कौसी खेती
भान्साको फोहोरलाई मल, खाली छतलाई खेत र उपभोक्तालाई उत्पादक बनाउने अभ्यासलाई स्थानीय तहले सहरी कृषि नीति बनाउनुपर्छ।
विराटनगरमा झन्डै दुई दशकदेखि कौसीमा तरकारी र फलफूल लगाउँदै आएको मेरो अनुभवले भन्छ– सहरमा खेती असम्भव छैन। केही गमला, थोरै माटो, भान्साबाट निस्कने कुहिने फोहोर र निरन्तर जाँगर भए घरको छत पनि सानो खेत बन्न सक्छ। यस्तो अभ्यासले भान्साको खर्च मात्र घटाउँदैन, फोहोर व्यवस्थापन र स्वस्थ खानपानबारे सोच्ने तरिका पनि बदलिदिन्छ।
कौसीमा खुर्सानी, कागती, साग, धनियाँ, अम्बा, ड्रागनफ्रुट वा अरू फलफूलका बोट देखिनु अब अनौठो दृश्य होइन। धेरै सहरी क्षेत्रका घरले सीमित क्षेत्रफलको छतलाई खेतमा बदल्न थालेका छन्। यसरी नै धेरै घरले थोरै थोरै उत्पादन गरे पनि सहरको खाद्य संस्कृतिमा उल्लेखनीय परिवर्तन आउन सक्छ। कौसी खेतीको महत्त्व यही हो। यसले घरलाई केवल उपभोग गर्ने ठाउँमा सीमित राख्दैन, उत्पादन गर्ने ठाउँमा पनि बदल्छ।
सहरका खेत
सहरमा खुला जमिन घटिरहेको छ, करेसाबारी भएका घर कम हुँदै छन्। यसबीचमा कृषिलाई जोगाउने उपायमध्ये एक हो– कौसी खेती। यसो गर्न सके छत, बरन्डा, पर्खालको किनार, पुराना ड्रम, बाल्टिन, ग्रोब्याग र साना कन्टेनर पनि खेतीका ठाउँ बन्न सक्छन्।

घरको छतमा लगाइएको तरकारीहरू।
कौसी खेती बदलिँदो सहरी जीवनको व्यावहारिक उत्तर हो। यसले सबै तरकारीको आवश्यकता पूरा नगर्ला, तर घरलाई खानाको स्रोतसँग जोड्छ। आफूले रोपेको, हुर्काएको र टिपेको तरकारीले भान्सामा फरक विश्वास ल्याउँछ। यसले विषादीयुक्त तरकारीको चिन्ता कम गर्छ, आयातित उत्पादनप्रतिको निर्भरता केही घटाउँछ र बालबालिकालाई खानाको स्रोतबारे प्रत्यक्ष सिकाउँछ।
त्यसैले कौसी खेतीलाई व्यक्तिगत सोखका रूपमा मात्र हेर्ने समय होइन। यो सहरी कृषि, वातावरण र सार्वजनिक स्वास्थ्यसँग जोडिएको विषय बनेको छ।
फोहोरको उपयोग
कौसी खेतीको सबैभन्दा बलियो पक्ष फोहोर व्यवस्थापनसँग जोडिएको छ। सहरका घरबाट निस्कने फोहोरको ठूलो हिस्सा कुहिने प्रकृतिको हुन्छ, जस्तै– तरकारीका बोक्रा, फलफूलका छिल्का, चिया पत्ती, पातपतिंगर र बासी खाना। यी सबैलाई अलग गरेर कम्पोस्ट बनाउने हो भने फोहोरको ठूलो भाग घरमै व्यवस्थापन गर्न सकिन्छ।
यही कम्पोस्ट कौसीमा रोपिएका बोटमा हाल्दा भान्साको फोहोर माटोमा फर्किन्छ। माटोले बाली दिन्छ। बाली फेरि भान्सामा फर्किन्छ। यो सानो चक्रले सहरको फोहोर घटाउँछ र नागरिकलाई फोहोर व्यवस्थापनमा जिम्मेवार पनि बनाउँछ।

