सुर्खेत। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार संरक्षणका लागि कर्णाली प्रदेशका सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन्।
लैङ्गिक तथा यौनिक अल्पसंख्या समुदायप्रति समान व्यवहार, समान र समावेशी वातावरण सुनिश्चित गर्ने उनीहरूले प्रतिबद्धता जनाएका हुन्। उक्त समुदायले मान्ने ‘गौरवको महिना (जुन)’ को समापन गर्ने क्रममा शुक्रबार सरोकारवालाहरूले १० बुँदे प्रतिबद्धता जनाए।
समावेशी रोजगारीका अवसर सिर्जना गरी आर्थिक सशक्तिकरणमा सहयोग गर्ने, उद्यमशीलता विकास तथा सीपमूलक तालिमलाई निरन्तरता दिने, सुरक्षित र भेदभावरहित कार्यस्थल निर्माण गर्ने, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामा समान पहुँच सुनिश्चित गर्ने मानवअधिकार संरक्षण, लैंगिक समानताको प्रवर्द्धन, हिंसा तथा भेदभावविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने प्रतिबद्धता सरोकारवालाहरूले जनाएका हुन्।
कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीसहित नागरिक समाजका प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार‚ यौनिक तथा अल्पसंख्यक समुदायको संरक्षणका लागि काम गर्ने संस्थाका प्रतिनिधिलगायतले उक्त प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे।