस्तृत अध्ययन-अनुसन्धान भइसकेको छैन। अहिलेसम्म अध्ययन-अनुसन्धान र ठूलोखाले मानवीय अतिक्रमण नभएको चोखो क्षेत्र हो यो।

विकासका नाममा हुने कंक्रिटको भरमार प्रयोगबाट मुक्त, होहल्लारहित शान्त ध्यानस्थलका रूपमा जोगाइराख्ने मध्यवर्ती क्षेत्रका समाजको प्रतिबद्धताले अहिलेसम्म यस क्षेत्रलाई प्राकृतिक स्वरूपमा राखिरहेको छ। पदयात्रीको सहजता र सुविधाका लागि पूर्वाधारहरू धमाधम निर्माण भइरहेका छन्। जसमा पर्यावरणमैत्री र स्थानीय स्रोत, साधन र प्रविधिलाई जोड दिइएको छ। अप्ठ्यारा ठाउँहरूमा ढुंगा छाप्ने, पानीका मुहानमा धाराको व्यवस्था गर्ने, फोहोर विसर्जन गर्ने बाकस राख्ने, शौचालय र चौतारा निर्माण गर्ने, गोठहरूलाई गोठबासका रूपमा पर्यटकअनुकूल बनाउने जस्ता कामहरू भएका छन्, हुँदै छन्।

यस क्षेत्रमा केबलकार बन्यो भने मानिसको त ओइरो लाग्ला, तर मुन्दुम पदमार्गको नाममा अहिलेसम्म भएका सबैखाले प्रयत्न र लगानी खेर जानेछन्। करोडौँ रुपैयाँ खर्चेर बनाइएका सिँढीहरूमा हिँड्ने कोही हुनेछैनन्। केही उदाहरण, चखेवादेखि हाँसपोखरीसम्म केबलकार भएपछि को हिँड्छ धोत्रे-जलजलेको बाटो? हाँसपोखरीबाट सिलिचुङ छेउसम्मै केबलकारबाट जान पाइने भएपछि को चढ्छ लौरेको कठिन उकालो र रुनाको भीर?

चतराबाट सिधै लुक्ला पुग्ने सुविधा भएपछि यात्री र पर्यटकहरू सिधै लुक्ला जानेछन्, आकाशबाट प्राकृतिक सौन्दर्य हेर्नेछन् र सिधै फर्कनेछन्। कतिपयले मन लागे सबस्टेसन र टर्मिनलहरूमा उत्रिएर आसपासका क्षेत्रमा केहीबेर घुमघाम गर्नेछन्। त्यसले त्यस भेगको जैविक विविधता खलबल्याउनेछ।

हेर्दा, सुन्दा र भन्दा अत्यन्तै महत्त्वाकांक्षी र नेपाल जस्तो अल्पविकसित तथा सानो बजेटको मुलुकमा तत्काल असम्भव देखिए पनि मुन्धुम पदमार्ग हुँदै केबलकार परियोजना निर्माणको प्रस्तावले एउटा विषयको उठान भइसकेको छ। यस परियोजनाले भविष्यमा लामो समयसम्म त्यस क्षेत्रका बासिन्दा र त्यस क्षेत्रसँग परिचितहरूलाई पछ्याइरहनेछ।

केबलकारमा यात्रु चढाउने-ओराल्ने टर्मिनल, केबल मार्ग र टावरहरू निर्माणका लागि हजारौँ रुख काट्नुपर्ने हुन्छ। निर्माण सामग्री निर्माणस्थलमा पुर्‍याउने क्रममा प्राकृतिक भूगोल र त्यहाँका वनस्पतिमा क्षति पुग्नेछ। वन्यजन्तुका बास र विचरण क्षेत्रहरू नष्ट हुनेछन्। भावनात्मक रूपमा त्यस भेगका आदिवासीहरूको आस्थामा प्रहार हुनेछ। उनीहरूको सांस्कृतिक धरोहर समाप्त हुनेछ।

आर्थिक रूपमा हेर्दा ठूला व्यापारीले साना व्यवसायीको अस्तित्व समाप्त पार्नेछन्। हुर्किंदै गरेका गोठबासलगायत साना लगानीका पर्यटन व्यवसाय नामेट हुनेछन्। किनभने, केबलकारको बाटो छिटो र सजिलो हुने भएकाले मानिसहरूको आगमन ह्वात्तै बढे पनि त्यो चहलपहल टर्मिनल आसपास मात्रै हुनेछ। मैयुङका गोठमा बास बस्ने गरी कोही पनि पर्यटक केबलकारबाट झर्नेछैनन्। झरेकाहरू केहीबेर घुमफिर गरेर फर्किहाल्नेछन्।