धेरै स्थानीय तह अझै फोहोर उठाउने र फाल्ने पुरानै प्रणालीमा अडिएका छन्। कुहिने र नकुहिने फोहोर मिसिन्छ, निजी कम्पनीले उठाउँछन्, स्थानीय तहले ढुवानी गर्छन् र अन्ततः समस्या डम्पिङ साइटमा थुप्रिन्छ। यसको दीर्घकालीन समाधानमध्ये एक हो– घरमै कुहिने फोहोर छुट्याउने र कम्पोस्ट बनाउने अभ्यासलाई विस्तार गर्नु हो। कौसी खेती यस्तो अभ्यासका लागि प्रवेशविन्दु हुन सक्छ।
कौसी खेतीबारे भ्रम
कौसी खेतीबारे धेरै भ्रम छन्। पहिलो डर हुन्छ– कौसीले भार धान्छ कि धान्दैन? अव्यवस्थित रूपमा भारी माटो, सिमेन्टका गमला र पानी निकासबिना खेती गर्दा जोखिम हुन सक्छ। तर, सही तरिका अपनाएर सुरक्षित तरिकाले कौसी खेती गर्न सकिन्छ।
हल्का ग्रोब्याग, प्लास्टिक कन्टेनर, कोकोपिट, कम्पोस्ट, कम माटो, राम्रो पानी निकास र भारको उचित सन्तुलन मिलाउने हो भने अधिकतर घरमा कौसी खेती सम्भव हुन्छ। कौसीको बीच भागमा अत्यधिक भार नपारी किनार वा संरचनात्मक रूपमा बलियो भागमा व्यवस्थित खेती गर्न सकिन्छ।

बरु समस्या जानकारीको हुन सक्छ। कुन मौसममा के लगाउने, कति पानी दिने, कीरा कसरी नियन्त्रण गर्ने, भान्साको फोहोरबाट मल कसरी बनाउने र छतलाई सुरक्षित राखेर खेती कसरी गर्ने भन्ने आधारभूत कुरा सबैलाई थाहा नहुन सक्छ। यस्तो सन्दर्भमा स्थानीय तह, सहकारी, विद्यालय र नागरिक समूहको भूमिका महत्त्वपूर्ण हुन्छ।
सानो कार्यक्रमको ठूलो सन्देश
यस वर्ष विश्व वातावरण दिवसका अवसरमा विराटनगर महानगरपालिका-११ स्थित महिला क्षमता विकास केन्द्र सहकारी संस्थाले करेसाबारी र कौसीमा जैविक तरकारी उत्पादन गर्दै आएका स्थानीयलाई सम्मान गर्यो। कार्यक्रममा अकबरे, घिरौँला, बोडी, चटेला, खुर्सानीका बोट र बोन्साई बिरुवा प्रदर्शनीमा राखिए। पुरस्कार रकम ठूलो थिएन, तर त्यसले महत्त्वपूर्ण सन्देश दियो– वातावरण संरक्षण भाषणबाट होइन, घर घरको अभ्यासबाट हुन्छ।
कार्यक्रमकै उत्प्रेरित भएर हरेक शनिबार बेलुकी पिछरा चोकमा जैविक तरकारीको खुला पसल सञ्चालन हुन थालेको छ। वडाबासीले आफ्नै कौसी र करेसाबारीमा उत्पादन गरेका तरकारी बेच्न र किन्न थालेका छन्। यो सानो बजार हो, तर सहरी कृषिको सम्भावना देखाउने व्यावहारिक अभ्यास हो।

