दृष्टिकोण
आस्तिक र नास्तिक शब्द पूर्वीय परम्परामा वेदसम्बन्धी विशिष्ट भए पनि पश्चिमा प्रभाव बढ्दै जाँदा ईश्वरीय सत्ता मान्ने र नमान्नेसँग जोडेर गलत अर्थमा बुझ्न थालिएको छ।
भक्तपुरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिका रूपमा संस्कृतिविद् सत्यमोहन जोशी आमन्त्रित हुनुहुन्थ्यो। आयोजक संस्था यो पंक्तिकारको आफ्नै थियो। कार्यक्रमस्थलमा आएदेखि नै मप्रति जोशीको हेराइ अलि अस्वाभाविक रहेको महसुस गरिरहेको थिएँ। तर, पाहुनाहरूको स्वागत र अन्य व्यवस्थापनमा व्यस्त हुनुपरेकाले उहाँसँग कुरा गर्ने मेसो मिलेको थिएन।
कार्यक्रम समापनपछि जलपान र सामूहिक तस्बिर खिचेर छुट्ने बेला उहाँले प्रश्न गर्नुभयो, “तपाईंले आज त्यो के लेख्नुभएको?”
त्यसबेला म हिमाल खबरपत्रिका (साप्ताहिक)को स्तम्भकार थिए। प्रत्येक आइतबार छापिने उक्त पत्रिकामा बुद्ध, बौद्ध धर्म, बौद्ध सम्पदा र विविध विषयमा लेख्थेँ। संस्कृतिविद् जोशी मेरो लेखको नियमित पाठक हुनुहुन्थ्यो। लेखबारे प्रशंसा र टिप्पणी गर्नुहुन्थ्यो। त्यस अंकको लेख उहाँलाई चित्त बुझेको रहेनछ भन्ने थाहा भयो। सोधेँ, “के भयो र, सर?”
“तपाईंले बुद्धलाई नास्तिक भनेर लेख्नुभयो,” उहाँले आफूलाई चित्त नबुझेको कुरा बताउन थाल्नुभयो, “स्वर्ग, नर्क, लोक, परलोक, पूर्वजन्म, पुनर्जन्म सबै मान्ने बुद्धलाई यत्तिकै नास्तिक कसरी भन्न सकिन्छ? यो त भएन नि।”
हिजोआज थेइस्ट शब्दको अनुवाद आस्तिक र एथेइस्टलाई नास्तिक भनेर बुझ्ने र बुझाउने परम्परा छ। यस्तो बुझाइ दर्शनशास्त्रको दुनियाँमा दुर्घटना हो। यसले गर्दा पूर्वीय दर्शनको बुझाइ नै गोलमाल हुन पुगेको छ।
स्पष्टीकरण दिएँ, “पूर्वीय दर्शनमा बुद्धलाई नास्तिक नै मानिन्छ र बौद्ध दर्शनलाई नास्तिक दर्शनको कोटिमा राखेर पढाइन्छ पनि। बुद्धलाई आस्तिक र आस्तिक दर्शन मान्न थालियो भने धेरै कुरा गोलमाल हुन पुग्छ। त्यस कुरालाई पनि ख्याल राख्नुपर्यो नि!”
जोशीको चित्त अझै बुझेको थिएन, भन्नुभयो, “बुद्धको दर्शन आध्यात्मिक हो। चार्वाक् जस्तोलाई पो नास्तिक भन्न सुहाउँछ। मेरो त चित्त बुझ्दै बुझेन है।”
कुराकानी चलिरहँदा एउटा गाडी हामी भएको ठाउँनेर आइपुग्यो। उहाँलाई त्यसमा घर जाने चाँजोपाँजो मिलाइएको थियो। हामी छुट्टियौँ। तर, उहाँको प्रश्न रहिरह्यो। यस प्रश्नको सेरोफेरोमा विमर्श गरेर दर्शन क्षेत्रमा रहेको बुझाइको समस्या सुल्झाउन सकिन्छ।
थेइस्ट र एथेइस्ट
जीवन र जगत्लाई हेर्ने दृष्टिकोणमा पाश्चात्य समाजमा ‘थेइस्ट’ र ‘एथेइस्ट’ शब्द प्रमुख रूपमा आउँछन्। ‘थेइस्ट’ हरू ईश्वरको अस्तित्वमा विश्वास गर्छन्। ‘यो चराचर जगत् ईश्वरको सिर्जना हो। सृष्टिकर्ता ईश्वरप्रति हामी सबै कृतज्ञ र नतमस्तक हुनुपर्छ। उनीविरुद्ध केही पनि बोल्नु हुँदैन। उनीप्रति अनास्था राखे, उनी असन्तुष्ट भए धेरै कुराको नोक्सानी बेहोर्नुपर्छ’ भन्ने उनीहरूको मान्यता हुन्छ।