पशुपालनका पैदावारहरू फेरि ठेकेदारहरूले कब्जा गर्नेछन्। खाजा र खानाका लागि टर्मिनलमा केबलकार कम्पनीले नै होटल बनाउनेछ। सबैभन्दा सुन्दर स्थलहरूमा ठूला होटल र रिसोर्टहरू बन्नेछन्। जसले विकासको नाममा प्रकृतिलाई चिथोरेर विरूप पार्नेछ।

विरोध गर्नेलाई ‘अबुझ’ करार

ठूल्ठूला भौतिक पूर्वाधार निर्माण गरिँदा त्यसले भौगोलिक, प्राकृतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा असर पार्नेबारे आवाज उठाउनेहरूलाई विकासविरोधी करार गर्ने गरिन्छ। यो प्रवृत्ति विश्वव्यापी छ। पुँजीपतिहरू पैसाको बलमा राज्यशक्तिलाई प्रभावमा पारेर आधुनिकता, विकास र रोजगारीका नाममा प्राकृतिक स्रोत र सम्पदा कब्जा गरी दोहन गर्न प्रयत्नरत छन्। त्यस्ता भूगोलका बासिन्दा स्थानीय भूगोलमा आफ्नो विशेषाधिकारको रक्षा गर्न उत्रिने गरेका छन्। पुँजीपतिहरू परियोजना प्रभावित समुदायबाटै बिचौलियाहरू उत्पादन गर्छन् र स्थानीयको आवाज दमन गर्न प्रयोग गर्छन्। ताप्लेजुङको मुक्कुमलुङमा केबलकार र स्थानीय आदिवासीहरूको द्वन्द्व हिंसात्मक भएर पनि नटुंगिएको बरु झन् पेचिलो बन्दै गएको अवस्थामा अर्को केबलकारको सपना आइपुगेको छ।

सामाजिक-सांस्कृतिक पर्यटन अभियन्ता राईले आफ्नै अन्तस्करण र स्वविवेकमा सप्तकोसी-सगरमाथा केबलकारको अवधारणा ल्याएका हुन् कि मैयुङ र साल्पाको सेरोफेरो कब्जा गर्न आँखा गाडेर मौका कुरिरहेका पुँजीपतिहरूको मुखपत्र बनेका हुन्, त्यो भविष्यमा खुल्दै जानेछ। केबलकारको अवधारणाबारे उनको फेसबुक स्टेटसमा केहीले समर्थन गरेका छन्, धेरैले असहमति व्यक्ति गरेका छन्।

यो केबलकार प्रस्ताव पूरै नबनेर केही अंश मात्रै बन्यो भने पनि सधैँका लागि विनाश भोग्ने मुन्दुम पदमार्गले नै हो।

असहमति राख्नेहरूलाई उनले विकासविरोधी हैन ‘अबुझ’ को संज्ञा दिएका छन्। उनले आफ्नो प्रस्तावको सैद्धान्तिक प्रतिरक्षाको साटो असहमत हुनेहरूलाई ‘नपढी, अध्ययन नगरी, कुरा नबुझी दिएको प्रतिक्रिया’ भनेका छन्। धेरैले विरोध जनाउन थालेपछि त्यो स्टेटसमा कमेन्ट गर्न नमिल्ने बनाएका छन्।

हेर्दा, सुन्दा र भन्दा अत्यन्तै महत्त्वाकांक्षी र नेपाल जस्तो अल्पविकसित तथा सानो बजेटको मुलुकमा तत्काल असम्भव देखिए पनि मुन्धुम पदमार्ग हुँदै केबलकार परियोजना निर्माणको प्रस्तावले एउटा विषयको उठान भइसकेको छ। यस परियोजनाले भविष्यमा लामो समयसम्म त्यस क्षेत्रका बासिन्दा र त्यस क्षेत्रसँग परिचितहरूलाई पछ्याइरहनेछ।

तत्कालीन संस्कृतिमन्त्री गोपाल किरातीले मुन्दुम पदमार्गको एउटा मुख्य आकर्षण र गन्तव्य टेम्केको चुलीमा प्रस्ताव गरेको सयतले अत्याधुनिक वाबुक टावर उनको अवधारणाअनुरूपको बनेन। त्यसको साटो फलामको भाटे टावर ठडिएको छ। त्यसले टेम्केको प्राकृतिक स्वरूप र सौन्दर्यलाई सधैँका लागि ध्वस्त पार्नेबाहेक केही गरेन। यो केबलकार प्रस्ताव पूरै नबनेर केही अंश मात्रै बन्यो भने पनि सधैँका लागि विनाश भोग्ने मुन्दुम पदमार्गले नै हो।