पूर्वमहान्यायाधिवक्ता भण्डारी र स्वस्ति शर्मासहितका आरोपीलाई पक्राउ गर्न माग
काठमाडौँ। काठमाडौँको माइतीघरमा डिम्ब व्यापार र डिम्ब तस्करीविरुद्ध प्रदर्शन गरिएको छ।
किशोरीहरूले विभिन्न प्लेकार्ड र नाराबाजीसहित गरेको प्रदर्शनमा युवा अभियन्ता तथा सर्वसाधारणको उपस्थिति थियो। प्रदर्शनकारीहरूले पीडित किशोरीहरूलाई तत्काल न्याय दिनुपर्ने, डिम्ब तस्करीमा संलग्न रहेको आरोप लागेका पूर्वमहान्यायाधिवक्ता सबिता भण्डारी बराललाई तत्काल पक्राउ गर्नुपर्ने र यस अवैध कार्यमा संलग्न डाक्टरहरूलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन्।
उनीहरूले ‘होप फर्टिलिटी’ लगायत केन्द्रहरूमा डिम्ब तस्करीमा संलग्न डा. स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानसहितका चिकित्सकको मेडिकल लाइसेन्स खारेज गरी मुद्दा चलाउनुपर्ने माग पनि गरे। प्रदर्शनमा डिम्ब तस्करीविरुद्ध अभियान चलाउँदै आएका अभियन्ता किरण विक पनि सहभागी थिए।

प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले पूर्वमहान्यायाधिवक्ता सबिता भण्डारी बराल सरकारमा महान्यायाधिवक्ता नियुक्त भएपछि शक्तिको दुरुपयोग गरी आफ्नो मुद्दा आफैँ खारेज गराएको दाबी गरेका छन्। साथै उनले राजनीतिक र प्रशासनिक पहुँचको भरमा आफ्नै छोरीसमेत संलग्न रहेको डिम्ब तस्करीको मुद्दा कमजोर बनाएको आरोपसमेत प्रदर्शनकारीहरूले लगाएका छन्।
प्रदर्शनका क्रममा अभियन्ता विकले डिम्ब तस्करीमा संलग्न पूर्वमहान्यायाधिवक्ता भण्डारी र संलग्न डाक्टरहरूमाथि फौजदारी अभियोग दर्ता भई कानुनी कारबाही अघि नबढेसम्म आन्दोलन निरन्तर जारी रहने चेतावनी दिए। गैरकानुनी डिम्ब व्यापारले किशोरीहरूको स्वास्थ्य र भविष्यमा खेलबाड भइरहेको भन्दै प्रदर्शनकारीहरूले दोषीलाई राजनीतिक वा प्रशासनिक संरक्षण नदिन र शक्तिको आडमा मुद्दा कमजोर नबनाउन सरकारको ध्यानाकर्षण गराए।