‘एथेइस्ट’ हरूले भने यसविपरीत दृष्टिकोण राख्छन्। उनीहरूको बुझाइमा ईश्वरको अस्तित्व छैन। सृष्टिकर्ता भन्ने कुनै दैवी शक्ति छैन। स्वर्ग-नर्क भन्ने कुरा झुटो हो। थेइस्टहरूले समाजमा अन्धविश्वास फैलाइरहेको उनीहरूको दलिल हुन्छ।
पाश्चात्य समाजमा थेइस्ट र एथेइस्ट हुनु वा नहुनुको एक मात्र आधार ईश्वरको सत्तालाई स्वीकार र अस्वीकार गर्नु मात्रै हो। यही स्वीकार-अस्वीकारले समाजलाई दुई कित्तामा विभाजन गरेको छ र सदियौँदेखि द्वन्द्वको भावना चल्दै आएको छ। तर, थेइस्ट र अथेइस्टले पूर्वीय धर्मदर्शनमा प्रचलित आस्तिक र नास्तिकसँग कुनै सम्बन्ध राख्दैन।
आस्तिक र नास्तिक
पाश्चात्य समाजमा थेइस्ट र एथेइस्ट भनिए जस्तै पूर्वीय समाजमा आस्तिक र नास्तिक शब्द प्रचलित छन्। तर, थेइस्ट र एथेइस्टको अनुवाद आस्तिक र नास्तिक होइन।
आस्तिक र नास्तिक शब्दको अर्थ पूर्वीय परम्परामा स्पष्ट र विशिष्ट भए पनि हिजोआज यसले अर्कै अर्थ ग्रहण गर्न थालेको जस्तो देखिन्छ। यसलाई पूर्वीय दर्शनमा पाश्चात्य प्रभाव बढ्न थालेको भन्नु उपयुक्त हुन्छ। हिजोआज थेइस्ट शब्दको अनुवाद आस्तिक र एथेइस्टलाई नास्तिक भनेर बुझ्ने र बुझाउने परम्परा छ। यस्तो बुझाइ दर्शनशास्त्रको दुनियाँमा दुर्घटना हो। यसले गर्दा पूर्वीय दर्शनको बुझाइ नै गोलमाल हुन पुगेको छ।
थेइस्ट र एथेइस्टले ईश्वरको सत्ता मान्ने वा नमान्ने अर्थ दिन्छ। तर, आस्तिक र नास्तिकले ईश्वरको सत्तासँग सरोकार राख्दैनन्। पूर्वीय दर्शनमा वैदिक वा हिन्दू जसलाई भनिन्छ, त्यसका दार्शनिक सम्प्रदायलाई षट्दर्शनको नामबाट जानिन्छ। षट्दर्शनमध्ये सांख्य, योग र मीमांसाले ईश्वरको सत्तालाई मान्दैनन्। तर, यी तीनलाई आस्तिक दर्शनकै दर्जामा राखिन्छ।
पाश्चात्य शब्दकोश पल्टाएर पूर्वीय ज्ञानलाई बुझ्न खोज्नु भनेको मुम्बई सहरको म्याप बोकेर बेइजिङ घुम्न निस्किँदा हराए जस्तै हो।
ईश्वरको सत्ता मान्ने र नमान्ने दुवै खालका दर्शनलाई आस्तिकअन्तर्गत राखिनुले स्पष्ट हुन्छ, आस्तिक वा नास्तिक हुनु ईश्वर मान्नु वा नमान्नु होइन। ईश्वरको सत्ता नमान्ने चार्वाक्, जैन र बौद्धलाई नास्तिकअन्तर्गत राखिनुले थप स्पष्ट हुन्छ, आस्तिक र नास्तिक भन्ने कुराले ईश्वरसँग सरोकार राख्दैनन्। आस्तिक र नास्तिकले वेदलाई मान्ने वा नमान्ने कुरासँग मात्रै सम्बन्ध राख्छन्।
पूर्वीय समाजको जीवन र जगत्लाई हेर्ने आध्यात्मिक र भौतिकवादी दुवै दृष्टिकोण प्राचीन कालदेखि अस्तित्वमा थिए। यी दुई दृष्टिकोण हिजोआज प्रचलनमा रहेका विभिन्न धर्मदर्शनको प्रादुर्भाव हुनुअघिदेखि नै थिए। ऋग्वेदमा आधारित वैदिक दर्शनको विकास उपनिषद् र ब्रह्मसूत्रमा भयो। साथै, विभिन्न सम्प्रदाय पनि देखा परे। यी जम्मैलाई समेट्ने गरी षट्दर्शनको विकास भयो। वेदमा आधारित षट्दर्शन आस्तिक र वेदसँग असहमत विचारधारा तथा मतवादलाई नास्तिक भन्न थालियो।
