काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

१८ असार २०८३
अ+
अ-

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा आज विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा मन्त्री पोखरेलले हालै त्रिवि सेवा आयोगमा नियुक्त थापालाई शपथ गराएका हुन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन्।

शपथपछि संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष थापाले त्रिवि सेवा आयोगको जिम्मेवारी निर्भीकता, निष्पक्षता र इमानदारिताका साथ निर्वाह गर्दै त्रिविमा कार्यरत प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र विश्वविद्यालयको संस्थागत सुधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष थापाले आफ्नो सेवा अवधिमा त्रिवि सेवा आयोग र समग्र विश्वविद्यालयको उन्नति र प्रगति गर्दै विश्वविद्यालयको विगतको गौरवशाली इतिहासको मनन गरी २१ औँ शताब्दीको नयाँ चुनौतीको सामना गर्नका लागि विश्वविद्यालयको श्री वृद्धिमा अहोरात्र खटिने विश्वास व्यक्त गरे।

उनले देशको सम्मानित त्रिवि सेवा आयोगको अध्यक्षजस्तो गरिमामय पदमा आफूलाई दिएकोमा नेपाल सरकारप्रति आभार समेत प्रकट गरे। मन्त्री पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्याङ्कन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गरेका हुन्।