काठमाडौँ। नेपालले १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णसहित तीन पदक प्राप्त गरेको छ।
भुटानको थिम्पुमा जारी प्रतियोगितामा एक स्वर्ण, एक रजत र एक कास्य पदक प्राप्त गरेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घका सचिव दिनेशकुमार राजभण्डारीले जानकारी दिए।
पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि आकाश श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए।
त्यसैगरी महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत जितिन्। पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथि पुकार शाक्यले कास्य पदक हात पारे। तीनै खेलाडीको यो पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता हो। दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करणदेखि नै नेपाल सहभागी हुँदै आएको छ।