कौसीमा फलेका तरकारीहरू।
उत्पादक र उपभोक्ता प्रत्यक्ष भेट हुने यस्ता बजारले उत्पादनमा भरोसा बढाउँछन्। साना उत्पादकलाई प्रोत्साहन मिल्छ। छिमेकीले छिमेकीको उत्पादन किन्न थालेपछि स्थानीय अर्थतन्त्रको सानो चक्र पनि निर्माण हुन्छ।
स्थानीय तहको भूमिका
अब कौसी खेतीलाई नागरिकको व्यक्तिगत जाँगरमा मात्र छोड्न मिल्दैन। यसलाई सहरी कृषि नीतिको हिस्सा बनाउनुपर्छ। स्थानीय तहले चाहने हो भने प्रत्येक वडामा कौसी खेती र घरायसी कम्पोस्टसम्बन्धी तालिम सञ्चालन गर्न सक्छ। बीउ, ग्रोब्याग र कम्पोस्ट भाँडामा सहयोग दिन सक्छ। विद्यालयमा करेसाबारी र कौसी खेतीको अभ्यास जोड्न सक्छ। साप्ताहिक जैविक बजारका लागि सार्वजनिक स्थान उपलब्ध गराउन सक्छ। उत्कृष्ट कौसी खेती गर्ने घर वा समूहलाई वातावरण दिवसमा सम्मान गर्न सक्छ।
यसका लागि वडास्तरमा कृषक समूह गठन गर्नु मात्र पर्याप्त हुँदैन। ती समूह सक्रिय छन् कि छैनन्, तालिम पाए कि पाएनन्, बीउबिजन र बजारसँग जोडिए कि जोडिएनन् भन्ने विषयमा नियमित अनुगमन चाहिन्छ। धेरै ठाउँमा उत्साहका साथ समूह गठन हुन्छ, केही समय बीउ बाँडिन्छ, त्यसपछि कार्यक्रम हराउँछ। यस्तो अभ्यासले सहरी कृषि संस्थागत हुँदैन। अभ्यासका आधारमा भन्ने हो भने विराटनगर जस्ता सहरले अब कौसी खेतीलाई सोख मानेर बस्नु हुँदैन, यसबारे नीति नै बनाउनुपर्छ।
सहकारी संस्थाहरूले पनि यस अभियानलाई फैलाउन सक्छन्। खासमा सहकारी बचत र ऋणमा मात्र सीमित हुनुहुँदैन। समुदाय, स्वास्थ्य र वातावरणप्रतिको जिम्मेवारी यसको प्रमुख कार्यक्षेत्र हो। महिला समूह र सहकारीमार्फत कौसी खेती गर्ने हो भने त्यसको प्रभाव घरको भान्सा, परिवारको स्वास्थ्य र स्थानीय अर्थतन्त्रमा देखिन्छ।
विद्यालयहरूलाई पनि यसमा जोड्न सकिन्छ। बालबालिकाले फोहोर छुट्याउन, कम्पोस्ट बनाउन, बीउ रोप्न र बिरुवा हुर्काउन सिके भने वातावरण शिक्षा किताबमा सीमित रहँदैन। उनीहरूले प्रकृतिलाई प्रयोगशालामा होइन, घर र विद्यालयको आँगनमा बुझ्न थाल्छन्।
परिवर्तन घरको छतबाट
मैले कौसीमा बाह्रैमास जैविक तरकारी तथा फलफूल उत्पादन गर्दै आएकी छु। यस वर्ष झन्डै १५० वटा खुर्सानीको बिरुवा उमारेकी छु। बेलाबेला तरकारी र फलफूलको बिरुवा पनि निःशुल्क वितरण गर्दै आएकी छु। गत वर्ष मात्रै झन्डै ३०० खुर्सानीको बिरुवा आफन्त, छिमेकी र हरित संकल्प अभियानका अभियन्ताहरूलाई निःशुल्क वितरण गरेँ।
केही वर्षयता खुर्सानी किन्नुपरेको छैन। ड्रागनफ्रुट, किम्बु, कागती, अम्बा र आँपको बोटले कौसी हराभरा मात्रै बनाएको छैन, केही हदसम्म विषादीयुक्त आयातित फलफूल खानुपर्ने बाध्यता हटेको छ। यस वर्षदेखि हरियो स्याउ फल्दै छ भने डेढ दशकदेखि घरनजिकै लिजमा लिएको एक कट्ठा जग्गामा केराको बोट लगाएकी छु। कौसी कृषिकर्मले मेरो भान्साको खर्च मात्र घटाएको छैन, आयातित तरकारी र फलफूलप्रतिको परनिर्भरता बिस्तारै घट्दै छ।

कौसी खेतीले सहरलाई गाउँ त बनाउन सक्दैन, तर सहरलाई प्रकृतिसँग फेरि जोड्छ। यसले नागरिकलाई उपभोक्ता मात्र होइन, सानो उत्पादक पनि बनाउँछ। फोहोरलाई समस्या होइन, स्रोतका रूपमा हेर्न सिकाउँछ। यसले भान्साको स्वास्थ्य, सहरको फोहोर र वातावरणीय जिम्मेवारीलाई एउटै ठाउँमा ल्याउँछ।
सबैले ठूलो उत्पादन गर्नुपर्छ भन्ने छैन। एउटा घरमा दुई बोट खुर्सानी, केही मुठा साग, एक बोट कागती वा धनियाँ मात्रै लगाइयो भने पनि सुरुआत त हुन्छ। बिस्तारै छिमेकीसँग बीउ साट्न सकिन्छ, बिरुवा बाँड्न सकिन्छ, उत्पादन बढी भए साप्ताहिक बजारमा बेच्न सकिन्छ।
विश्व वातावरण दिवस वर्षमा एक दिन आउँछ। तर, कौसीमा हुर्किएको खुर्सानी, कम्पोस्टमा बदलिएको भान्साको फोहोर र छिमेकीलाई बाँडिएको बिरुवाले वर्षैभरि वातावरणको अर्थ सम्झाइरहन्छन्।
मानवमैत्री हरियाली सहर बनाउन ठूलै योजना चाहिन्छ भन्ने होइन, आफ्नै घरको छतबाट पनि परिवर्तन सुरु हुन सक्छ।