नास्तिक दर्शन भनेर चार्वाक्, जैन र बौद्धलाई भन्ने गरिए पनि यीभन्दा बाहेक अर्थात् वेदलाई प्रमाण नमान्ने विश्वका सबै दर्शन र मतवादलाई पनि नास्तिक नै भन्न सकिन्छ। यसको स्पष्ट अर्थ हो, आस्तिक दर्शनहरूले वेदलाई मान्छन्, तर विभिन्न विचारधारा राखेर प्रतिस्पर्धा गर्दै आफ्नो स्वतन्त्र अस्तित्व कायम गर्छन्। यसरी नै नास्तिक हुनुको एक मात्र आधार वेद नमान्ने तर वेद नमान्ने अन्य नास्तिक दार्शनिक सम्प्रदायसँग प्रतिस्पर्धा गर्नु हो। रमाइलो कुरा त कहाँ छ भने, भौतिकवादी दर्शनको अस्तित्व वैदिक समाजमा पनि पाइन्छ, अर्थात् आस्तिक दर्शनअन्तर्गत भौतिकवाद पनि पर्छ।
घालमाल दर्शनको दबदबा
वेद मान्नु-नमान्नु व्यक्ति वा समुदायको स्वविवेकको कुरा हो। मान्नेले नमान्नेलाई इतर पक्षका रूपमा देख्नु स्वाभाविक हो। विपक्षीलाई शत्रु र हानिकारक देख्नु आदिम मानवीय स्वभाव हो। वेद मान्ने आस्तिकहरूले आफू मात्रै धर्मात्मा भनेर बुझ्नु पनि स्वाभाविक हो। यस प्रकार विपक्षीलाई नकारात्मक रूपमा लिने, पछौटे भनेर बुझ्ने र हेप्ने गर्न थालियो।
वेद मान्नेहरू (आस्तिक)को दृष्टिमा अरू सबै नास्तिक (वेद नमान्ने) हुन्। पछि वेद मान्नेले नमान्नेलाई प्रयोग गर्ने गालीगलौजको शब्द पनि भयो ‘नास्तिक’। यहीअनुसार कुनै बेला बौद्ध, जैन तथा चार्वाक्हरूलाई गाली गर्नुपर्दा नास्तिक शब्दकै प्रयोग भएको पाइन्छ। त्यही भाष्यअनुसार यस शब्दले उद्दण्ड, आध्यात्मिकतामा वास्ता नराख्ने आदि अर्थमा बौद्धहरूलाई गाली गरेको पाइन्छ। तर, बौद्धलगायत अन्यले आस्तिक र नास्तिक दुवै शब्द प्रयोग नगर्नुको कारण यी दुई शब्दले वैदिकहरूको मात्रै सरोकार राख्नु थियो। अपवादका रूपमा कतिपय बौद्ध ग्रन्थमा बौद्धका लागि आस्तिक र अन्यका लागि नास्तिक शब्दको प्रयोग भएको पनि पाइन्छ। तर, यसलाई पूर्ववर्ती आस्तिक (वेदका पक्षपाती) हरूको सिको वा प्रभाव भन्न सकिन्छ।
पाश्चात्य समाजमा ईश्वर, स्वर्ग, नर्क, पूजापाठ आदिको अर्थमा मात्रै प्रयोग हुने थेइस्ट शब्दको प्रयोग वैदिकलगायत पूर्वका अन्य मतवादहरूमा पनि प्रयोग हुन थाल्यो। झट्ट हेर्दा कोरा भौतिकवादीहरूलाई मात्र नास्तिक भन्न सकिने बुझाइ बन्यो। यहीअनुसार बौद्ध तथा जैन धर्मावलम्बीहरू आफूलाई भौतिकवादी नभएर अध्यात्मवादी भनेर चिनारी दिनका लागि बेग्लै भाष्यको आस्तिक शब्दमा झुन्डिन पुगेको पाइन्छ। बुझ्नुपर्ने कुरा के हो भने, बौद्ध तथा जैन कोरा भौतिकवादी हुँदै होइनन्, बुद्ध र महावीर वर्धमानले पनि अध्यात्मवादीकै रूपमा चिनाउने हो। लोकायत (भौतिकवाद)विरुद्ध बुद्धको कटु टिप्पणी तथा आलोचना बौद्ध साहित्यमा पढ्न पाइन्छ।
बुद्धलाई नास्तिकका रूपमा लिन नचाहनुको खास कारण बुद्धले वेदलाई मानेको वा नमानेको कुराको जानकारी नै नहुनु मात्रै नभएर बौद्ध समाजमा पूजापाठ, स्वर्ग-नर्क, पूर्वजन्म, पुनर्जन्म, देवता आदि प्रचलित देखेर हो। पूर्वीय दार्शनिक ज्ञानक्षेत्रमा पाश्चात्य प्रभाव धेरै मात्रामा हचुवाको भरमा भित्रियो। पाश्चात्य शब्दकोश पल्टाएर पूर्वीय ज्ञानलाई बुझ्न खोज्नु भनेको मुम्बई सहरको म्याप बोकेर बेइजिङ घुम्न निस्किँदा हराए जस्तै हो। तर, हराइयो भन्ने महसुस नगरिनुले चाहिँ हाम्रो ज्ञान क्षेत्र कति पंगु भइसकेको रहेछ भन्ने जनाउँछ।