काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेका छन्।
सोमबार दिउँसो विज्ञप्ति जारी गर्दै खड्काले पार्टीमा भएको असहज अवस्था समाप्त पार्न जरुरी रहेको भन्दै एकताका साथ अघि बढ्न अनुरोध गरेका हुन्। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस विभाजनउन्मुख छ। विशेष महाधिवेशनले कार्यविधि पारित गर्दै सभापतिबाट शेरबहादुर देउवालाई हटाएर नयाँ कार्यसमिति चयनको प्रक्रिया सुरु गरिसकेको छ।
पार्टी विभाजनको मुखमा पुगेपछि सभापति देउवा आफूनिकट नेताहरूसँग छलफलमा छन्। देउवा छलफलमा रहँदा उनीनिकट कार्यवाहक सभापति खड्काले विज्ञप्ति जारी गरेका हुन्। “नेपाली कांग्रेसका सबै सदस्य, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, जिल्ला, पालिका, वडा तहका पदाधिकारी, सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू मिलेर देशको विषम परिस्थितिका प्रति गम्भीर हुँदा पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी छ,” खड्काले भनेका छन्।
